डुकुछाप, देवीचौर र तीनपाने हाइकिङ
प्रेममा चुम्बकीय आकर्षण हुन्छ । प्रेममा मन मनमगन पूर्ण चन्द्र झैं हुन्छ । कि प्रेम कि त नयाँले मान्छेलाई आर्कषित गर्दछ । कौतुहलता र जिज्ञासाले नयाँमा मान्छे आर्कषित हुन्छ । नयाँँ फूल वा नयाँ पुल, नयाँ साथी वा नयाँ राजनीतिक पार्टी ! बाख्राको पाठो होस् वा मान्छेको बच्चा, नयाँ ऊन वा नयाँ धुन, नयाँ नून वा नयाँ सुन ! सबै नयाँमा न्यानोपन भेटिन्छ ।
मानव इतिहासकै धनी व्यक्ति एलन मस्कलाई नयाँ दुनियाँ बनाउने चस्को लागेको छ । मलाई केही समयदेखि नयाँ ठाउँ डुल्ने चस्को लागेको छ । मस्कको र मेरो मन फरक छ । उनी मंगल ग्रहमा बस्ती बसाउने दौडमा छन् । म मंगलताको कामना गर्दछु । मौजमस्तीले मस्तमौलाना भएर वन, जंगल र बाटो हिँडिरहेछु । मस्कको नयाँ र मेरो नयाँ फरक थियो । मलाई साधारण, तर नयाँ ठाउँको आकर्षण थियो । मस्कलाई मनीको र महान कामको ।
डुकुछाप, देवीचौर र तीनपाने यस पटकको हाइकिङ थियो । यी तीन ठाउँमध्ये तीनपाने तेस्रो पल्ट पुगें । हेटौंडाबाट आउने नाका भएकाले एक पल्ट गाडी बिग्रेर विजोग भएको बेलामा । अर्काे पल्ट तीनपाने भञ्ज्याङमा कोभिडको समयमा सिर्जनात्मक लेखन प्रशिक्षणको अञ्जु तिमल्सिना घिमिरे, मञ्जु कार्की, सिर्जना भण्डारी, सिमल ढकाल र युवराज नयाँघरेसँग गएको बेलामा ।
तीनपाने तेस्रोपल्ट तीनतिरबाट हेर्न चाहन्थें । डुकुछापबाट सुरु भएको हाइकिङ तीनपानेमा टुंगिन्थ्यो ।
ह्याप्पी हाइकर्स नामक फेसबुक समूहको आयोजना थियो । आयोजना गर्ने साथी मूलपानीकै बालसखा राजाराम फुयाँल थियो । उसलाई हामी निकनेममा चिन्ता भन्ने गर्थ्यौं । सानैदेखि चिन्तनमनन गर्ने र दर्शनका कुरा गर्ने ऊ प्रस्ट र हक्की मान्छे थियो र नै उसलाई नजिकका साथीहरुले चिन्ता भन्थे । ऊसँग मेरो बालख हात थिए । बालख खुट्टा थिए । खेल थिए । पढाइ थिए । बाल्य मन थियो । ऊसँग मेरो बचपन थियो । म जत्तिकै पुरानो कुरो थियो । अनि एकाघरका भुवन ढकाल जाने भएपछि मलाई नयाँ ठाउँ र पुराना मित्रहरु एक सुन्दर कथा जस्तै लागेर जाऔं न त लागिरहेको थियो ।
एक्लै शिवपुरी हिँडेको थिएँ । दुई जना भएर पुनहिल, गोसाईंकुण्ड, मार्दी हिमाल आदि र भर्खरै चिसापानी गएको थिएँ । बढीमा तीन जना पाँचपोखरी जाँदा गएको थिएँ । मेरो लागि १५ जनाको टोली हुलमुलको हाइकिङ थियो । यो पनि बुझ्ने मन थियो । कस्तो हुँदो रहेछ त, एक दर्जन बढी मान्छेसँग हाइकिङ जाँदा बुझ्न चाहन्थें । राजारामकै कोअर्डिनेटमा ह्याप्पी हाइकर्सले त एकै दिनमा ९५ जनासम्म पनि लगेको रहेछ । अहिलेसम्म एक दिने हाइक १०५ र लामो ट्रेक १५ वटा गरिसकेको भन्दैथ्यो राजाराम । ह्याप्पी हाइकर्सको विशेषता भनेको हरेक हप्ता नयाँ रुट रहेछ । २०७५ सालदेखि नेपाली हाइकर्सको नाममा फेसबुक पेज बनेछ । पछि अर्काे साथी सुरेन्द्र फुयालले नाम जुराएछ ह्याप्पी हाइकर्स । हरेक शनिबार यो ग्रुपले आफ्नो गतिविधि फेसबुकमा राख्ने र लैजाने गर्ने रहेछ ।
एक्लै शिवपुरी हिँडेको थिएँ । दुई जना भएर पुनहिल, गोसाईंकुण्ड, मार्दी हिमाल आदि र भर्खरै चिसापानी गएको थिएँ । बढीमा तीन जना पाँचपोखरी जाँदा गएको थिएँ । मेरो लागि १५ जनाको टोली हुलमुलको हाइकिङ थियो । यो पनि बुझ्ने मन थियो । कस्तो हुँदो रहेछ त, एक दर्जन बढी मान्छेसँग हाइकिङ जाँदा बुझ्न चाहन्थें ।
राजाराम र म सँगसँगै मूलपानीमा नव प्रगति क्लवमा, मनोहरा लाइब्रेरीमा र स्कार्स समूहको प्रस्तुति भनेर कलिला हातले लेख्ने भित्ते पत्रिकामा काम गरेका थियौं । उसले भन्यो, ‘तँ आज ९ बजे सुत, भोलि ५ बजेर २० मिनेटमा तेरो घर नजिकै चप्पल कारखाना आइज, त्यहाँबाट गाडी चढ् ।’
म सधैं ६ बजे उठ्ने मान्छे । उसको कर्फ्युमा सुत्न खोजेको यताउता गर्दागर्दै १०ः३० बज्यो । ५ः०० को अलराम हालेर सुतेको थिएँ ।
सुत्दा जहिल्यै फोन एरोप्लेन मोडमा हालेर सुत्ने बानी छ । मलाई लाग्छ जति नै इमर्जेन्सी परे पनि अप्सन हुन्छ । मोबाइलले मलाई हैन, मैले मोबाइल चलाउने हो भनेर हरेक दिन एरोप्लेन मोडमा हालेर सुत्छु । निन्द्राले हामी सबैलाई प्राकृतिक रुपमा मृत्युको रुप देखाउँछ । अर्थात् हर एक दिन मरेर हर एक दिन उठछौं हामी । म किन अप्राकृतिक भएर रातमै जन्मने भन्ने लाग्छ ! र त एरोप्लेन मोडमा सुत्छ मोबाइल पनि । म पनि मस्त सुते । अलराम बजेछ । अलरामले मस्तरामलाई कहाँ बिउँझाउँछ र ! छोरी सिमलले ५ः१० बजे उठाइन् । एकछिन है सिमल भन्दै फिल्मी स्टायलमा तकियालाई अंगालो हाल्दै सुत्न मन थियो । ५ः१५ भैगयो । श्रीमती सिर्जनाले गाडीमा एकान्तकुना छाडिदिइन् । लामो बस नचढेको धेरै भएथ्यो । आयो क्याम्पस जाँदा चढ्ने जस्तै बस ।
जाडोमा सूर्य नै ६ः५० मा झुल्कने एप्पलले देखाएथ्यो । ६ः०० बजे त रिमरिम उज्यालोमात्रै थियो । एकान्तकुनाबाट गाडी भैंसेपाटी हुँदै बुङमतीमा रोकियो । त्यहाँ बिहानै ब्रेकफास्ट रोटी दुई, अण्डा एक, तरकारी र चिया खुवायो । एक बोतल पानी सबैलाई ह्याप्पी हाइकर्सले दियो । सम्पूर्ण खर्च दिनभरिको व्यहोर्ने गरी प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ गाडीमै उठाइसकेका थिए ।
बुङमती बिग्रिएकोमा दुःख लाग्यो । बुङमती वडा कार्यालय नजिकै चिया खाँदा मनमनै कुरा गरिरहें । मेरो साथी वरिष्ठ पत्रकार शुभेच्छा विन्दुको जन्म ठाउँ हो यो । उहाँले काठको बुङमतीको कथा, त्यो गाउँको बुढी आमाको कथा, हजुरआमाको कथा, मच्छेन्द्रनाथको कुरा गरेको सम्झिएँ । शुभेच्छाजीसँगै परिवर्तन हुँदै गएको गाउँ सम्झिएँ । विश्व सम्पदामा सूचीकृत हुनसक्ने गाउँ थियो बुङमती । कहिलेकाहीँ म भैंसेपाटीको उकालोको चउरबाट त्यो गाउँ हेर्न आउँथें । हेर्दा सुन्दर चिटिक्कका घरहरु हेर्दा कति आँखालाई आनन्द आउँथ्यो । भूकम्पपछि कुनै कति तला कुनै कस्तो ओडे र खौडे घरहरु देखेर दिक्क लाग्यो । दुःख लाग्यो । विकासको नाममा संस्कृतिको विनाश भएकोमा नरमाइलो माने मनमनै ।
यो कुरा कसैलाई थाहा थिएन । भर्खर भेटिएकालाई एकाबिहानै यस्तो भन्न पनि मन लागेन ।
चिया खाँदै गर्दा १५ जनाको टोलीसँग हल्का परिचय गराउँदै राजारामले भन्यो- ‘यो मेरो लगौटिया यार हो ।’
म मुसुमुसु हाँसिरहें । हिँ हिँ गर्दै हात जोड्दै वा मिलाउँदै नमस्कार गरें । केही पहिल्यैदेखि नाम सुनेका, देखेका, तर कुरा नभएका काठमाडौंको पूर्वी भेगीय मान्छेहरु पनि थिए । केही नयाँ । भुवन दाइको साथी पवित्रा गुरुङ हिमालय बैंकका सहकर्मी हुनुहुँदो रहेछ । उहाँसँग बैंकका कुरा गरेर चरा उड्ने गरी हाँस्यौं । हाँसोमा बैंकको भित्री मर्म लुकेको थियो । बैंकमा काम गर्नेहरुको पहिलेको आकर्षण र अहिलेको विकर्षणका कुरा, बैंकमा पैसा टन्न गन्ने, तर तलब नगण्य हुने कुरा, टाइ लगाएर बैंक गइन्छ, तर त्यसले आफैंलाई पासो लगाए झैं हुन्छ भन्ने अनिल शाहको कुरा, नेटफिक्सले भर्खरै राखेको बैंकसम्बन्धी फिल्म ‘लक्की भास्कर’का कुरा गर्दै हामी मस्तले हाँस्यौं । समग्रमा बैंकका गर्व र मर्मका कुरा भए ।
बुङमती बिग्रिएकोमा दुःख लाग्यो । बुङमती वडा कार्यालय नजिकै चिया खाँदा मनमनै कुरा गरिरहें । मेरो साथी वरिष्ठ पत्रकार शुभेच्छा विन्दुको जन्म ठाउँ हो यो । उहाँले काठको बुङमतीको कथा, त्यो गाउँको बुढी आमाको कथा, हजुरआमाको कथा, मच्छेन्द्रनाथको कुरा गरेको सम्झिएँ ।
मलाई त पृथ्वीमा जन्मने हरेक व्यक्ति एक अवतार जस्तै लाग्छ । त्यहाँ भएका १५ जना १५ कर्मका अवतार थिए । कोही टिचर, कोही व्यापारी, कोही पत्रकार, कोही लेखक, कोही बैंकर थिए । आआफ्नो कुनामा आआफ्नो कुरा चलिरहेका थिए ।
सबैले खाजा खाइसकेपछि गाडी डुकुछापतर्फ जाने भयो । गाउँ-गाउँमा बाटो बन्दै र बनिरहेका छन् । उडेको धूलोले देश निर्माणको चरणमा छ झैं लाग्छ, तर प्रश्न आउँछ- कहिलेसम्म निर्माणको चरणमा हो हाम्रो देश ? दूरदृष्टि राखेर निर्माण भैरहेको देखिँदैन । वडाध्यक्ष र नगरपालिकाले पैसा सकाउन र भ्रष्टाचार गर्न बाटोको नाममा ससाना बाटो बनिरहेको आजको यथार्थ हो । तीन पुस्तापछिको प्लानिङ गरेर बाटो नबनेको सत्य हो । बाटोमा इँटाभट्टा नजिकै सुन्दर घर देखें । लाग्यो, सुन्दर घरका ती सुन्दर बालखका स्वास्थ कति कुरुप भयो होला ? चिसो पुस थियो । कुइरोले परका घरहरु केही देखिएका थिएनन् । बसभित्र बस्ने सबैको आँखा र कान चनाखा थिए । नयाँ कुरा हेर्न र सुन्न । बिहान हिउँ परेको जस्तै तुषारो सेताम्मे थियो ।
बाटो-बाटोको जुँइनु हो । एक बाटोबाट अर्काे बाटो जोडिनु बाटोको विशेषता नै हो । हामी गौथली टोल समाज खुइपु ललितपुर लेखेको ठाडै ओरालो, तर सानो बाटो झर्नुपर्ने भयो । एकै प्रकारका लामो पार्टी प्यालेस जस्ता घरहरु पनि देखिए । खोलाको बाटो र त्यसको आवाजसँगै कुहिरो र तुषारोको फाइट बसभित्रैबाट हेरियो । कुइरोले सूर्यलाई समेत अठ्याएको थियो । सूर्य त सानो घरमा बल्ने बल्व जस्तै देखें । बसमा आआफ्नो तालका गफ छँदै थियो ।
लगगभ ८ बजे हामी पुग्यौं डुकुछाप बस स्टेशन । च्यासल ललितपुर लेखिएको बोर्डमाथि डुकुछाप लेखिएको थियो । हामी त्यहाँ दाहाल खाजा घरबाट उकालो लाग्नु थियो । त्यहाँबाट तोरी बारी हेर्दै उकालो लागियो । ठूलो पिपलबोटमा सुस्ताउने चौतारी बनाएको रहेछ । उकालोपछिको सौन्दर्य हो चौतारो र पिपलको बोट । त्यहाँ फोटो खिचियो । सुस्ताइयो र फेरि यात्रा चालू गरियो ।
मलाई भने डुकुछाप नाम नै अनौठो लागिरहेथ्यो । के होला यसको अर्थ भन्ने लागिरहेथ्यो । भूकम्पले नयाँ बनेका घरहरु नजिकै उभिएका एक ज्येष्ठ लालबहादुर घलान तामाङलाई सोधें-
‘यो डुकुछाप भनेको कसरी रह्यो नाम ?’
उनले भने- ‘कालतोरीको डुकु बेस्कन फल्ने भएर डुकु डुकुभन्दा डुकुछाप भयो ।’
हामी पनि डुकु भएर हिँड्दै थियौं । हामी हाइकिङ नामक छाप बसालेर हिँड्ने डुकु छाप थियौं । तामाङको कुरा भेरिफाइ गर्न अलि माथि गएपछि एक घिमिरेबाजेलाई सोधियो-
‘यो डुकुछाप भनेको कसरी रह्यो नाम ?’
उहाँले भन्नुभयो- ‘बुङमतीमा ल्याउने मच्छिन्द्रनाथ डोकोमा ल्याउँदा यो ठाउँमा छाप बसेकोले डोकोछाप भन्दाभन्दै डुकुछाप भयो ।’
गाउँ-गाउँमा बाटो बन्दै र बनिरहेका छन् । उडेको धूलोले देश निर्माणको चरणमा छ झैं लाग्छ, तर प्रश्न आउँछ- कहिलेसम्म निर्माणको चरणमा हो हाम्रो देश ? दूरदृष्टि राखेर निर्माण भैरहेको देखिँदैन । वडाध्यक्ष र नगरपालिकाले पैसा सकाउन र भ्रष्टाचार गर्न बाटोको नाममा ससाना बाटो बनिरहेको आजको यथार्थ हो ।
यसमा अलि तथ्य र इतिहास मिसिएको लाग्यो । बाटोभरि कालतोरी र तोरीहरु पनि थिए । घर आएर गुगललाई सोधें । उसले भन्यो- ‘ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ८ मा पर्दछ डुकुछाप ।’
ओहो ! त्यो गाउँ त नगरपालिका पो रहेछ । एक सत्य समाचार पनि पढें । ‘यहाँ एक दिन दिनभर मान्छेले गाई वस्तु लुकाए । आफू पनि बाहिर निक्लेनन् । सबै त्रसित बने । वनको बाघ गाउँ पस्यो भनेर । पछि थाहा भयो, आतकिंत भएको कारण त पशु प्राविधिक स्थानीय ईश्वर पाण्डे रहेछन् । उनले स्पीकरमा बाघको आवाज बजाएर मान्छेलाई त्रसित पारेका रहेछन् । पाण्डेलाई पक्राउ गरी अबदेखि गल्ती नगर्ने भनी छाडिएको छ ।’
बिहान हिँड्दा यो कुरा थाहा थिएन । म त हिँडदा ब्याट्री बच्ने, फोटो खिच्न पनि पाइहालिने भनेर एरोप्लेन मोडमा मोबाइललाई राखेर हिँड्छु । पुर्खा हिँडेको बाटो रहेछ काफल डाँडा । अलि उकालो आयो । उकालोको गर्मी र पसिनाले लुगा खोल है भन्छ शरीरले । ज्याकेट खोलेर ब्यागमा हालियो । हिँड्दाहिँड्दै आयो धुलाम्मे बाटो । ओहो ! त्यहाँ ट्रिपर आतंक थियो । हामी सबै धुलाम्मे भयौं । लुगाको रंगलाई धूलोले जित्यो । वनजंगल, खोलानाला र चरा हेर्दै हिँड्ने भनेको बाटैबाटो ट्रिपरको धूलो र धुँवाको आतंकले एक छिन बेकारमा आएछु झैं लाग्यो । रुट थाहा रहेनछ ह्याप्पी हाइकर्सलाई ! सात वर्ष पहिले आउँदा सानो बाटो थियो, अहिले गाडी गुड्ने भएछ भन्दैथे । एक दिन अगाडि नै कन्फरमेशन लिएर यो यस्तो भनेर बुझ्न पनि नभ्याएको होला झैं लाग्यो । एक छिन बोल्यो कि मुखभरि धूलो हुने भयो । बाटोको अलमल यता कि उता भनेर सोध्दै खोज्दै हिँड्न पर्थ्यो ।
वनको बिचमा बाटो थियो । ट्रिपरहरु जाम हुने गरी चलेका थिए । ट्रिपरको कर्कश आवाज र उसले उडाएको धूलो र त्यसको साइजले ट्रिपर देख्दा पनि राक्षस आए झैं लाग्ने ! पानीले कहीँकहीँ हिलाम्मे बाटो थियो । बाटो नहेरी त्योभन्दा परको वन, घरहरु र तोरीबारी पर देखिएको सेताम्मे हिमाल हेर्दै हिँडौं झैं लाग्दै थियो ।
एकै छिनमा वुरुन्चुली आयो । मज्जाको तामाङ गाउँ, प्रेयर फ्ल्यागहरु र पसलहरु पुगेपछि आनन्दको सास फेर्यौं । अब धूलोको काल काटियो । मिलेर बसेको समाज त्यहाँ देखियो । एकातिर ढुडुप साँगे चैत्य (सुनौलो मन्दिर) थियो । अर्काेतिर सरस्वतीको मन्दिर बनेको थियो । धार्मिक सहिष्णुता नेपालीको विशेषता नै हो । जहाँ राजनीति छिर्दैन, त्यहाँ समाज मिलेर बसेको छ । नामपछिका थरहरु डिम्डुङ, थिङ, योञ्जन, गोले, सिंगारु, स्याङतान, मार्पा लामा शिलालेखमा थियो । देवीचौर, छम्पी, लेले भनेर ठाउँ थर र पैसा लेखिएको थियो ।
एकैछिनमा नमुना आदर्श माध्यमिक विद्यालय देखियो । वि.सं २०४२ सालमा स्थापना भएको सुन्दर विद्यालय रहेछ । सानो स्कुल हुँदा विद्यार्थी टन्नै हुन्थे । आजकल स्कुल ठूलो विद्यार्थी नै नहुने भएको छ । यहाँ पनि त्यस्तै थियो ।
सिमाना पनि अचम्मैको हुन्छ । यति माथि पहाडमा आउँदा २००८ सालमा स्थापना भनेर लेखिएको प्रहरी चौकी टीकाभैरव ललितपुर विद्यालयको छेउमै देखियो । अनावश्यक ढंगमा थोपरिएका नगरपालिकाका दृश्य त्यहाँ देखें । ओर्लंदै जाँदा आयो सातदोबाटो । साना दुई चार घर छन्, यातायात छैन । त्यो रहेछ गोदावरी नगरपालिका ७ नम्बर वडा ।
हरे ! किन नगरपालिका बनाउन परेको होला सरकारलाई भनेर दया लाग्यो । गाउँ नै रहँदा गाउँहरु सुन्दर थिए । के गर्नु ! विकासको नाममा इगो भयो । पञ्चायतले राखेको नाम प्रजातन्त्रपछि गाउँ विकास समिति भए । गाउँ विकास समितिका धेरै गाउँ समेटेर गणतन्त्रपछि गाउँपालिका र नगरपालिका बने ।
हरे ! किन नगरपालिका बनाउन परेको होला सरकारलाई भनेर दया लाग्यो । गाउँ नै रहँदा गाउँहरु सुन्दर थिए । के गर्नु ! विकासको नाममा इगो भयो । पञ्चायतले राखेको नाम प्रजातन्त्रपछि गाउँ विकास समिति भए । गाउँ विकास समितिका धेरै गाउँ समेटेर गणतन्त्रपछि गाउँपालिका र नगरपालिका बने । विकासको नाममा बनेका सरकारहरु अघिल्लो सरकार र व्यवस्थाको अविच्छिन्न उत्तराधिकारी बनेनन् । अनि त्यो इगोले विकास टुहुरो बन्यो । नेपालभर यस्तै गरी बिग्रेको छ झैं लाग्यो । भन्ने कसलाई ? आफ्नै मनलाई भन्ने त हो यस्ता कुरा । मनमनै कुँढिँदै लागियो माथिल्लो बुरुन्चुली ।
लटरम्म फलेका लप्सीका बोटहरु, सेता खुलेका हिमालहरु, हरियो पहाड, नीलो आकाश हेर्दै हुलमुलको कुराकानी सुन्दै हिँडिरहें । विकासको नाममा पैसाको सत्यानाश भइरहेको, सानो बाटो बनाइरहेको ठाउँ फेरि आयो । नरमाइलो लाग्यो । पैसा लिनेहरु त खुशी भएका होलान्, तर यसले भविष्य के होला भन्ने सोचें । नवनिर्माणको नाममा विनिर्माण भएको दृश्य टुलुटुलु हेर्दै हिँड्नैपर्यो ।
एक महिलासँग कुरा गरें । सुनें, एक बोट लप्सी फल्नु पहिले नै आएर मान्छेहरुले १५-२० हजारमा किन्दा रहेछन् । हाम्रो पहाडमा औषधियुक्त यो लप्सी पहाडैभरि लगाउन पाए त पहाडहरु पनि सुन्दर देखिन्थ्यो भन्ने लाग्यो । अनि एक करोड बोट लप्सी लगाएर बेच्न पाए त आर्थिक समुन्नति हुन्थ्यो झैं लाग्यो । रैथाने फलफूलले औषधिको काम, भूक्षय नियन्त्रण र आर्थिक विकास हुन्थ्यो नि भन्ने लाग्यो । नीति हेर्ने र योजना हेर्नेको टाउकामा लप्सी गेडाले लागेर दिमाग खुले पनि हुने झैं लाग्यो ।
हिँड्दै जाँदा जंगल आयो । उकालो ओरालो नै यात्राको मज्जा हो । स्वाँ स्वाँ गर्दै हिँडन पाइयो भनेर म अगाडि अगाडि हिँडें । देवी चउर आइहाल्यो । त्यहाँबाट त चिसापानीको भन्दा बढी हिमाल देखियो । मजाको टावरमा चढेर फोटो र भिडियो लिइयो ।
मस्तको उकालोपछिको थकान ! अनि लगेको ड्राइ फुड्स एकको अर्काेसँग शेयर गर्दै खाजाको मज्जा मस्तै मिल्यो । आहा ! त्यहाँबाट ३६० डिग्री हिमाल देखिँदा मन नै हिमाल जस्तै हाँसिरह्यो । घाम पोखिएको चउरमा सुस्ताइयो । करिब एक घन्टा ड्राइ फुड्स र फलफूल, पानी खाँदै गफिँदा सेता हिमाल झैं हाम्रा दाँत पनि हाँसिरहेका थिए ।
अब ग्रुपको होहल्लाभन्दा एक्लै हिँडनुपर्यो भनेर म एकछिन छिट्छिटो हिँडें । बाटोमा मलसाँप्रो तीनचार वटा आए । डुकुछापदेखि पछि लागेको कुकुरले मालिक भक्ति देखाएर उनीहरुलाई लखेट्यो । सेतो र कालो रङका मलसाँप्रोले मुन्टो उठाउँदै देखाएको मुहार अहिले पनि मनमा बसिरहेछ । यात्राको सुन्दर दृश्य लागेको थियो त्यो ।
एकै छिनमा आयो भट्टेडाँडा । त्यहाँ रहेको थ्री सन राडार भ्यू होटलमा चियापानी खाइयो । नेपाली हवाई इतिहासकै सर्वाधिक कहालीलाग्दो र धेरै मानवीय क्षति भएको हवाई दुर्घटना भएको ठाउँ भट्टेडाँडा थियो । सन् १९९२ सेप्टेम्बर २८ मा १५७ जना यात्रु बोकेको पाकिस्तानी एयरवेजको एयरबस ३१० त्रिभुवन विमानस्थल ल्यान्ड गर्न खोज्दा दुर्घटना परेको थियो । कहालीलाग्दो त्यो दुर्घटनास्थलमा ३२ वर्षपछि जंगलमा गएर हात जोडेर मृतकको आत्माशान्तिको कामना गरें । अशान्त भएको मेरो मन यति गर्दा पनि शान्त भयो ।
मोबाइलले चलाएको शहरमा मैले मेरा पाइला मोबाइलमा हेरें । २८ हजार प्लस पाइला हिँडिएछ । मनभरि गाउँ, पहाड र हिमालको दृश्य छ । थाहा छैन, त्यो सुदृश्य हेर्न फेरि कहिले जान्छु ?
त्यहाँ गजबको राडार हेरियो । त्यहाँ पिकनिक स्पट रहेछ । अलि पर हिलसाइड भ्यू होटल छ । त्यो होटलबाट अगाडि लाग्दै जाँदा चिसोले हरियो जंगल रातो हुँदै गएको देखें । गाडी हिँड्ने बाटो भए पनि खाल्डाखुल्डी भएकाले गाडी आएनन् । चिसो पुसले ज्याकेट लगाउ भन्दै थियो । म एक्लै हिँडिरहेथें । बेलाबेलामा राजकुमार श्रेष्ठ र वृन्दा घिमिरे थलीसँग कुरा गरिन्थ्यो । टोखाका राम श्रेष्ठको आवाज आइरहन्थ्यो । सहदेव गुरुङ, हिमांशु बराल, मनिषा राउत, प्रदीप कँडेल, कृष्ण थापा, निराकार श्रेष्ठ, ओम गुरुङ, बमबहादुर थापाको आवाज कहीँकहीँ सुन्न पाइन्थ्यो । हुलमुलको हाइकिङमा सबैको सबै कुरा सुन्न पनि पाइन्न र जंगली जनावरहरु धेरै हेर्न पनि पाइन्न, तर मान्छेहरुसँगको रमाइलो भने मज्जैको हुनेरहेछ ।
बेलाबेलामा एक्लै हिँड्थें । बेलाबेलामा ग्रुपमा कुरा सुन्थें । जसका कुरा सुन्यो उहीँ राम्रो म बहादुर हुन्थे । ‘मैले गर्दिएँ, मैले यसो भन्दिएँ, म नभएको भए के हुन्थ्यो ल भन्नुस् त ? म त कुरै नगरौं, मलाई यस्तो रिस उठ्यो । मलाई त्यसका कुराले यस्तो हाँसो लाग्यो । मेरो त झगडै पर्यो । मैले हान्दिएँ, मैले त्यस्तो गुन लगाएको धोखा दियो, म असल, खासमा त्यो खराब हो, यो यो कारणले । त्यसले त्यसो गर्न नहुने, त्यसको बुद्धि नै छैन ।’ यस्तै यस्तै ‘म’का रागहरु मस्तै सुनें । ‘म’का स्पष्टीकरण सुनें । अनि लाग्यो- प्रकृति र मान्छेलाई रागहरु ओकल्दा र आफूसँग भएको कन्फेशन गर्दा वा स्पष्टीकरण गर्दा मज्जा हुन्छ होला ! र त मान्छेहरु ‘म’को बखान गर्दै आफूले गरेको गल्ती कमजोरी पनि एकान्तमा भन्ने होलान् । प्रकृतिले त्यसलाई लिएपछि ऊ फ्रेस हुनु पनि हाइकिङको मज्जा होला झैं लाग्यो । नत्र किन उमेर ५५ भए पनि दिल बचपन हुँदै ‘ममम’ गर्थे होलान् र मान्छेहरु ?
उतिसका रुखहरुले हामीलाई पछ्याउने कि हामीले उत्तिसका रुखलाई पछ्याउने ? जंगलबिचको बाटोमा उकालो ओरालो गर्दै हिँडिरह्यौं । पसिनाले भिज्ला भनेर लगेको भेस्ट र रुमाल चिसोले झिक्नै दिएन । पसिना हावाले हानेर उडायो । तीनपाने आउँदा हात चिसो भैरहेको थियो । लुगा धुलाम्मे भएको थियो । खाना तयार थियो । खाना खाइयो । तीनपानेमा स्कुसको जरा र टमाटर किनेर बसमा बसियो ।
तीनपानेबाट टीकाभैरव, चापागाउँ, ठेचो, सुनाकोठी, ढोलाहिटी, खुमलटार, सातदोबाटो, लगनखेल, जावलाखेल, जमल हुँदै गाडीले कपुरधाराबाट चक्रपथ छिरेर चप्पल कारखानामा हामीलाई झार्यो ।
फर्कंदै गर्दा गाडी जतिजति शहर छिर्दै जान्छ, उतिउति मन गाउँमै पुगिरह्यो । ठेचोमा आमाहरु गुम्लुङ ओड्ने ओढेर साँझलाई स्वागत गर्दै गफिँदै हाँसेको देख्दा मन खुशी भयो । मान्छे अरुको खुशीमा खुशी हुनसके कति मज्जा झैं लाग्यो । चापागाउँको सानो बाटोमा दाउरा बालेर आगो तापिरहेका पसले र उनका साथीहरु देखेर पुसले उसउस भने झैं लाग्यो । जति शहर पस्दै गयो, उति औषधि पसल र मासु पसल बढी देखें । अस्वस्थ मासु नखाए त यो औषधि पसल नै चाहिँदैनथ्यो कि भन्ने मनमा आयो ।
शहरका फलफूल पसल देख्दा भर्खर गाउँ हिँडेर आएको मलाई बाल कृत्रिम चित्र हेरें झैं लाग्यो । गाउँको बालीनाली जस्तै मिलेका शहरका घरहरु बाली जस्तो राम्रो लाग्दै लागेनन् । शहरमा साँझ छिप्पिँदै जाँदा बलेका बत्ती देखेर प्रकाशमात्रै उज्यालो, मान्छे अँध्यारो झैं लाग्यो । गाउँमा मान्छेले लगाएको लुगा मैलो, तर मान्छे उज्यालो भएको सम्झें । गाउँको निःस्वार्थ हाँसो र मुस्कान सम्झें । शहरले फसाउन हाँसेको र मुस्कान दिएको सम्झें । जतिजति गाडी शहर छिर्यो, मलाई त गाउँ नै प्यारो लाग्न थाल्यो ।
के गर्ने रोजगारको कारण शहर शहर छ । यहाँ पैसा कमाउने, पैसा खर्च गर्ने र समय, श्रम खर्च गर्ने ठाउँ छ । त्यसैले नै शहर शहर छ । एसीको हावा चलाएर, बनावटी हाँसो हाँसेर, टाइ-सुटमा कसिएर फेरि भोलि शहरबाट शहरभित्रै जानुछ । मोबाइलले चलाएको शहरमा मैले मेरा पाइला मोबाइलमा हेरें । २८ हजार प्लस पाइला हिँडिएछ । मनभरि गाउँ, पहाड र हिमालको दृश्य छ । थाहा छैन, त्यो सुदृश्य हेर्न फेरि कहिले जान्छु ?
गज्जब संस्मरण र प्रस्तुतीकरण ! यसरी यात्रामा रमाउन भाग्यमानीले मात्र पाउछन् । रहर र भाग्यको मिठो संयोजनले नै यात्रा गर्न जुराउछ ।