चुरे समितिमा अदालतले अयोग्य घोषित गरेका भेषराज एमालेबाट पनि निलम्बित, यस्तो छ कारण
काठमाडौं । उच्च अदालत पाटनबाट राष्ट्रपति चुरे मधेश संरक्षण विकास समिति सदस्य पदमा रहन अयोग्य ठहर भएका भेषराज आचार्यलाई नेकपा एमालेले समेत एक वर्षका लागि निलम्बन गरेको पाइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै लामो समयदेखि आर्थिक र नैतिक विचलनयुक्त गतिविधि गरेको भन्दै आचार्यविरुद्ध उजुरी परेको थियो । संगठन विभागले छानविन गर्दा उनका गतिविधि र आचरण पार्टी र विद्यमान ऐन कानूनविपरित रहेको ठहर भएको थियो ।
कपिलवस्तु घर भएका आचार्य २०७७ सालमा चुरे विकास समितिको सदस्य नियुक्त भएका थिए । प्रधानमन्त्री ओलीको वरिपरि हिँडिरहने आचार्यको बारेमा नेतृत्वले वास्तविकता नबुझी नियुक्ति दिँदा क्षति भएको भन्दै कपिलवस्तुका नेताहरुले ध्यानाकर्षण गराएका थिए ।
आकर्षक तलब,गाडीसहितको सुविधा पाइने विकास समिति सदस्य भएपछि आचार्यले कर्मचारीसँग खुलेआम ‘मलाई त बाले कमाउन पठाउनु भएको हो’ भन्दै घुसको बार्गेनिङ गर्न थाले । अध्यक्ष किरण पौडेलले उनलाई आचरणमा राख्न खोज्दा पटकपटक मार्ने धम्की दिएको अडियो एमाले नेतृत्वसम्म पुग्यो ।
पछिल्लोपटक कात्तिक महिनामा अध्यक्ष पौडेलको कार्यकक्षमा पसेर कठालो समाउँदै ‘तेरो खुट्टा काटेर मार्दिन्छु,म यहाँ कमाउन आएको हुँ,मलाई कमाउन नदिने हो भने तँलाई मार्दिन्छु’ भनेको अडिओ प्रहरी प्रशासनमा समेत पुगेर केस चलेको थियो ।
उनलाई पार्टीका नेताहरुले आचरण सुधार्न आग्रह गर्दा उल्टै अश्लिल गालिगलौज गर्ने र आफूले ‘ओली बा’ बाहेक अरुलाई नमान्ने जवाफ दिने गरेका थिए । आचार्यले अश्लिल गागिलौज र अध्यक्ष किरण पौडेललाई मार्ने धम्की दिएको अडिओ प्रधानमन्त्री ओलीसम्म पुगेपछि कारवाही गर्न निर्देशन दिएको बताइएको छ ।
यसबीचमा विकास समितिका सदस्य शशीकुमार शर्मा र भेषराज आचार्यले एकले अर्कोविरुद्ध योग्यता नपुगेको रिट लिएर अदालत पुगेका थिए । उच्च अदालत पाटनले पुस ३ गते दुवैको रिट लगाउमा राखेर हेर्दै दुवैजना सदस्य बन्न अयोग्य रहेको ठहर गरेपछि उनीहरु स्वतः पदमुक्त भएका छन् ।
यसअघि नै एमालेले आचार्यलाई भने पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्बन गरिसकेको संगठन विभागले जनाएको छ । उनलाई आवश्यक छानविनपछि गत कात्तिक महिनादेखि नै निलम्बन गरिएको विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।
सारै सन्किएको थियो यो केटो। कस्ता कस्ताले नियुक्ति कसरि पाउने रहेछन् यो ठूलो चूनौतिको कुरा भएको छ। बल्ल यसको आनिबानि चरित्र बुझिएछ। ढिलै भए पनि सहि निर्णय भएको छ। कपिलवस्तुको एमाले पार्टीले बल्ल थाहा पाएको हो कि।