लुम्बिनी र पर्यटन प्रवर्द्धन गर्न २४ किमी बौद्ध संचार यात्रा
रुपन्देही । भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रवर्द्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो १० औं स्थापना दिवसको अवसरमा बिहीबार भैरहवाको लुम्बिनी गेटदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म संचार यात्रा गरेको हो ।
‘पर्यटनका लागि शान्ति, शान्तिका लागि संचार यात्रा’ नारासहित गरिएको दोस्रो बौद्ध संचार यात्राले लुम्बिनी क्षेत्रमा नयाँ उत्साह थपेको विश्वास गरिएको छ । भिक्षुभिक्षुणी, लामा, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, नेपाली सेना, प्रहरी, सशस्त्र र सर्वसाधारण गरी एक सय बढी पदयात्रामा सहभागी भए । ठाउँठाउँमा स्थानीय र पर्यटन व्यवसायीले स्वागत गरे ।
सहभागीहरु बुद्ध धुनको गुन्जनसँग पद यात्रा गर्न पाउँदा निकै हर्षित भए । खासगरी शान्ति, अहिंसा र पंचशीलको सन्देश विश्वमाझ फैलाउने र बुद्ध जन्स्थल लुम्बिनी, पर्यटन क्षेत्र र संचारलाई सँगैसँगै अगाडि बढाउँदा लाभ उठाउन सकिन्छ भन्ने उद्देश्य दिन संचार यात्रा गरिएको प्रेस क्लबका अध्यक्ष कमल रायमाझी बताए ।
‘लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिने र शान्तिका अनुयायीलाई लुम्बिनी आउन र पदयात्रा गर्न प्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म दोस्रो बौद्ध संचार यात्रा गरिएको हो’, उनले भने, ‘यसले पर्यटकीय विकास र लुम्बिनीको प्रबद्र्धनका लागि संचारले महत्वपूर्ण योगदान गर्न सक्छ भन्ने सन्देश दिएको छ ।’
बौद्ध संचार यात्राले स्थानीय, प्रदेश, राष्ट्रियस्तरमा मात्रै नभई विश्वमाझ शान्तिको सन्देश फैलाउन र पर्यटन पबद्र्धनमा टेवा पुगेको उनले बताए ।
‘लुम्बिनी आएर पदयात्रा गर्ने स्वदेशी–विदेशी धेरै हुन्छन् । तर, संचार क्षेत्रको अगुवाईमा निरन्तर दुई वर्षयता भइरहेको पदयात्राले भने नयाँ सन्देश प्रवाह गरेको बुझाई हाम्रो छ’, उनले भने, ‘पत्रकारहरुले सधैं कापीकलम र क्यामेरा बोकेर खबर खोज्न हिँड्ने मात्रै होइन्, शान्तिको सन्देश फैलाउन, पर्यटन क्षेत्रलाई माथि उठाउन र लुम्बिनीको प्रबद्र्धनमा समेत टेवा दिन सक्छन् भन्ने सन्देश पनि संचार यात्राले दिएको छ ।’
विश्वमा मानिसहरुमा शान्ति, करुणा र मानवता हराउँदै गएको अवस्थामा कलमजीविहरुले पनि समाजमा सकरात्मक उर्जा दिनका लागि यात्रा गरिएको अध्यक्ष रायमाझीले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भैरहवादेखि बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको यात्राले सकरात्मक उर्जा पैदा गरेको बताए । पैदलयात्रा गरेर लुम्बिनी पुगेका प्रमुख जिल्ला अधिकारी घिमिरेले २४ किमिको दुरीको यात्राले शरीर थाके पनि मनमा थप उर्जा पैदा भएको बताए ।
‘पदयात्राले सकारात्मक उर्जासँगै बुद्धजन्मस्थल लुम्बिनीका बारेमा प्रचार–प्रसार गर्न मद्दत गरेको छ’, उनले भने । सञ्चार यात्रा गर्दा दुःखकष्ट भए पनि मायादेवी मन्दिर प्रवेश गर्दा आध्यात्मिक ऊर्जा पलाएर गजबको शान्तिको अनुभूतिले सबै दुःख पीडा हराएर गएको उनले जनाए । संचारकर्मीको संस्थाले यस्तो कार्यक्रम गर्नु आफैमा उत्कृष्ट र सह्रानीय भएको उनले बताए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले गृहत्याग गरेदेखि हिँडेर जीवन विताएको उल्लेख गर्दै त्यहीबेलाको सन्देश बोकेर सञ्चारकर्मीहरुले पैदलयात्रा गरेकोमा धन्यवाद दिए । उनले बौद्ध सञ्चार यात्राले लुम्बिनी र शान्तिको सन्देशबारे सकरात्मक सन्देश दिएको समेत बताए ।
बिहान ७ः२० मा भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा १२ः०५ मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । यो बीचमा ठाउँठाउँमा पदयात्राीले स्थानीय, पर्यटन व्यवसायीले स्वागत गरेका थिए । मायादेवी मन्दिरमा सहभागीलाई भिक्षु श्रीबजिरले १० मिनेट ध्यान गराएका थिए ।
महाराज शुद्धोधनका गुरु अतिशकाल देवल नवजात शिशु सिद्धार्थ बोधीसत्वलाई हेर्न आउँदा शिशु सिद्धार्थ महान गुरु बन्ने भविष्यवाणी गरेका थिए । उनै महान गुरुप्रति समर्पित भई अतिशकाल देवलले आफ्ना भान्जा नालकलाई प्रवज्जित (भिक्षु बनाएका) थिए ।
उनै भिक्षु नालक आजीवन पैदल यात्रा गर्दै धम्मदेशना गरेकाले पैदल यात्रा महत्वपूर्ण रहेको कुरा सूत्र पिटकको सुत्त निकायमा उल्लेख गरिएको छ । यसैले पनि पदयात्रा गर्न बौद्ध संचार यात्रा गरिएको हो ।
लुम्बिनी पुगेका सञ्चारकर्मी लगायतको टिमलाई लुम्बिनी विकास कोषका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे । उक्त अवसरमा प्रेस क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपक घिमिरे, महासचिव प्रकाश न्यौपाने लगायतले बोल्दै सधैं कापी–कलम र क्यामेरा बोकेर सूचना लिन जानेमात्र नभई लुम्बिनीबाट आध्यात्मिक ऊर्जा प्रदान गरेर पर्यटन प्रवद्र्धनमा जुटेको बताए ।
बुद्दले हिडेरै मात्र प्रचार गरेकी बयलगाडा पनि प्रयोग गरे कसरी थाहा पाउनु भो?