नेपाली साहित्य र नेपाल-भारतको अन्तरसम्बन्ध – Nepal Press

नेपाली साहित्य र नेपाल-भारतको अन्तरसम्बन्ध

साहित्यका पारखी प्रायः साहित्यकार नै हुने गर्छन् भन्ने मान्यतालाई प्रवासी नेपाली संघ भारतले नयाँदिल्लीमा पहिलो पटक आयोजना गरेको ‘नेपाल र भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध’ विषयक गोष्ठीले खण्डित गरेको छ । गत शनिबार झण्डै चार घण्टा उनीहरुले कथा, कविता त सुनेनन्, तर साहित्यमा नेपाल-भारतको अन्तरसम्बन्ध तथा बाल साहित्यबारेमा गरिएका विवेचनालाई धैर्यपूर्वक सुने ।

यसको आयोजक कुनै साहित्यिक संस्था थिएन । थियो त एउटा राजनीतिक संगठन । स्रोता पनि सोही संगठनका अर्थात् राजनीतिक कार्यकर्ता । कार्यपत्र प्रस्तोता र टिप्पणीकारहरु साहित्यकार थिए भने सो सेसनको अध्यक्षता गरेका थिए नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले । साहित्यमा शितविन्दुका रुपमा परिचित ज्ञवालीलाई पूर्वपरराष्ट्रमन्त्रीको रुपमा सम्बोधन गरिएको थियो ।

स्रष्टाहरुको उपस्थिति कम भए पनि असल र गुणस्तरीय स्रोताले भरिएको हलमा बडो गजबले साहित्य महोत्सवको पहिलो दिन सम्पन्न भयो । प्रस्तोताहरु यस अर्थमा खुशी थिए कि सम्भवतः यस प्रकारको कार्यक्रम पहिलो पटक हुँदै थियो ।

आयोजक संस्था प्रवासी संघका अध्यक्ष नारायण हुमागाईं भने राजनीतिक तथा साहित्य दुवैमा स्थापित छन् । उनका केही कृतिहरु पनि प्रकाशित छन् । त्यसैले त उनले प्रवासमा बस्ने र पढ्ने युवा तथा बालबालिकाबारे चिन्ता गर्दै भनेका थिए- ‘उनीहरूले भाषा, साहित्य र संस्कृति नबिर्सून् भन्न यो कार्यक्रम राखिएको हो ।’

नयाँदिल्लीस्थत हरिसिंह किशन सुरजित सिंह भवनमा आयोजित नेपाल-भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध समारोहमा नेपालका स्थापित साहित्यकार द्वयप्रा.डा. कपिल लामिछाने र प्रा.डा.देवी नेपाल तथा काशी विश्वविद्यालयका नेपाली भाषाका विभागीय प्रमुख प्रा.डा.दीवाकर प्रधानको प्रस्तुति थियो ।

कार्यक्रमको खास उद्देश्य साहित्यको माध्यमबाट दुवै देशबीच सम्बन्ध सेतु कायम गर्नु, प्रवासी नेपालीका बालबालिकालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आकर्षण बढाउनु र प्रवासी नेपालीलाई विभिन्न क्षेत्रमा स्थापित गर्नु थियो ।

प्रारम्भमा डा.देवी नेपालले प्रस्तुत गरेको ‘नेपाल र भारतको नेपाली साहित्यको अन्तरसम्बन्ध सेतु’ विषयक कार्यपत्रमा भारतमा जन्मेर नेपाली साहित्यमा योगदान पुर्‍याउने साहित्यकारहरुको लामो फेहरिस्त प्रस्तुत गर्दै वर्तमानमा नेपाली भाषा विश्व भाषाको रुपमा र नेपाली जाति महाजातिको रुपमा स्थापित हुँदै गएको सन्दर्भ उल्लेख गरे । उनको भनाइ थियो- ‘नेपाल र भारत भौगोलिक रूपमा मात्र नभएर सामाजिक, सांस्कृतिक, भाषिक तथा जीवनशैलीका दृष्टिले पनि अत्यन्त निकटवर्ती देश हुन् ।’

‘भारतमा भूगोलसँगै विभाजित आदिवासी नेपाली, नेपालबाट आएका प्रवासी नेपाली र अध्ययन, जिम्मेवारी र कामका लागि आएका गरी तीन प्रकृतिका नेपालीको उपस्थिति रहेकोमा नेपाली तथा भारतका नेपाली भाषीहरू सिर्जनात्मक तथा गुणात्मक हिसाबले सामीप्य रहेको देखिन्छ’, डा. नेपालले थप भने ।

अक्षरहरुको वंश परम्परालाई रक्त वंश र शब्द वंशमा व्याख्या गर्दै प्रस्तोता नेपालले रक्त वंश खुम्चिँदै र शब्द वंश फैलिँदै जाने भएकाले भारतीय भूमिसँग जोडिएको नेपाली भूमिको अन्तरसम्बन्ध विगतदेखि वर्तमानसम्म निरन्तर रहेको मानेका छन् । सो अवसरका उनले भने- ‘विशाल हिमवत खण्डमा सिर्जना भएका अनगिन्ती ज्ञान गौरवको वर्तमानसम्मको निरन्तरता नै नेपाली साहित्य हो र भारतीय साहित्य पनि हो ।’

नेपाली र भारतीय नेपाली भाषीबीच भौगोलिक सीमा रहे पनि भाषिक सीमा र भावनात्मक सीमा कतै पनि नदेखिने प्रसंग उल्लेख गर्दै प्रस्तोता नेपालले राष्ट्रिय पहिचान वा नागरिकताका कारण फरक फरक राष्ट्रका नागरिकहरू भए पनि तिनीहरूबाट सिर्जित साहित्य भने साझा हुने दाबी गरे ।

‘अध्ययन, अनुसन्धान तथा विद्यालय तथा विश्वविद्यालयमा हुने पठनपाठनका तहमा पनि दुवै देशमा दुवै देशका स्रष्टाका रचनाहरू समावेश हुनुले क्षेत्रीय वा भेगीय विभेद नरहेको देखाउँछ’, उनले थपे ।

दोस्रो कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा.कपिलदेव लामिछानेले ‘नेपाल र भारतको नेपाली बाल कविताः दुई देशको सम्बन्ध’ विषयक कार्यपत्रमा नेपाल र भारतको नेपाली बाल कविताका प्रवृत्ति र विशेषता उस्तै उस्तै रहेको र नेपाली बाल कवितालाई अझ विकसित र समृद्ध तुल्याउन रहेका समस्या पनि समान रहेको धारणा व्यक्त गरे ।

बाल कविताको सिर्जना प्रवर्द्धन गर्न र सिर्जना भएका कवितालाई स्तरीय रूपमा प्रकाशन गर्न तथा डिजिटल डिभाइसमा पहुँच पुर्‍याउन सके बाल कविताले भारत-नेपालको सशक्त सम्बन्ध स्थापित गर्नसक्ने धारणा प्रस्तोता लामिछानेको छ । डा. लामिछानेले साठीको दशकयता भारत र नेपाल दुवैतर्फ गुणात्मक र स्तरयुक्त लेखन र छपाइमा बढोत्तरी देखिए पनि बिक्री प्रवर्द्धनमा खासै अन्तर आउन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।

दार्जिलिङका पादरी गङ्गाप्रसाद प्रधान र मिस गोलेनले हान्स एन्डरसनका बालकथाहरूको अनुवादबाट भारतीय नेपाली बाल साहित्यको प्रारम्भ भए पनि सुरुका दिनमा नेपाली भाषाले भारतमा संवैधानिक मान्यता नपाएकाले नेपाली भाषामा साहित्य, बाल साहित्य र बाल कविताको सिर्जना पछि पर्न गएको अनुमान पनि लामिछानेले गरेका छन् ।

सो अवसरमा काशी विश्वविद्यालयका नेपाली भाषाका विभागीय प्रमुख डा.दिवाकर प्रधानले भारतमा नेपाली भाषाको पठनपाठनको आरम्भ र विकास कसरी भयो भन्नेबारेमा प्रस्तुति दिएका थिए ।

कार्यपत्रमाथि पूरक टिप्पणी गर्दै वरिष्ठ पत्रकार डीआर घिमिरेले भाषा, साहित्य, संस्कृति र संस्कार हस्तान्तरण गर्ने सशक्त माध्यम बाल साहित्य हुने भएकाले यसको विशिष्ट भूमिका रहन्छ भने । उनको भनाइ थियो-‘बालबालिकालाई सानै उमेरदेखि सुनाइने किस्सा, कथा, संस्कार आदिले उनीहरुको भावना, जिज्ञासामात्र पूरा गर्दैन, ज्ञानसमेत हस्तान्तरण हुन्छ ।’

नेपाल बाहिर बस्ने अभिभावकहरुले नेपाली भाषा, साहित्य र संस्कृति नबिर्सून् भन्न हरेक देशमा यस प्रकारका कार्यक्रम गरिएको स्मरण गर्दै उनले प्रवासी संघको यो कार्यक्रमले सोही भावनाको प्रतिनिधित्व गरेकोमा खुशी प्रकट गरे ।

अर्का टिप्पणीकार विष्णु गुरूङ, जो अल इन्डिया रेडियोको नेपाली भाषामा कार्यक्रम सञ्चालन, समाचार वाचन, अनुवादक र इन्चार्जका रूपमा २४ वर्ष सेवा गरेर हाल निवृत्त भएका थिए । मलेसियामा जन्मेका, तर स्याङ्जा घर भएका गुरूङ अध्ययनका सिलसिलामा दिल्ली पुगेपछि रेडियोमा कार्यक्रम चलाउँदै गर्दा भाषाशास्त्री बनेका थिए । उनले नेपाली भाषाको कुरा गर्दा सबै धर्मका ग्रन्थहरुको माध्यमबाट पनि नेपाली भाषाको विकासमा सहयोग पुगेको टिप्पणी गरे ।

यस्तै दार्जिलिङका साहित्यकार जेके बराइलीले संगीतका विषय पनि कार्यपत्रमा आउँदा अझ प्रभावकारी हुने आशय व्यक्त गरे ।

कार्यपत्र-सत्रको अध्यक्षता गर्नुभएका शितविन्दु अर्थात् नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अक्षरको वंश परम्पराले नै नेपालीलाई जोड्ने सन्दर्भ उल्लेख गर्दै कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूले विषद क्षेत्रको प्रतिनिधित्व गर्न सकेको अनुभव सुनाउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *