नक्कली बुवा बनेर बहुविवाह गराउने लमी पक्राउ
सहचालकले इन्जिनियर भन्दै दोस्रो विवाह गरे
कैलाली । नक्कली बुवा बनेर एक युवकको बहुविवाह गर्न मद्दत गरेका एक व्यक्ति पक्राउ परेका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐरलाई प्रहरीले नक्कली बुवा बनेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर ती युवकले मालीको दोस्रो विवाह गर्न भूमिका खेलेका थिए ।
करिब १० वर्षको छोरीसहितका बुवा रहेका मालीले आफू अविवाहित रहेको, इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै एक किशोरीलाई सामाजिक सञ्जालबाट फकाएका थिए ।
बेदकोट नगरपालिका २ का जनक बहादुर धामीले पनि मालीले विवाह गर्ने तयारी गरेको किशोरीको पक्षलाई ‘केटो मेरो सालो हो निकै राम्रो छ’ भन्दै उच्काएका थिए । २२ गते कञ्चनपुरको चेतन होटेलमा मालीले नक्कली अभिभावक खडा गरेर विवाह गरे ।
तर, त्यसको केही दिनभित्रै उनको पहिलो श्रीमतीले आफ्नो पतिले दोस्रो विवाह गरेको टिकटकमा हेरिन् । उनले त्यही कमेन्ट गरेपछि दोस्रो श्रीमती पक्षले मालीले ठगेर बहुविवाह गरेको थाहा पाएका थिए ।
दोस्रो श्रीमतीले जाहेरी दिएपछि पहिलो चरणमा माली र धामी पक्राउ परेका थिए भने नक्कली बुवा बनेका ऐरलाई प्रहरीले शनिवार पक्राउ गरेको थियो ।
उनीहरु तीनै जनाविरुद्ध मुद्दा दर्ता भई कारबाही प्रक्रिया अगाडि बढिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । सहचालक रहेका विवाहित मालीले इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै नक्कली अभिभावक बनाएर दोस्रो विवाह गरेका थिए ।
याे पनि पढ्नुस्:
नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरे, अमेरिका लैजान्छु भन्थे बुडरमा पक्राउ परे