सबै दलको सहकार्यमा संविधान संशोधन प्रक्रिया अघि बढाउँछौं: उपप्रधानमन्त्री सिंह (भिडिओ)
रुपन्देही । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाउने बताएका छन् ।
रुपन्देहीको सियारी गाउँपालिकाको गौरवको आयोजना सियारी पर्यटन करिडोरको शिलान्यास तथा दयानगर दानव लिफ्ट सिंचाइ योजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको उल्लेख गरे ।
सबै दलसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताउँदै उनले संविधान संशोधनका लागि कार्यदलले काम अगाडि बढाएको बताए ।
कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्ने उनको भनाइ छ ।
‘सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ’, उनले भने, ‘कोरोना महामारी र त्यसपछि आर्थिक मन्दीका कारण प्रभावित भएको अर्थतन्त्रलाई उकास्न सरकारले रणनीतिक रुपमा काम गरिरहेको र सुधारका संकेत देखिन थालिसकेको छ ।’
पर्यटन करिडोर र लिफ्ट सिंचाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्थामा परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।