यी हुन् मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय (सूचीसहित)
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सरकारले सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णय अनुसार सम्पत्ति सुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रमसंख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्जुअल मुद्रा प्रयोग, अनुचित लेनदेन खलेमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसुर तोक्ने निर्णय गरेको छ भने पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषद् बैठकले दिएका छ ।
सहकारीसम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ भने राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा शान्तीकुमारी चौधरी, आन्दकुमार झा, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्लाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लािग नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गरेको छ भने शिक्षक सेवा आयोगको एक जना महिलासहित २ जना सदस्यको नियुक्तिका लागि सिफारिस गर्न लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको सिफारिस समिति गठन गरेको छ ।