गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा पुनः एजाज आलम
रुपन्देही । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको चौथो अधिवेशनबाट पुनः एजाज आलमको नेतृत्वको सबै टीम सर्वसम्मत भएको छ ।
समितिको सदस्यहरुमा राजेन्द्रसिंह गुरुङ, हामराज बस्याल, बाबुराम बोहोरा, दिनेश रेग्मी, हिरामणि भट्टराई, बोनिन पिया, शिवकुमार पाठक, खिखनारायण पराजुली, उपेन्द्रकुमार अग्रवाल, रुद्र हमाल, तिलप्रसाद भट्टराई, रेनुका खरेल, बनिका भट्टराई निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा लोकनाथ पाण्डे र सदस्यहरुमा रविलाल पोखरेल, मणिरत्न पाण्डे निर्विरोध भएका हुन् । संचालक समितिमा अध्यक्ष बाहेक अन्य पदहरु कार्यसमितिको बैठकले चयन गर्ने गर्दछ ।
अस्पतालमा संरक्षक संस्था रुपन्देही उद्योग संघको तर्फबाट पदेन उपाध्यक्ष र रोटरी क्लब बुटवल, साउथ, बुटवल डाउनटाउन, सेन्ट्रल बुटवलका एक एक जना पदेन सदस्यहरु यसको संचालकमा ती संस्थाको तर्फबाट सहभागिता हुने गर्दछन् ।
गौतबुद्ध सामुदायिक मुटु अस्पतालले मनायो स्थापना दिवस
गौतबुद्ध सामुदायिक मुटु अस्पतालले १२औं स्थापना दिवस मनाएको छ । सो अवसरमा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आफ्नो स्वास्थ्यका हरेक नागरिक सचेत हुनुपर्ने बताएका छन् । उनले सरकारमा बस्नेहरूले पनि नागरिकको स्वास्थ्यबारे सोच्नु पर्ने बताए ।
प्रदेश प्रमुख घर्तीले अहिले सरकारलाई काम गर्न सहज परिस्थिति रहेको भन्दै बोलीमा मात्रै नभई व्यवहारिक रुपमा काम गर्न जोड दिए । यस्तै, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्यका क्षेत्रमा प्रदेश सरकारले खेलेका भूमिकाका बारेमा चर्चा गरेका थिए । अस्पतालका अध्यक्ष एजाज आलमले मुटु अस्पतालको स्थापना तथा यसले खेलेको भूमिकाको बारेमा चर्चा गरे ।
उनले मुटु अस्पतालको सेवा विस्तार गर्न जग्गा प्राप्ति तथा भवन निर्माणमा सहयोगको खाचो रहेको धारणा राखेका थिए । हाल भाडाको घरमा सञ्चालन हुँदै आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका लागि तिलोत्तमामा प्राप्त हुने जग्गामा अस्पतालको भवन बनाउने र सेवाको गुणस्तर बढाउने गरी विकास गर्ने योजना उनले प्रस्तुत गरे ।
१० पुस ०७० मा अस्पताल स्थापना हँुदा एकजना मुटुरोग विशेषज्ञसहित ६ जना चिकित्सकसहित ४५ जना कर्मचारी थिए । अस्पतालमा हाल वरिष्ठ मुटुरोग विशेषज्ञ पाँच, मुटुरोग विशेषज्ञ एक, मिर्गौला रोग विशेषज्ञ एक, जनरल फिजिसियन दुई, एमडी रेडियोलोजिष्ट एक, एमडी क्रिटिकल केयर एक, मेडिकल अफिसर १६ जना, दाङको लमहीमा १२, पाल्पाको तानसेनमा १२, स्याङ्जाको वालिङमा ११ र कपिलवस्तुको चार नम्बरमा ११ सहित ३०३ जना कर्मचारीबाट सेवा प्रदान गर्दै आएको संस्थाका सचिव दिनेशराज रेग्मीले बताए ।
स्थापना दिवसमा १० वर्ष काम गरेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।