कर्णाली प्रदेशमा सार्वजनिक-निजी साझेदारीको सम्भावनाबारे छलफल सुरु
सुर्खेत । कर्णाली प्रदेशमा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्द्धन गर्न दुईदिने प्रादेशिक छलफल कार्यक्रम बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
नेपाल सरकार लगानी बोर्ड र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा आयोजित कार्यक्रमले प्रदेशको समृद्धि र विकासमा निजी क्षेत्रको भूमिका र सम्भावनाबारे छलफल सुरु गरेको छ ।
कार्यक्रम उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समृद्धि नै देशको समृद्धिको आधार रहेको बताए ।
कर्णालीका स्रोत र साधनलाई समुचित उपयोग गरी निजी क्षेत्रलाई आकर्षण गर्न सकेमा समृद्धि सम्भव रहेको मुख्यमन्त्री कँडेलले बताएका हुन् । पर्यटन, पूर्वाधार र हवाई सेवा विस्तारले यसमा टेवा पुर्याउन धारणा राखेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले फोक्सुण्डो, रारा, र मानसरोवर क्षेत्रको पर्यटन प्रवर्द्धन, हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन र न्यूनतम पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले देशको समग्र आर्थिक सुधारका लागि कर्णालीमा ११२ खर्ब बराबरको लगानी सम्भावना रहेको र वार्षिक २० खर्ब लगानी आवश्यक पर्ने बताए । तर, सरकारको पुँजीगत खर्च न्यून हुँदा विकासका कामले गति लिन नसकेको उनको भनाइ थियो ।
आर्थिक मामिला तथा कानुन मन्त्री राजीव बिक्रम शाहले पिपिपी मोडलमार्फत रोजगारी सिर्जना, आर्थिक गतिशीलता प्रवर्द्धन, र शिक्षा, स्वास्थ्य तथा यातायात क्षेत्रमा गुणस्तरीय सेवा प्रवाहमा सुधार ल्याउन सकिने उल्लेख गरे । स्थानीय जनशक्तिको उपयोग गर्दै ठूला परियोजनामा सहभागी गराउने कामले कर्णालीको विकासलाई तीव्रता दिन सक्ने उनले बताए ।
दुईदिने कार्यक्रम अन्तर्गत कर्णालीको विकास र समृद्धिका लागि लगानीमैत्री कानून निर्माण, स्रोत र साधन व्यवस्थापन तथा निजी क्षेत्रको आकर्षणमा केन्द्रित छलफल भइरहेको छ । कार्यक्रम भोलि बिहीबार समापन हुनेछ ।