सूर्यदर्शन सहकारी बचत अपचलनमा सर्वदलीय सहभागिता, कुन पार्टीका को-को बने प्रतिवादी ? – Nepal Press

सूर्यदर्शन सहकारी बचत अपचलनमा सर्वदलीय सहभागिता, कुन पार्टीका को-को बने प्रतिवादी ?

पोखरा । सहकारी बचत अपचलन प्रकरणमा सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्दा मामिलामा फसाएको आरोप लागिरहेको छ । पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा भने रास्वपामात्र होइन एमाले र माओवादी केन्द्रका नेताहरुमाथि समेत मुद्दा चलेको पाइएको छ ।

सूर्यदर्शन सहकारी बचत अपचलनमा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले ६३ जनाविरुद्ध मुद्दा चलाएको छ । ६३ जनामध्ये कम्तीमा ६३ जनामध्ये कम्तीमा आधा दर्जन भन्दा प्रतिवादी राजनीतिक दलका परिचित अनुहार छन् । जसमा कांग्रेस,एमाले,माओवादी केन्द्र र रास्वपाका नेता कार्यकर्ता छन् ।

रवि लामिछाने, सभापति रास्वपा

प्रहरीको छानबिनले सहकारीबाट रविले ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको निष्कर्ष निकालेको छ । रविले बचतकर्तालाई हानि-नोक्सानी र आफू तथा कम्पनीलाई फाइदा हुनेगरी सहकारीको बचतकर्ताको रकम उक्त सहकारीका अध्यक्ष जीबी राई समेतसँग मिलेमतो गरी सहकारीको ऐन, नियम, विनियमविपरीतको कार्य गरेको ठहर छ ।

व्यक्तिगत ऋण एक करोड, स्वीट सेयरका लागि ७५ लाख र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खातामा गएको रकमको सञ्चालकको हैसियतले १ करोड ६२ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको आरोप रविमाथि छ ।

देवकुमार नेपाली, मेयर (एमाले)

बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपालीलाई बचतकर्तालाई विभिन्न प्रलोभन देखाई निजी व्यवसाय र घरजग्गामा लगानी गरी बचत रकमसमेत हिनामिना गरेको आरोप छ । उनले अपराध गर्दा हिसाबकिताबमा बराबर बनाउन नसकेपछि देवकुमारले सूर्यदर्शन सहकारी छोडी इमेज बचत तथा ऋण सहकारी संस्था खोली आफैं अध्यक्ष भई सञ्चालक समितिमा आफू अनुकूल व्यक्ति राखेका थिए ।

तिनै व्यक्तिलाई प्रलोभनमा पारी देवकुमारले घरजग्गा खरिद गरेको आरोप छ । ठगी गर्ने उद्देश्यबाट प्रेरित भई समान धारणा र संलग्नतासहित सहकारी संस्था स्थापना गरी कर्मचारी र सञ्चालकहरूको मिलेमतोमा उक्त कार्य गरेको देखिन्छ ।

मीना गुरुङ, पूर्वसांसद एमाले

गण्डकी प्रदेशसभाकी पूर्वसांसद मीना गुरुङ २०६५ देखि २०६८ सम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य थिइन् । उनी रहेको समितिले दुई पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

समितिको कार्यकालमा सहकारी सञ्चालनको मूल्य मान्यताविपरीत बचतकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि बचत रकम गरी सो ऋण रकम असुलउपर समेत नगरी हिनामिना गरेको ठहर छ ।

शिवबहादुर गुरुङ (महेन्द्र भोटे), युवा संघ, नेता

नेकपा एमाले समर्थित युवा संघ नेपालका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङले सूर्यदर्शन सहकारीबाट १७ करोड ८ लाख ५ हजार २४९ रुपैयाँ दायित्व बहन गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा देखिएको छ । उनले सूर्यदर्शन सहकारीमा २०७३ देखि २०७८ सम्म सञ्चालक समितिको सदस्यको रुपमा काम गरेका थिए ।

सोही समयमा उनले सहकारीबाट पैसा लगी विभिन्न ठाउँमा घरजग्गा खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । उनले जीबी राईसँग मिलेर सहकारीको पैसाले जग्गा किनी घर बनाई बिक्री गरेका थिए ।

दीपेश पुन, नेता, माओवादी केन्द्र

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश माओवादीका युवा नेता तथा अखिल क्रान्तिकारीका महासचिव हुन् । उनले भूपेन्द्र राई तथा जीबी राईसँगको मिलेमतोमा सङ्गठित रूपमा परिचालन गर्न समूह बनाई सहकारीमा सङ्कलन भएको बचत रकम हिनामिना गरेको देखिएको छ ।

उनले सहकारी ऐन नियमविपरीत एक करोड १० लाख ७१ हजार १०३ रुपैयाँ व्यक्तिगत रूपमा अपचलन गरेको र एक करोड ३ लाख ३७ हजार ७३९ रुपैयाँ सहकारीबाट स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारीमा ट्रान्सफर गरेको प्रहरी प्रतिवेदनले देखाएको छ ।

कैलाश दर्लामी, वडाध्यक्ष, माओवादी केन्द्र

रामेछापको लिखु तामाकोशी गाउँपालिका- ७ का वडाध्यक्ष कैलाशकुमार दर्लामी माओवादीका युवा नेता पनि हुन् । उनले पदको दुरुपयोग गरी जीबी राईको कम्पनीमार्फत सहकारीको बचत रकम अपचलन गरी रकमान्तर गरी आफूले समेत आर्थिक लाभ लिएको भेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

उनले २०७८ सालमा सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिएको भनिए तापनि त्यसपछिका बैठकमा पनि सहभागी भएको देखिन्छ । प्रतिवेदनका अनुसार उनले उक्त अपराधबाट बच्न कीर्ते राजीनामा-पत्रसमेत अनुसन्धानको क्रममा पेस गरेको अभियोग छ । दर्लामी जीबी राईको सङ्गठित समूहमा रही सहकारी संस्थाको बचत रकम अपचलन गरी विभिन्न कम्पनीसमेत सञ्चालन गरेको देखिएको अभियोगमा उल्लेख गरिएको छ ।

विशाल तामाङ, कांग्रेस नेता, सिन्धुली

सूर्यदर्शन सहकारी मुद्दामा १७ नम्बरका प्रतिवादी सिन्धुलीका विशाल तामाङ नेपाली कांग्रेसका नेता हुन् । रुपन्देहीबाट प्रतिनिधिसभामा पुगेका कांग्रेस नेता अब्दुल रज्जाक खानेपानी राज्यमन्त्री हुँदा उनी पार्टीको सिफारिसमा निजी सचिव रहेका थिए । कांग्रेस रुपन्देहीका पूर्वसभापति रज्जाक हाल लुम्बिनी प्रदेश सांसद छन् ।

नेपाली कांग्रेस सिन्धुलीका नेता विशाल तामाङविरुद्ध जीबी राईको संगठित समूहमा रहेर सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । उनले सहकारीको रकम अपचलन गरी कम्पनीको शेयर लिएको, घरजग्गामा लगानी गरेको र जीबी राईको व्यक्तिगत खातामा रकम जम्मा गर्ने गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सूर्यदर्शनसहित सानोपाइला सहकारी सञ्चालनमा ल्याई सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा अवैध रुपमा २७ लाख ६८ हजार ३३३ र २ करोड ६० लाख ५७ हजार रुपैयाँ जीबी ग्रुप अफ कम्पनीज प्रालिमा लगेका थिए ।

ज्ञानबहादुर बम्जन, (बम्जन परिवार) नेता, कांग्रेस

ओखलढुंगा घर भई पछिल्लो समय सिन्धुलीमा बसाइ सरेका ज्ञानबहादुर बम्जन नेपाली कांग्रेसका जिल्लास्तरका नेता हुन् । गोर्खा विकास बैंकसहित धेरै वटा वित्तीय संस्थाको बचत अपचलन गरेर अमेरिका भागेका डीबी बम्जनका एकाघरका सदस्यहरु सबै सहकारी ठगीमा संगठित रुपमा लागेको संसदीय छानबिन समितिले ठहर गरेको छ ।

उनै डीबीका भाइ ज्ञानबहादुर बम्जन सूर्यदर्शन सहकारीको पनि अध्यक्ष भएर बचत अपचलनमा संलग्न रहेकाले मुद्दा दायर भएको छ । बम्जन परिवारकै ठगीमा संलग्न ज्ञानबहादुरकी भाञ्जी संगीता नेपाली कांग्रेसको सहकारी विभाग सदस्य हुन् भने दिदी हेमकुमारी बम्जन कांग्रेसबाट अघिल्लोपटक ओखलढुंगाको मोलुङ गाउँपालिका उपाध्यक्ष थिइन् ।

बम्जन परिवार कांग्रेसको राजनीतिमा संलग्न रहे पनि हेमकुमारी र संगीताबाहेक अरुले पार्टीको माथिल्लो पद भने लिएका थिएनन् । सहकारी छानबिन समितिले दोषी ठहर गरेकी संगीतालाई कांग्रेसको कोटाबाट राष्ट्रिय सहकारी विकास बोर्ड सदस्यमा समेत नियुक्ति दिइएको छ ।

ज्ञानबहादुरको ठगी जालो

गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभमा बजार प्रमुख हुँदै निर्देशक भइसकेका डीबी बम्जनका साइँला भाइ ज्ञानबहादुर तामाङ बम्जनले संस्थापक अध्यक्ष भई ललितपुरमा उपकार सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ स्थापना गरेका थिए । यो संस्थामा २०६० मा केदारनाथ शर्मा उपाध्यक्ष बनेका थिए

चाबहिलमा रहेको कुमारी सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका संस्थापक अध्यक्ष पनि ज्ञानबहादुर तामाङ नै हुन् । उनीपछि श्रीमती पुष्पाकुमारी हुँदै सहपाठी सूर्यध्वज न्यौपानेलाई अध्यक्ष बनाए । हाल उक्त संस्थामा ईश्वर किराँत राई अध्यक्ष छन् । न्यौपानेविरुद्ध पनि मुद्दा दर्ता भइसकेको छ ।

भक्तपुरमा हिमाल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ पनि ज्ञानबहादुरले नै खोलेका हुन् । संस्थापक अध्यक्ष रहेका ज्ञानबहादुरले ‘डमी’ का रूपमा उपकार सहकारीका कर्मचारी विज्ञान राईलाई अध्यक्ष बनाएका थिए ।

बज्रयोगिनी सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ पनि ज्ञानबहादुरकै स्कुलका सहपाठी सूर्यध्वजलाई नै अध्यक्ष बनाएर स्थापना गरियो । ताम्राकार कम्प्लेक्स न्युरोडमा सहकारीको कार्यालय थियो ।

ज्ञानबहादुरकी भाञ्जी संगीता तामाङ गोरखा विकास बैंकको मानव संसाधन (एचआर), प्रशासन र खरिद विभागमा काम गर्थिन् । उनैमार्फत धनबहादुर लालीगुराँस सहकारीको अध्यक्ष बनेका थिए ।

युनाइटेड गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभमा पनि डीबीकी भाञ्जी संगीता नै अध्यक्ष छिन् । ज्ञानबहादुरले उपकार सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ छोडेपछि भाञ्जी संगीताका बुवा नरेन्द्र बललाई अध्यक्ष बनाएका थिए ।

स्वर्णलक्ष्मी सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ पनि यो समूहले कब्जा गरेको थियो । ज्ञानबहादुरको टीमले हिमाल सेभिङ भक्तपुरकी कर्मचारी कल्पना श्रेष्ठलाई ल्याएर अध्यक्ष बनाएको थियो । कल्पनालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ ।

बालुवाटारमा ज्ञानबहादुरकै योजनामा मुकुल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ स्थापना भएको थियो । यसको अध्यक्ष प्रतिमा गिरीलाई बनाइएको थियो ।

देवदर्शन सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ चन्द्रागिरीमा स्थापना गरिएको थियो । यो संस्थाको अध्यक्ष सावित्री तामाङ र उपाध्यक्ष पुष्पाकुमारी तामाङ थिए । सावित्री डीबी बम्जनका भतिजा ईश्वरराज बम्जनकी श्रीमती र पुष्पाकुमारी ज्ञानबहादुरकी श्रीमती हुन् ।

थप यी पनि पढ्नुस्: १) बम्जन परिवारको ‘सहकारी ठगी’को जालो, २०० बढी सहकारीमा फैलियो पालैपालाे

२) संसदीय समितिबाट ठग किटान भएकी संगीता राष्ट्रिय सहकारी विकास बोर्ड सदस्य नियुक्त

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर