कञ्चनपुरमा माओवादीले खबरदारी सभा गर्दै, प्रचण्डले सम्बोधन गर्ने
कैलाली । नेकपा माओवादी केन्द्रले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रले बिहीबार पत्रकार सम्मेलन गर्दै कञ्चनपुरको पुनर्वास टाउन बजारमा १३ गते सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध व्यापक जनदबाब दिनेगरि खबरदारी सभा गर्न लागेको जनाएको हो।
सभालाई पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने उपमहासचिव एवम् सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए ।
‘सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आबद्ध व्यक्तिहरुलाई छानाछानी षड्यन्त्रपूर्वक विभिन्न खालका मुद्दा चलाइरहेको छ । सत्तापक्षका गलत कर्तुत ढाकछोप गर्ने प्रयास भइरहेको छ’ पोखरेलले भने, ‘खबरदारी सभामार्फत नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितिको भण्डाफोर गरिने छ ।’
माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाईलाई माओवादीले शक्ति प्रदर्शनका रुपमा लिएको छ । उक्त सभामा २० हजारभन्दा बढी कार्यकर्ता उर्ताने माओवादीको दाबी छ ।
उक्त कार्यक्रममा ठूलो संख्यामा पार्टी प्रवेश तथा समायोजनको कार्यक्रम पनि राखिएको प्रदेश सभा सदस्य समेत रहेका प्रचार तथा प्रकाशन विभाग प्रमुख ओम विक्रम भाट सरलले जानकारी दिए ।
‘सरकारमा रहँदा हाम्रो पार्टीले भ्रष्टाचारको विरुद्धमा लिएका कदमहरू त सबै जनाले थाहा पाउनु भएको छ ,अहिलेको सरकार आफै भ्रष्टाचारमा डुबेको छ ’ उनले भने ‘एमाले कांग्रेसबाट दिक्क भएका धेरै १३ गते माओवादी प्रवेश गर्न कार्यक्रम पनि रहेको छ । ’
खबरदारी चाहिँ सुन तस्कर आफ्नै नेता विरूद्व गर ।