पोखरामा विद्या भण्डारीको एक साता : एमाले पङ्क्तिसँग अर्थपूर्ण पुनर्मिलन, ‘तपाईँ नै हाम्रो नेता हो’
पूर्वराष्ट्रपतिलाई एमाले नेता कार्यकर्ताले भने- पार्टी अध्यक्षले पहिलो महिला प्रधानमन्त्री भनेको तपाईँलाई नै हो, पार्टी नेतृत्वमा फर्किनुस्
पोखरा । पुस पहिलो साता हुने ‘फेवा डाइलग’ र स्याङ्जाको एक कार्यक्रममा सहभागी हुन आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक साता पोखरामा बिताइन् । पुस २ गते पोखरा आएकी उनी ८ गते मात्र काठमाडौं फर्किइन् ।
पूर्वराष्ट्रपति भण्डारी विशेष गरी त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयको आयोजनामा पुस ४ गते भएको कार्यक्रममा सहभागी हुन पोखरा आएकी थिइन् । तर, उनले अधिकांश समय एमाले नेता कार्यकर्तासँग भेटघाट अन्तर संवादमा बिताइन् ।
नेतासँग वान टु वान, कार्यकर्तासँग सामूहिक भेट
उनले पहिलो दिन पोखराको पुम्दिकोटमा रहेको भूमेश्वर महादेवको मन्दिर दर्शन गरिन् । त्यहाँ उनलाई एमाले नेता कार्यकर्ताले न्यानो स्वागत गरे । उनी त्यहाँबाट फर्किइन् । सोही दिन एमाले गण्डकीका इन्चार्ज किरण गुरुङसँग ‘वान टु वान’ भेटवार्ता गरिन् । त्यसबाहेक पनि उनले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग कुराकानी गरिन् ।
दोस्रो दिन पनि उनको भेटघाट बाक्लो रह्यो । उनले कास्कीका महिला जनप्रतिनिधिसँग भेटघाट गरिन् । त्यो भेटघाटको चाँजोपाँजो पूर्व राष्ट्रपति भण्डारीकी मितिनी समेत रहेकी पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङसहितले मिलाएका थिए ।
‘कास्कीका सबै पालिकाका उपमेयरसहित महिला जनप्रतिनिधिलाई बोलाएका हौँ,’ पोखराकी उपमेयर गुरुङले भनिन्, ‘कोही आउनुभयो कोही आउनुभएन । त्यस्तो केही भएन । भेटघाट मात्र भएको हो ।’
सोही दिन उनी एमाले निकट अखिल नेपाल महिला संघ गण्डकी प्रदेशको कार्यक्रममा सहभागी भइन् । उक्त कार्यक्रममा उनलाई सहभागीले ‘पार्टी अध्यक्षले पहिलो महिला प्रधानमन्त्री भन्नुभएको हजुरलाई नै हो’ भन्ने जस्ता कुराहरू राखेका थिए ।
जवाफमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीले जहाँ पठाए त्यही जाने बताएकी थिइन् । नेता तथा कार्यकर्ताले भण्डारीलाई ‘तपाईँ नै हाम्रो नेता’ भनिरहेका थिए । उनीहरूले भण्डारीलाई पार्टी नेतृत्वमा फर्किन आग्रह गरेका थिए । उक्त कार्यक्रममा भण्डारीले महिलाको क्षमता अभिवृद्धिका लागि प्रेरणा प्रदान गरेको अनेम गण्डकीकी कोषाध्यक्ष अन्जु क्षेत्रीले जानकारी दिइन् ।
‘उहाँले महिलाको क्षमता अभिवृद्धिका लागि प्रेरणा प्रदान गर्नुभयो । पार्टी नेतृत्वको कुरामा उहाँले आवश्यकता ठानेको खण्डमा आउने सक्ने भन्नुभयो,’ उनले भनिन् । भण्डारी राष्ट्रपति हुनुभन्दा पहिले अनेमसंघको अध्यक्ष समेत थिइन् ।
तेस्रो दिन उनी मुख्य कार्यक्रम फेवा डाइगलमा सहभागी भइन् । त्यस दिन पनि उनले विभिन्न नेता तथा कार्यकर्तासँग भेटघाट गरिन् । चौथो दिन उनी स्याङ्जाको अलामदेवी मन्दिरमा दर्शन गर्न पुगिन् ।
उनीसहित पूर्वमन्त्री तथा एमाले सचिव पद्मा अर्याल र गण्डकीका मन्त्री प्रकाशबहादुर केसी पनि सहभागी थिए । उनलाई कालिगण्डकी गाउँपालिकाले बाजासहित भव्य स्वागत गरेको थियो । स्याङ्जाकै फेदिखोल, पुलजीबजार, भिरकोट, वालिङ, गल्याङ, कालिगण्डकीका विभिन्न स्थानमा स्थानीय तथा कार्यकर्ताले पूर्वराष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरेका थिए । उनले स्थानीय नेता कार्यकर्तासँग भेटघाट गरिन् ।
पार्टी ठिक ढंगले अघि बढेन, राजनीतिमा फर्किन सकिन्छ
पाँचौं दिन पुस ६ गते उनी स्याङ्जाकै सालमे डाडामा रहेको गोर्खा स्मारकको निरीक्षणमा पुगिन् । त्यहाँ पनि उनले स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र साक्षात्कार गरिन् । छैटौँ दिन उनी सराङकोटमा रहेको शिव मन्दिर र पञ्चमुखी मन्दिर दर्शन र अवलोकन गरिन् । सराङकोटमा पनि उनले नेता कार्यकर्तासँग भेटघाट गरिन् । त्यसपछि उनी पुस ८ गते काठमाडौं फर्किइन् ।
‘पोखरा अलि धेरै मन पराउने भएकाले आउनुभएको हो । विशेष गरी ३ वटा कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । उहाँ विशुद्ध धार्मिकस्थलमा सहभागी हुनुभयो । भेट्न इच्छा राख्ने नेता कार्यकर्तासँग भेटघाट पनि गर्नुभयो,’ पूर्वराष्ट्रपतिकी मितिनीसमेत रहेकी पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले भनिन् ।
यो बीचमा उनले संघीय सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारी, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, कास्की जिल्लाका नेता तथा एमाले मन्त्री बनेका नेता, सांसद लगायत एक दर्जन भन्दा बढी नेतासँग वानटुवान तथा समूहमा भेटघाट गरिन् ।
एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले पूर्वराष्ट्रपति र पार्टीको पूर्व नेताको रूपमा नेता कार्यकर्तासँग भेटघाट भएको बताए । भेटघाटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले पार्टीका क्रियाकलापप्रति असन्तुष्टि व्यक्त गरेको इन्चार्ज थापाले बताए ।
थापाले भने, ‘उहाँले पूर्वराष्ट्रपति र पार्टीको पूर्व नेताको रूपमा नेता कार्यकर्तासँग भेटघाट गर्नुभयो । जुन ढंगले पार्टी अगाडि बढ्नुपर्ने हो । त्यो भएको छैन भनेर भन्नुभयो । चौतर्फी नकारात्मक कुरा छ । नेता कार्यकर्ताको स्वार्थका कारण पार्टीमा समस्या छ भन्नुभयो ।’
पार्टीको नेतृत्वमा जाने कुरामा चाहिँ पार्टीले जे भन्छ त्यहीँ गर्ने एमालेकी पूर्व उपाध्यक्ष भण्डारीको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै कास्की इन्चार्ज थापाले भने, ‘पार्टीले सांसदमा उठायो,जनतले जिताए । पार्टीले पठाएर २ पटक मन्त्री भइयो । राष्ट्रपतिमा रुचि नराखे पनि पार्टीले भनेर गएँ । अब पनि पार्टीले जे भन्छ त्यही गर्छु ।’
उनी सहभागी भएको अधिकांश कार्यक्रममा बाक्लो मात्रामा नेता कार्यकर्ताको उपस्थिति थियो । कार्यकर्ताले भण्डारीलाई न्यानो स्वागत गरेका थिए ।
मार्क्सबादी हरूलाइ मन्दिर किन छिर्न दिएको ? एउटै ब्यक्ति मार्क्सबादी र हिन्दु हुनै सक्दैन, दुइटामा एउटा मात्रै हुन सक्छ। मार्क्सबादीहरू बहिष्कार गर्न सम्पूर्ण हिन्दू हरूमा अनुरोध छ।