कपिलवस्तुको वाणगंगा, जुम्लाको सिंजा र पर्साको पोखरीमा मालपोत र नापीको एकीकृत सेवा थपिने – Nepal Press

कपिलवस्तुको वाणगंगा, जुम्लाको सिंजा र पर्साको पोखरीमा मालपोत र नापीको एकीकृत सेवा थपिने

काठमाडौं । कपिलवस्तुका वाणगंगा, जुम्लाको सिंजा र पर्साको पोखरीमा मालपोत र नापीको एकीकृत सेवा कार्यालय स्थापना गर्ने निर्णय सरकारले गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको पुस ९ गतेको बैठकले उक्त निर्णय गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बजेट बनाउँदा कपिलवस्तु लगायतका स्थानमा मालपोत र नापीको एकीकृत सेवा कार्यालय स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको बताएका छन्। सोही अनुसार गत असोजमै मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेर मालपोत र नापीको एकीकृत सेवा कार्यालय स्थापना गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्ताव पेश गरेको भए पनि अर्थ मन्त्रालयले विस्तृत संगठन ढाँचासहितको प्रस्ताव पेश गर्न भन्दै सहमति नदिएपछि निर्णय हुन सकेको थिएन ।

यता मन्त्री अधिकारीले अर्थ मन्त्रालयको परम्परागत काम गर्ने शैलीका कारण बजेटमा व्यवस्था भएको काम समेत हुन नसकेको भन्दै ध्यानाकर्षण गराएसँगै प्रधानमन्त्रीको कडा निर्देशनपश्चात् यसै हप्तामा सबैप्रकृया पूरा गरी उक्त निर्णय हुन सफल भएको हो । यसैबीच नयाँ स्थापना हुने ३ कार्यालयमध्ये सबैभन्दा पहिला पर्साको पोखरीयामा उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री यही पुसको दोस्रो हप्ता पोखरिया जाने कार्यक्रम तय भएकोले सोही क्रममा सो कार्यालय समुद्घाटन हुनसक्ने भूमि व्यवस्था मन्त्री अधिकारीले बताए ।

बाणगंगाको कार्यालय पुस महिनाभित्रै उद्घाटन गर्ने तयारी गरेको मन्त्रालयले जुम्लाको कार्यालय भने फागुनमा मात्र उद्घाटन हुनसक्ने मन्त्रीका प्रमुख स्वकीय सचिव भेषराज पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार मालपोत र नापीको एकीकृत सेवा कार्यालय स्थापना मालपोत र नापीलाई क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्ने संविधानको भावनाअनुसार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर