हेटौँडा फायरिङ प्रकरण : खाग किन्ने ग्राहक बनेर तस्कर पछ्याएको थियो निकुञ्ज टोलीले – Nepal Press

हेटौँडा फायरिङ प्रकरण : खाग किन्ने ग्राहक बनेर तस्कर पछ्याएको थियो निकुञ्ज टोलीले

चितवन । वन्यजन्तुका तस्करको फलो गरिरहेको सुरक्षाकर्मीसहितको चितवन राष्ट्रिय निकुञ्जको टोलीले आज मकवानपुरको हेटौँडा ८, गर्दई क्षेत्रमा पाँच राउण्ड हवाइ फाइरिङ गरेर एक तस्करलाई नियन्त्रणमा लिएको छ ।

घटना हेर्दा तस्करसँग निकुञ्ज टोलीको जम्काभेटपछिको भीडन्त जस्तो देखिएपनि योजनावद्ध रुपमा गैँडाको खाग किन्ने ग्राहक बनेर फलो गरेको निकुञ्ज टोलीले तस्कर नियन्त्रणमा लिने प्रयास गर्दा हवाइ फाइरिङ गर्नुपरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार केही दिनअघि नै गैैँडाको खाग बोकेर बिक्रीको मोलमोलाइ गरेका तस्करको समूहबारे सुराक पाएको थियो । सूराकीले दिएको सोही सूचनाको आधारमा निकुञ्जले अधिकृतको नेतृत्वमा सूरक्षाकर्मीसहितको टोली निर्माण गर्यो ।

तर, निकुञ्जको कर्मचारीको पहिचानसहित फलो गर्न संभव थिएन । त्यसैले हामीले ग्राहकको नाटक गर्नुपर्यो, प्रमुख संरक्षण अधिकृत पन्तले नेपाल प्रेससँग भने ।

ग्राहक बनेका निकुञ्जको टोलीलाई तस्कर भेट्न सहज भने भएन । खाग बिक्रीमा हिँडेका तस्कर ठूलो समुहमा थिए । उनीहरुले पनि प्रशासनले थाहा पाउँछन् कि भनेर ठाउँ ठाउँमा सुराक खटाएका हुन्छन् । त्यसैले एकैपटकमा खाग बिक्रीका लागि यहाँ आउँछौ भनेनन् ।

तीन दिनयता भने निकुञ्जको १२ जनाको टोली तस्कर फलो गर्न निस्किए । सुरुको दिन तस्करले खाग किन्न पथलैया बोलाए । टोली त्यही गयो । तर, उनीहरु आएनन् । त्यसपछि फेरि चितवन नै बोलाउँ भन्ने सल्लाह भयो । सोही आधारमा चितवन आउने भने । हिजो बुधबार चितवन आउने भनेपनि उनीहरु चितवन पनि आएनन् ।

अन्ततः मकवानपुरको हेटौँडा उपमहानगरपालिका ८, मा रहेको गर्दई क्षेत्रमा पुगेपछि तस्करले पत्तो पाए कि, ग्राहक नभएर निकुञ्जका कर्मचारी आफूहरुलाई नियन्त्रणमा लिने प्रयासमा रहेछन् ।

तर, एकजना मात्रै नभएर ८/१० जनाको संख्यामा तस्कर समूह भएपछि सहज तरिकाले नियन्त्रणमा लिन संभव भएन । प्रमुख संरक्षण अधिकृत पन्तले भने, ‘उनीहरु ठूलो संख्यामा रहेछन् । हाम्रो टोलीले सजिलै नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हवाइ फायरिङ गर्नुपर्यो ।’

निकुञ्जको टोलीले पाँच राउण्ड हवाइ फायरिङ गरेर एक जनालाई मात्रै नियन्त्रणमा लिन सफल भयो । तर, निकुञ्ज प्रशासनका अनुसार एक जनालाई नियन्त्रणमा लिन सफल भएपनि ति व्यक्ति मूल व्यक्ति भएको प्रारम्भिक जानकारी आएको छ ।

नियन्त्रणमा लिएका व्यक्तिलाई निकुञ्जको हिरासतमा राखिएको छ । उनको साथबाट गैँडाको खाग एक थान बरामद गरिएको छ । भने एक थान उनले चलाउने मोबाइल फोन समातिएको निकुञ्जका संरक्षण अधिकृत दिनेश श्रेष्ठले विज्ञप्ति जारी गरि जनाएका छन् ।

खाग जस्तो वस्तु बरामद गरिएपनि परीक्षण भने गर्न बाँकी रहेको जनाइएको छ । पक्राउ परेको ४० वर्षका पुरुष व्यक्तिको पहिचान भने निकुञ्ज प्रशासनले खुलाएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर