माओवादी वामपन्थी एकताको रटान गर्दै, तर सम्भावना टर्दै
काठमाडौं । दुई ठूला दल मिलेपछि सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रले समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिँदै आएको छ । यद्यपि ठोस सफलता मिलेको छैन ।
माओवादीसँग नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपादेखि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी एकता र सहकार्यको संवादमा थिए, तर मिलनविन्दु फेला पर्न नसक्दा एकताको सम्भावना टर्दै गएको बताइन्छ ।
माओवादी र एकीकृत समाजवादीबीच एकता गर्ने चर्चामात्रै चले पनि विप्लव र नेसपाले भने माओवादीसँग मिसिने औपचारिक निर्णय नै गरिसकेका छन् । नेसपा अझै तयार नै रहे पनि विप्लव नेतृत्वको नेकपा भने तत्काल पार्टी एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । माओवादीले औपचारिक निर्णय गरिसकेको छैन ।
हालै बसेको केन्द्रीय कमिटीको बैठकले माओवादीसँग एकताको आवश्यकता भए पनि प्रचण्डले पहल नगरेकै कारणले एकता अनिश्चित भएको निष्कर्ष निकालेको नेकपाका नेता अनिल विरहीले बताए ।
उनले भने, ‘बैठकमा अधिकांश साथीहरु एकता आवश्यक भए पनि माओवादी र त्यसको नेतृत्वको हिसाबले प्रचण्डले नै पहल नगरेको निचोडमा पुगेका छौं । त्यसैले एकता अनिश्चित बनेको छ, तर गर्दै नगर्ने भन्ने होइन ।’
विप्लवले मात्रै होइन, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि तत्काल कुनै वामपन्थी पार्टीहरुसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालिसकेको छ । हालै बसेको स्थायी कमिटीको बैठकले अब वामपन्थी एकताको नाममा अल्झिएर नबस्ने निष्कर्ष निकालेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताएका थिए ।
समाजवादी मोर्चामा रहेका दुई ठूला दल नेकपा एस र नेकपाले तत्काल एकताको सम्भावना नरहेको निष्कर्ष निकाल्दै गर्दा प्रचण्ड भने अझै उही पुरानै रटानमा छन् । मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकले विचार मिल्नेहरुसँग एकता गर्ने भन्दै पार्टी पंक्तिमा सर्कुलर पठाएको छ । वाम एकतालाई जोड दिँदै वामपन्थी दलबाट आउने नेताहरुलाई पुरानै पार्टीमा भएको पद दिने उल्लेख छ ।
‘विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो, सोही स्तरमा समायोजन गर्न’ सर्कुलरमा भनिएको छ ।
माओवादीले पछिल्लो समय माओवादीबाट फुटेर बनेका घटकसँगको एकतालाई प्राथमिकता राखेको छ । नेकपाका महासचिव विप्लवलाई प्रचण्डले केही समयअघि महासचिव बनाएर भित्र्याउने आश्वासन दिएका थिए । प्रचण्डले उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनले आफूविरुद्ध घेराबन्दी बढाएपछि विप्लव कार्ड खेलेका थिए ।
तर पुन र शर्मा एकै ठाउँमा उभिएपछि अहिले प्रचण्ड आन्तरिक रुपमा दबाबमा छन् । शर्माले लिखित रुपमा प्रचण्डलाई नेतृत्व छाड्ने प्रस्ताव औपचारिक बैठकमा राखेका थिए ।
तत्काललाई त्यो दबाब टरे पनि अब बस्ने केन्द्रीय कमिटीको बैठकमा शर्माको त्यो प्रस्तावलाई पनि छलफलमा ल्याउने प्रचण्डको आश्वासन छ । केन्द्रीय कमिटीको बैठक यही पुस २१ गते बस्दैछ ।
पार्टीभित्र आन्तरिक समीकरणमा अप्ठेरो स्थितिमा रहेका प्रचण्डले आफू निकट रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि उपाध्यक्ष बनाएर पार्टीमा फर्काउँदैछन् । विप्लवलाई माओवादीमा फर्काउन पहल गर्ने उपाध्यक्ष कृष्णबहादुर महरा थिए, तर विभिन्न प्रकरणमा मुछिएपछि अहिले उनी पार्टीमा सक्रिय छैनन् । प्रचण्डले पछिल्लो समय विप्लवसँग एकताको विषयमा छलफल नगरे पनि अहिले उपमहासचिव पुन र शर्मा भने संवादमै रहेको बताइन्छ ।
पार्टीभित्र नेता व्यवस्थापनमा समस्या भइरहेको बेला विप्लवसँग एकता गर्दा थप गिजोलिनसक्ने भएकाले हतारो नगरेको माओवादीको एक पदाधिकारीले बताए ।
ती नेताले भने, ‘हामी एकताको विपक्षमा छैनौं । अध्यक्षले पहिला नै विप्लवजीलाई महासचिव बनाउँछु भन्नुभएको रहेछ, तर अहिले उहाँलाई महासचिव बनाउँदा पार्टीभित्र विरोध हुनसक्ने भएकाले कुरा मिलेको छैन । एकतामा ढिलाइ हुनुको मूल कारण नै पद हो, अरु केही होइन ।’
विप्लवमात्रै नभएर अन्य नेताहरुको पनि व्यवस्थापनको विषयमा पार्टीभित्र एकमत भए एकता हुनसक्ने उनले सुनाए ।
ती नेताले थपे, ‘हामी एउटै स्कुलिङबाट आएका हौं । उहाँहरुले पनि संसदीय राजनीति स्वीकार गरेर आगामी निर्वाचनमा भाग लिने निर्णय गरी सक्नुभएको छ । त्यसैले अरु कुरामा समस्या छैन । अब पदको कुरा मिलेपछि एकता होला, तर तत्काललाई भने सम्भावना टर्दै गएको देखिन्छ ।’
माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा भने पार्टीले विचार मिल्नेहरुसँग एकता गर्ने ढोका सधैं खुला राखेको बताउँछन् । उनले संवादमा रहेका दलहरुसँगको एकताबारे आगामी केन्द्रीय कमिटीको बैठकबाट औपचारिक निर्णय हुने दाबी गरे ।
केन्द्रीय सदस्य रञ्जित तामाङले पनि माओवादीलाई २०८४ मा २०६४ को अवस्थामा फर्काउन माओवादीहरु पुनः एकताबद्ध हुन आवश्यक रहेको बताए ।
उनले भने, ‘विकासका लागि, समृद्धिका लागि, सुशासनका लागि भ्रष्टाचारविरोधीहरुको मोर्चा आवश्यक भए जस्तै शासकीय सुधार, मौलिक हक कार्यान्वयन र सामाजिक न्यायसहित समाजवादका लागि विचार र एजेण्डा मिल्नेहरुबिच सहकार्य जरुरी छ ।’
उनीमात्रै होइन, पोलिटव्युरो सदस्य रामप्रसाद सापकोटा पनि संगठन निर्माणसँगै माओवादी घटकहरूबिचको एकतालाई तीव्रता दिनुपर्नेमा जोड दिन्छन् ।
उनी भन्छन्, ‘माओवादीहरू अन्यत्र भुल्नैहुन्न, जनमतलाई संगठनमा बदल्ने सुवर्ण अवसरको सदुपयोग गर्नुपर्छ । तलतिर फर्केर पार्टी संगठनलाई नयाँ ढंगले केन्द्रीकरण गर्नतिर लाग्नुपर्छ । स्थानीय तहका सम्मेलनहरू औपचारिकतामा सीमित नभई माओवादी घटकहरुबीचको एकतालाई पनि पहल गर्नुपर्छ ।’
जनताले लात हानेपछि एकता भनेर फेरि ठग्न पाईन्छ कि भनेर प्रचण्डले निकालेको फण्डा हो । तर अब यसको कुनै अर्थ छैन ।