गुल्मीको रेसुङ्गा नगरपालिकामा वडा विभाजन गर्ने प्रस्ताव पारित
रुपन्देही । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा वडा विभाजन गर्ने प्रस्ताव पारित भएको छ । वडा नं. १४ लाई विभाजन गरी २ वटा वडा बनाउने प्रस्ताव नगरको १६ औं नगर सभाले पास गरेको हो ।
मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले वडा विभाजन गरी २ वटा बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए । रेसुङ्गा नगरपालिका वडाहरुमध्ये वडा नं. १४ भौगोलिक रुपमा विकट र ठूलो वडाको रुपमा रहेको छ । वडा नं. १४ को पराल्मी र रातामाटालाई दुईवटा वडाको रुपमा विभाजन हुने गरी प्रस्ताव प्रस्तुत गरिएको थियो ।
नगर सभामा दुईवटा विभाजन गर्ने प्रस्ताव नगर सभाबाट बहुमतले पारितसमेत गरेका छन् । वडा विभाजन गर्ने कार्यको पक्रियाका नगरपालिकाले अगाडि बढाएको छ ।
वडा विभाजन गर्ने अन्तिम अधिकार संघीय सरकारले गर्नेछ । हाल नगरमा १४ वटा वडा रहेका छन् । एउटा वडा विभाजन भएर आएमा १५ वटा वडा हुनेछन् । नगर सभामा रेसुङ्गा नगरपालिका पर्यटन विकास विधेयक २०८१ विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले प्रस्तुत गरेका छन् ।
रेसुङ्गा नगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ र रेसुङ्गा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले प्रस्तुत गरेका थिए । नगर सभामा नगरप्रमुख खिलध्वज पन्थीले यस आर्थिक वर्षको हालसम्म भएको प्रगति प्रतिवेदन प्रस्तुत समेत गरेका थिए ।
नगरको यस आर्थिक वर्षको हालसम्म ५२ प्रतिशत र वित्तीय चालू तर्फ २४ प्रतिशत गरि २९ दशमलव १३ प्रतिशत वित्तीय प्रगति भएको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।