भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ? – Nepal Press

भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ?

‘म अहिले एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीको गत साता बसेको स्थायी कमिटी बैठकले पार्टीसँग संवादमा रहेका नेताहरुलाई भित्र्याउने औपचारिक निर्णय गर्‍यो । त्यसका लागि अध्यक्ष माधव नेपाल आफैं खटिएर एमालेका पूर्वउपाध्यक्षसमेत रहेका वामदेव गौतमसँग संवाद गरे ।

केही दिनभित्रै नेकपा एसमा प्रवेश गर्न वामदेव तयार भसकेका छन् । त्यहीअनुसारको तयारी दुवै पक्षले थालिसकेका छन् ।

नेता गौमत नेकपा एसमा जाने निर्णय भएपछि एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा जाने चर्चा चल्न थालेको छ । यद्यपि यो हल्ला अहिलेमात्रै चलेको होइन ।

एमालेको १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले एमालेमा निष्क्रिय जस्तै छन् । पार्टीको साधारण सदस्यबाहेक अन्य कतै अटाएका छैनन् ।

एमालेले धलेकेर डिलमा पुर्‍याइसकेका रावल अझै पार्टी नछाड्ने अड्डी कसेर बसेका छन् । पछिल्लो समय एकीकृत समाजवादीमा जाने चर्चाबारे हामीले नेता रावललाई सोध्यौं, तर उनले आफू अहिले एमाले छाडेर कतै जाने मनस्थितिमा नरहेको सुनाए ।

वामदेव गौतम एकीकृत समाजवादीमा जाने भएपछि तपाईंको पनि चर्चा छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘म अहिले कहीँ पनि जान्न । मेरोबारेमा गरिएको हल्लामा कुनै सत्यता छैन । म एमालेमै रहन्छु मेरो सदस्यता एमालेमै छ।’

उनले एकीकृत समाजवादीमा जाँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको दाबी गरे ।

अहिले एकीकृत समाजवादीका नेताहरुसँग संवादमा हुनुहुन्छ त भन्ने प्रश्नमा उनले थपे, ‘छैन, उहाँहरुले महाधिवेशन गर्नुअघि र महाधिवेशनपछि पनि लगत्तै मसँग कुरा गर्नुभएको थियो, तर अहिले छैन ।’

नेता रावलले महाधिवेशनअघि नेकपा एसका नेताहरुसँग राजनीतिक र वैचारिक विषयमा कुराकानी भएको बताए ।

उनले थपे, ‘उहाँहरुले पार्टीमा आउनुपर्‍यो भनेर पनि कुराकानी गर्नुभएको हो, तर त्यसपछि कुनै कुरा भएको पनि छैन । मेरो अहिले एमाले छाडेर जाने सोचविचार छैन ।’


प्रतिक्रिया

One thought on “भीम रावललाई प्रश्न- वामदेव गौतमपछि तपाईं पनि एकीकृत समाजवादीमा प्रवेश गर्दै हो ?

  1. एमालेले धकेलेर डिलमा पुर्याइसकेका रावल भनेर यो अनलाईनले कुन आधारमा लेखेको ? अलिकति पढेर लेख्ने गर साथीहरू । यस्तै लेखेर त पत्रकारको इज्जत नै छैन समाजमा । पत्रकार भनेका दलाल हुन् भन्ने छ जनतामा । कुरा के हो सुन- एमालेको चितवन महाअधिवेशन सकेसम्म सहमतिमा गर्ने कोसिस भयो । अध्यक्ष ओलि लगायत गरेर पद विभाजन गर्ने कुर चल्यो । भिम रावललाई उपाध्यक्ष दिने कुरा भयो । अरू सबै मान्न तयार भए भिम रावलले मानेनन् । उनले म अध्यक्षमा ओलिसँग लडछु भनेर जिद्दी गरे । सहमति नभए निर्वाचन भन्ने विधि नियम मै भएकाले चुनाव भयो । उनले हारे । हारेपछि पनि उनलाई स्थाई कमिटी लगायतमा बस्न अनुनय विनय गरिरह्यो पार्टीले । वहाँले कुनै पनि पदमा नबस्ने भनेर घोषणा गर्नुभयो । अनि कसरी एमालेले वहाँलाई डिलमा पुर्यायो ? त्यसपछि वहाले पार्टीको लागि माखो मार्नुभाको छैन । म पदमा छैन मलाई थाहा छैन भन्नुहुन्छ । तर पार्टीले गरेको हरेक निर्णयको सार्वजनिक रूपमा विरोध गर्नुहुन्छ । किन ? पार्टीको निर्णयमा चित्त नबुझे पार्टी कमिटीमा भन्नुपर्ने नियम छ । तर उनी हरेक निर्णको विरोध गर्छन । वहाँको नियत के हो ? म त भन्छु वहाँलाई एमाले कमजोर बनाउन कसैले खटाएको छ । वहाँ कसैको खेताला बनेर एमाले कमजोर बनाउने कोशिश गर्दै हुनुहुन्छ । निश्चित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर