रत्नकुमार बान्तवाका जुम्ल्याहा सुरुङ : ‘रेड टुरिजम’ गन्तव्य बन्न कति कुरुम ?
काठमाडौं । केपी शर्मा ओली २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा रत्नकुमार बान्तवालाई दलको शहीदबाट देशको शहीदमा रुपान्तरण गरिएको थियो । इलामका राष्ट्रिय कम्युनिष्ट योद्धा तथा पञ्चायतविरोधी आन्दोलनका अगुवा अनुहार रत्नकुमार बान्तवालाई २०७२ फागुन १९ गते शहीद घोषणा गरिएको थियो ।
शहीद घोषणाको अर्को महिना अर्थात् २०७२ चैत २७ मा रत्नको जन्म जयन्ती तथा स्मृति दिवसमा ओलीले तत्कालीन एमाले महासचिव तथा रत्नकुमारका क्लासमेट तथा रुममेट ईश्वर पोखरेलको पुस्तक ‘पूर्वको रातो तारा’ लोकार्पण पनि गरे । नेकपा (एमाले) इलाम-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको समारोहमा बान्तवाका बारेमा ओलीले भनेका थिए- ‘बान्तवा पनि ३७ वर्षपछि शहीद घोषित हुनुभयो । जसलाई मनलाग्यो, उसलाई शहीद बनाउँदा बान्तवा जस्ता निरंकुशताका विरोधी अभियानमा मारिने व्यक्ति छुट्नुभएको थियो ।’
राजनीतिक मुद्दामा बढी बहस भएको उक्त कार्यक्रममा एक वक्ता थिए एमाले मेची इन्चार्ज तथा हालका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की । कार्कीले बान्तवाको जन्मस्थल इलामको चमैतामा राजनीतिक पर्यटकीय स्थल बनाउने उद्घोष गरे । त्यो उद्घोष भएको अहिले दशक पुग्न लागेको छ । त्यो बेलाका प्रधानमन्त्री यो बेला पनि प्रधानमन्त्री छन् भने त्यो बेलाका एमालेका मेची इन्चार्ज यो बेला कोशी प्रदेशका मुख्यमन्त्री छन् । रत्नकुमार बान्तावको योगदान, बलिदान र गाथाका सकारात्मक पाटोको उजागर गर्ने हो भने आममान्छेलाई बुझाउने खालको कुरा पर्यटन नै हो । पर्यटकीय पूर्वाधार नै हो ।
रत्नकुमारको लिगेसी जोड्ने रेड टुरिजम: गन्तव्य सुरुङ
त्यसमा रत्नकुमार बान्तवाको सम्मानमा एक नयाँ रेड टुरिजम गन्तव्य बन्ने आधार देखिन्छ । चिनियाँहरुले रेड टुरिजमबाट पहिचान बनाएका छन् । पर्यटकीय कमाइ बनाएका छन् । साथै रमाइलोमै नयाँ पुस्तालाई आफ्नो देशको इतिहास पढाएका छन् । ठीक त्यस्तै गर्ने आधार बन्नसक्छ बान्तवाको गाउँ ।
माओको हुनान प्रान्तको साओसान जस्तै र हो चि मिन्हको भियतनामी कुची गाउँ जस्तै गन्तव्य बन्नसक्छ इलामको चमैता गाउँ । रत्नकुमार बान्तवाको राजनीतिक मियो अडिएको गाउँ । भियतनामी शैलीको सुरुङ खनेर सुरुङ युद्ध गर्न तयार गरिएको गाउँ ।
चमैताको ४० फिट लामो सुरुङमा पार्टीको बैठक बस्ने खालको स्थान पनि बनाइएको थियो । सुरुङ खन्दा कुनै आधुनिक इन्जिनियरिङ प्रयोग नगरी चाहेकै स्थानबाट सुरु गरेर चाहेकै स्थानमा अन्त्य गरिएको कथा आफैंमा रोचक छ ।
रत्नकुमार बान्तवाको राजनीतिक ब्रान्डमा पर्यटकीय कोण दिन सबैभन्दा धेरै बिक्ने बिम्ब सुरुङ हुनसक्छ । २०८० माघमा लेखकहरु अर्जुनकुमार उप्रेती र जसकुमार राईले त्यही भावना बुझेर हुनुपर्छ ‘नेपालमा सुरुङ युद्ध’ नामक किताबै प्रकाशन गरेका छन् । किताबमा सुरुङका रोचक किस्साहरु छन् । रत्नकुमार, बम बान्तवा, धनकुटामा कृृृृष्ण भनेर चिनिने मोहन बान्तवा, डिल्लीप्रसाद राई र पदम राई गरेर मूलतः पाँच जना मिलेर २०३५ जेठबाट सुरुङ खनेको कुरा किताबमा छ ।
चमैताको ४० फिट लामो सुरुङमा पार्टीको बैठक बस्ने खालको स्थान पनि बनाइएको थियो । सुरुङ खन्दा कुनै आधुनिक इन्जिनियरिङ प्रयोग नगरी चाहेकै स्थानबाट सुरु गरेर चाहेकै स्थानमा अन्त्य गरिएको कथा आफैंमा रोचक छ । चमैतामा रत्नकुमारको मात्रै सुरुङ भेटिएको कुरा चर्चामा थियो । २०७५ सालमा इलामका अन्वेषक डा. देवी दुलालसँग गफिएका रत्नकुमार बान्तवाका साथी ध्वजबहादुरले आफ्नो घरमा पनि सुरुङ भएको सुनाएपछि कथाले रोचक मोड लिएको थियो ।
अर्थात् रत्नको योजना र सपना अनुसार पञ्चायती निर्दलीयताविरुद्ध लड्न बनाइएका दुई सुरुङ नेपालमा इलाममा छन् । इलाममा पनि चमैतामा मात्रै छन् । यो कुरा आफैंमा बिक्रीयोग्य कुरा हो । पर्यटकहरु खासगरी नेपाली रेड टुरिजम र पञ्चायतविरोधी राजनीतिक आन्दोलनको एक ग्रामीण अध्याय बुझ्न चाहनेहरुलाई यो आकर्षक प्याकेज बन्नसक्छ ।
नेपालमा सुरुङसँग ठूलो चासो छ । काठमाडौं-तराई द्रूत मार्गमा बनेका सुरुङ हुन वा भेरी बबई डाइभर्सनमा बनेका सुरुङ वा नागढुंगाको सुरुङ अथवा सिद्धबाबा वा जलविद्युतका सुरुङ, देशभर चर्चामा छन् सुरुङ । यी सबै सुरुङभन्दा भिन्न वा राजनीतिक सुरुङ इलामको चमैतामा मात्रै छन् । यसको ब्रान्डिङ आवश्यक छ । स्थानीय, संघ र प्रदेश सरकारले इलामको पर्यटकीय विकास गर्न चमैतामा सहज बाटो पूर्वाधार, होमस्टेलगायतका सेवा दिएर र सुरुङको एक आधिकारिक इतिहासको संग्रहालय बनाएर यसलाई प्रवर्द्धन गर्न सक्छन् । यसले चमैताको मात्रै अनुहार बदल्नेछैन, यसले इलामे पर्यटकीय चित्र नै बदल्ने देखिन्छ ।
अहिले इलामभन्दा अन्तु, कन्याम, सन्दकपुर, माईपोखरी आदिका गन्तव्य झट्ट दिमागमा आउँछन् । चमैताका जम्ल्याहा सुरुङलाई रेड टुरिजमको रुपमा विकास गरेपछि इलामे पर्यटकीय चित्रमा नयाँ आयाम थपिनेछ । नयाँ आम्दानी थपिनेछ । रत्नकुमार परिवार र गाउँलेहरुको पहिचान र आयआर्जनको आधारमा भरथेग हुनेछ ।
दशक अगाडि रत्नकुमारको गाउँमा राजनीतिक पर्यटनको सम्भावनाको कुरा गर्ने मुख्यमन्त्री हिक्मत कार्कीलाई सुरुङ पर्यटनको नेतृत्व लिने अवसर छ । गत भदौ १५ मा ‘नेपालमा सुरुङ युद्ध’ पुस्तक लोकर्पण गर्न इटहरी आएका कार्कीले पुस्तकको भावभूमि भएको चमैतामा पुगेर आफूले दशक अगाडि सारेको रत्नकुमारको गाउँको राजनीतिक पर्यटनमा देखिनेगरी काम गर्न सक्छन् ।
कोशी प्रदेशको कोणबाट त यो कामको शुभ साइत आइसक्यो । कोशी सरकारले भ्रमण वर्ष २०८२ लाई मान्ने भनेर अगाडि बढेको छ । त्यसको लागि एक नयाँ आकर्षक गन्तव्यको रुपमा चमैतालाई तयार गर्न सकिन्छ । झण्डै दशक अगाडि रत्नकुमारको गाउँमा राजनीतिक पर्यटनको सम्भावनाको कुरा गर्ने मुख्यमन्त्री हिक्मत कार्कीलाई सुरुङ पर्यटनको नेतृत्व लिने अवसर छ ।
गत भदौ १५ मा ‘नेपालमा सुरुङ युद्ध’ पुस्तक लोकर्पण गर्न इटहरी आएका कार्कीले पुस्तकको भावभूमि भएको चमैतामा पुगेर आफूले दशक अगाडि सारेको रत्नकुमारको गाउँको राजनीतिक पर्यटनमा देखिनेगरी काम गर्न सक्छन् । यद्यपि भ्रमण वर्ष घोषणा हुँदा पनि, मुख्यमन्त्री कार्की हुँदा पनि कुनै देखिने काम भएन भने उनी आलोचनाको तारो बन्नेछन् ।
दोस्रो विश्व युद्ध र त्यसपछिका युद्धहरुमा प्रयोग भएका सुरुङहरुलाई विभिन्न देशहरुमा पर्यटकीय प्याकेजको रुपमा राखिएको छ । ती लोकप्रिय पनि छन् । नेपालमा पञ्चायतविरोधी आन्दोलनताका बनाइएका जुम्ल्याहा सुरुङको पनि लोकप्रियतामा कुनै शंका छैन । मात्रै सरकाले पूर्वाधार, जनशक्ति र प्रचारमा सहयोग गर्नुपर्यो ।
कम्युनिष्ट कूटनीतिमा सहयोगी हुनेछ चमैताको सुरुङ पर्यटन
इलामको सानो गाउँ चमैताका सुरुङहरु नेपालको आन्तरिक रेड टुरिजमको मात्रै गन्तव्य हुनेछैनन्, ती नेपालको कम्युनिष्ट कूटनीतिका आधार पनि बन्नेछन् । चमैताका सुरुङको प्रेरणाका स्रोत देशहरु भियतनाम र चीन हुन् ।
जसरी चीन र भियतनामले आफ्नो देशको रेड पर्यटनमा घुमाउँछ, नेपाली दलहरुले त्यसैगरी घुमाउन सक्छन् । अझ यसमा सहज यो छ कि आज चीन यो सुरुङ युद्धमा प्रेरणा लिने युगको जस्तो गरिब छैन । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको छ ।
चीन र भियतनामसँगको सुरुङ साइनोबारेमा ‘नेपालमा सुरुङ युद्ध’ किताबमा सुरुङ खन्ने कामको नेतृत्व लिने रत्नकुमारका माइला भाइ मोहनले भनेका छन्, ‘चीनका माओ त्सेतुङले विश्वलाई आह्वान गरे । गहिरो टनेल खन । अन्नको भण्डार सञ्चिती गरेर राख । तेस्रो विश्व युद्ध हुने अनिवार्य छ । त्यही भनाइमा समेत सम्मान गर्दै (भियतनामका) हो चि मिन्हको सुरुङ युद्धको मार्गदर्शक मान्यताअनुसार यो सुरुङ बनाइएको हो ।’
यही लिगेसीलाई सुरुङ युद्ध क्षेत्रमा बनाउने संग्रहालयमा स्तरोन्नति गरेर चीन र भियतनामका कम्युनिष्ट नेताहरु आउँदा भ्रमण गराउन सकिन्छ । जसरी चीन र भियतनामले आफ्नो देशको रेड पर्यटनमा घुमाउँछ, नेपाली दलहरुले त्यसैगरी घुमाउन सक्छन् । अझ यसमा सहज यो छ कि आज चीन यो सुरुङ युद्धमा प्रेरणा लिने युगको जस्तो गरिब छैन । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको छ ।
आज भियतनाम यो सुरुङ तयारीताकाको जस्तो छैन । आसियान क्षेत्रकै ठूलो अर्थतन्त्रहरुमा एक हो । चीन र भियतनाम दुवै कम्युनिष्ट सत्ता नै भएका देश छन् । एकातर्फ कम्युनिष्ट सत्ता र अर्कोतर्फ बलियो अर्थतन्त्र, यी दुवै चिनियाँ र भियतनामी पक्षलाई ध्यान दिएर सरकारले चमैतामा तिनको सहयोगबाट रेड टुरिजम विकासको लागि करोडौं भित्र्याउने अवसर छ । कैयौं रोजगार सिर्जना गर्ने अवसर छ । नेपालको पर्यटकीय चित्रलाई चीन र भियतनाममा पनि फैलाउने एक सफ्ट कम्युनिष्ट कूटनीतिको रुपमा जाने अवसर छ ।
गत मंसिरमा भियतनामी कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाइ बिन नेतृत्वको ६ सदस्यीय टोली नेपाल भ्रमणमा आएको थियो । एमाले महासचिव शंकर पोखरेलसँग भेट गरेको थियो । संवाद भएको थियो । सायद पोखरेलले चमैताको कुरा गरेनन् । हो चि मिन्हको देशमा बनेका कुची क्षेत्रका सुरुङकै नेपाली अवतार हो चमैता गाउँ भनेनन् । चमैतामा सुरुङलाई पर्यटकीय प्रचार गर्ने स्तरका पूर्वाधार र जनशक्ति तयार भएपछि चैँ अर्को पटक नेपाली कम्युनिष्टहरुले भियतनामी नेताहरु आउँदा चर्चा गर्ने आधारमात्रै होइन, घुमाउने क्षेत्र पनि बन्नेछ ।