छुट्टै कानून नहुँदा नेपाल रेडक्रसको भूमिका र अभियान प्रभावित भयो: अध्यक्ष नेपाल
काभ्रे । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा.सुदर्शनप्रसाद नेपालले छुट्टै रेडक्रस कानून नहुँदा नेपालमा विश्वव्यापी संस्थाको भूमिका र अभियान प्रभावित एवं खुम्चिन पुगेको बताएका छन् ।
उनले रेडक्रस सामान्य गैरसरकारी संस्था नभई संयुक्त राष्ट्रसंघको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था भएकाले यसका मूल्य र मान्यताको प्रभावकारी कार्यान्वयन गर्न नेपालमा छुट्टै रेडक्रस कानून आवश्यक रहेको औंल्याए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्वारा सञ्चालित ३ दिने मानवीय रिपोर्टिङ तालिमको मंगलबार भएको समापनमा अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय रेडक्रसमा आवद्ध १९२ देशमध्ये १२० भन्दा बढी राष्ट्रले आफ्नो छुट्टै रेडक्रस कानून बनाएर कार्यान्वयनमा ल्याइरहेको स्पष्ट पारे ।
‘रेडक्रस सानो गैरसरकारी संस्था होइन । अन्तर्राष्ट्रिय मानवीय कार्य गर्ने संस्था हो । यसले दर्ता र नवीकरण जस्ता प्रशासनिक झमेलामा फसेर रेडक्रसका अन्तर्राष्ट्रिय मूल्य-मान्यताको कार्यान्वयन प्रभावकारी हुँदैन’, उनले भने, ‘रेडक्रस राष्ट्रियमात्रै होइन, अन्तर्राष्ट्रिय अभियान हो । रेडक्रसमा आवद्ध १९२ देशमध्ये १२० भन्दा बढी राष्ट्रले रेडक्रससम्बन्धी आफ्नै कानून बनाएका छन् । त्यसैले यसका मूल्य मान्यता र अभियानलाई सोहीअनुरुप अगाडि बढाउन नेपालमा रेडक्रससम्बन्धी छुट्टै कानून आवश्यक छ ।’
अध्यक्ष नेपालले रेडक्रसम्बन्धी कानून संस्थाले नभई देशको संसदले बनाउनुपर्ने स्पष्ट पारे । तैपनि आफूहरुले कानून मन्त्रालय र मन्त्रीलाई पटकपटक भेटेर रेडक्रससम्बन्धी छुट्टै कानून बनाउन ध्यानाकर्षण गर्दै आएको उनको भनाइ थियो ।
‘रेडक्रससम्बन्धी कानून बनाउन मन्त्रालय र मन्त्रीसँग पटकपटक छलफल गरेका छौं । उहाँहरुले अब कानून बन्छ भनेकै वर्षदिन भइसक्यो, तर कानून ड्राफ्टसम्म भएको छैन’, अध्यक्ष नेपालले गुनासो गरे, ‘कानून बनेको खण्डमा रेडक्रस र यसको चिह्नको दुरुपयोग हुन पाउँदैनथ्यो । रेडक्रस अभियान निर्वाध रुपमा अघि बढ्थ्यो ।’
उनले रेडक्रसमा रहेको विवाद पूर्ण रुपमा नसुल्झिए पनि यही पुस २० र २१ गते विधान संशाेधन महाधिवेशन गरेर संस्थालाई स्थानीय तहसम्म विस्तार गर्न लागिएको जानकारी दिए । विधान अधिवेशनपछि चैतभित्रै केन्द्रीय महाधिवेशन गरेर रेडक्रसमा नयाँ नेतृत्व चुन्ने तयारी भइरहेको उनको भनाइ छ ।
काभ्रेको बनेपास्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तालिम प्रतिष्ठानमा भएको तालिममा सहभागी सञ्चारकर्मीहरुको सक्रियतामा ‘ह्युम्यानिटेरियन च्याम्पियन जर्नलिस्ट ग्रुप’समेत गठन गरिएको छ । जसको संयोजक पेशल आचार्य र सहसंयोजक भगवती तिमिल्सेना रहेका छन् ।
तालिममा आईएचएलविज्ञ कृष्णचन्द्र चालिसेले अन्तर्राष्ट्रिय मानवीय कानून, मानवीय मूल्य प्रवर्द्धन, मानवीय कूटनीति र मानवीय रिपोर्टिङ, पत्रकार जगत नेपाल तथा सञ्चार अभियन्ता लक्ष्मणदत्त पन्तले ले विपद्का समयमा गरिने मानवीय रिपोर्टिङ, आमसञ्चार, जोखिम सञ्चार र पत्रकार आचारसहिंताबारे सहजीकरण गरेका थिए ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटीको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपाने र उपनिर्देशक शिवराम गौतमले नेपाल रेडक्रस सोसाइटीका विविध पक्षहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।
समापनमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरणसमेत गरेका थिए ।