बाढीपहिरोले काभ्रेपलाञ्चोकका ३ हजार ३३८ निजी आवासमा क्षति – Nepal Press

बाढीपहिरोले काभ्रेपलाञ्चोकका ३ हजार ३३८ निजी आवासमा क्षति

काभ्रेपलाञ्चोक । भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित शहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार जिल्लाका ३ हजार ३३८ निजी आवासमा क्षति पुगेको छ ।

कुल क्षति पुगेको निजी आवासमध्ये २ हजार ५७७ घर पूर्ण रुपमा क्षति भएका छन् । ७५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका छन् ।

कार्यालय प्रमुख भूमिनन्द ढकालका अनुसार १२ सरकारी भवनमा पूर्ण रुपमा क्षति पुगेको छ भने १३५ वटामा आंशिक क्षति पुगेको छ ।

आठ सार्वजनिक भवन पूर्ण क्षति भएका छन् भने १३४ वटामा आंशिक क्षति पुगेको जनाइएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् ।

घर पूर्ण रुपमा क्षति भएकामध्ये बेथानचोक गाउँपालिकामा ६२९, नमोबुद्ध नगरमा ४८९, रोशीमा ३५० र तेमालमा ४३९ घर छन् ।

त्यसैगरी चौरीदेउराली गाउँपालिकामा १३४, भुम्लुमा १२२, धुलिखेल नगरमा ८०, पाँचखाल नगरमा ७६, पनौती नगरमा ५९, बनेपा नगरमा ४७, मण्डनदेउपुर नगरपालिकामा ८४ तथा खानीखोला गाउँपालिकामा ४५ र महाभारतमा २३ घर पूर्ण रुपमा क्षति भएको कार्यालयले जनाएको छ ।

जिल्लामा स्थानान्तरण गर्नुपर्ने घरपरिवारमध्ये चौरीदेउरालीमा २३, मण्डनदेउपुरमा १३, पाँचखालमा १३, रोशीमा ९, खानीखोला र बेथान्चोकमा ५-५ घरपरिवार छन् ।

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ७९ जनाको मृत्यु भएको थियो भने ७८ घाइते तथा ६ जना बेपत्ता छन् । जिल्लाका स्थानीय तहबाट प्राप्त क्षतिको विविरणअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहितको विवरण पठाइएको कार्यालय प्रमुख ढकालले बताए ।

उनका अनुसार २० वटा सरकारी तथा सार्वजनिक भवन पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । ‘केही स्थानमा बस्ती तहसनहस भएकाले सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकास गर्नुपर्ने देखिएको छ, सरोकारवाला निकायलाई यसैअनुसार सुझाव प्रस्तुत गरेका छौं’, ढकालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *