ऋणको ब्याज बुझाउँदै आएका रामचन्द्रको घरजग्गा कृषि विकास बैंकले लिलाम गरिदिएपछि… – Nepal Press

ऋणको ब्याज बुझाउँदै आएका रामचन्द्रको घरजग्गा कृषि विकास बैंकले लिलाम गरिदिएपछि…

जनकपुरधाम । सिरहाको लहानस्थित कृषि विकास बैंकको चरम लापरबाही बाहिरिएको छ । ऋणको ब्याज मासिक रूपमा बुझाउँदै आएका एक सेवाग्राहीको घरजग्गा बैंकले लिलाम गरेको रहस्य खुलेको हो ।

बैंकबाट लहान नगरपालिका २२ सिसवनी घर भई सोही पालिकाको वडा २ मा बस्दै आएका रामचन्द्र यादवले ०७७ फाल्गुन १५ मा ३० लाख रुपैयाँ ऋण लिएका थिए ।

ऋण लिएबापत धरौटीको रूपमा बैंकले उनको नाममा रहेको लहानकै कित्ता नम्बर ४६९ को ७.२५ धुर जग्गा र उक्त जग्गामा बनेको १२ कोठे दुई तल्ले घर मालपोत कार्यालयबाट रोक्का गराएको थियो ।

ऋणको ब्याज उनले बैंकमा मासिक रूपमा बैंकमा बुझाउँदै आएका छन् । हालसम्म उनले १९ लाख ९२ हजार ७७३ रुपैयाँ ०९ पैसा ब्याज बैंकलाई बुझाएका हुन् । तर उनलाई जानकारी नै नगराई बैंकले उनको घरजग्गा गुपचुप रूपमा लिलाम गरेको पाइएको छ ।

उक्त जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । जग्गाको १ करोड ४५ लाख र घरको ५० लाख गरी १ करोड ९५ लाख रुपैयाँ घरजग्गाको अहिलेको चलनचल्ती मूल्य रहेको उनको दाबी छ । तर बैंकले उक्त घरजग्गा मात्र ३५ लाख रुपैयाँमा डाक लिलाम गरेको हो ।

बैंक स्रोतका अनुसार रामचन्द्रको घरजग्गा सुनसरीको भोकराहा ३ की ४६ वर्षीया तारा कुमारी रौनियारले डाक लिलाम थामेकी हुन् । रौनियारको नाममा घरजग्गा रजिस्ट्रेसन पास गर्दा बैंकले आवश्यक प्रक्रिया समेत पुरा नगरेको देखिएको छ ।

पीडित ऋणी रामचन्द्र भन्छन्, ‘म मासिक रूपमा बैंकमा किस्ता बुझाउँदै आए । तर मलाई समेत जानकारी नदिई झण्डै २ करोडको मेरो घरजग्गा बैंकले कौडीको भाउमा लिलाम गरेको छ । ममाथि ठूलो अन्याय गर्‍यो ।’ घरजग्गा लिलाम गरिसकेको अवस्थामा समेत बैंकले ऋण रकमको ब्याज बुझेको उनको दाबी छ ।

घरजग्गा कौडीको दरमा लिलाम गरी बैंकले आफूलाई सडकमा ल्याउने र आत्महत्या गर्न बाध्य बनाउन खोजेको पीडित ऋणी रामचन्द्रको गुनासो छ । आफूमाथि अन्यायमा परेको भन्दै उनले न्यायका लागि पुस १० मा विज्ञप्ति जारी गरेका थिए ।

उनले भनेका छन्, ‘ऋणको ब्याज बुझाएकै छु । यद्यपि बैंकले लिलाम गरेको मूल्य अहिले पनि म तिर्न तयार छु । तर मेरो घरजग्गा फिर्ता गरिदियोस् । यदि फिर्ता नगरेमा मेरो घरपरिवारमा हुने नोक्सानीको सम्पूर्ण जिम्मेवारी बैंकले लिनुपर्छ ।’

उनले बैंकमै पुगेर डाक लिलाम गरेको घरजग्गा फिर्ता नगरे आत्महत्या गर्ने चेतावनी समेत दिएका थिए । तर बैंकले बेवास्ता गरेपछि बिहीबार उनले परिवार र आफन्तको सहयोगमा बैंकमा तालाबन्दी गरे । जसका कारण बिहीबार दिनभर बैंक ठप्प रह्यो ।

बैंकमा पीडित ऋणीको परिवारले तालाबन्दी गरेपछि बिहीबार साँझ उद्योग वाणिज्य संघ लहानका प्रतिनिधिको उपस्थितिमा दुई पक्षबीच वार्ता भयो ।

उक्त वार्तामा बैंकले डाक लिलाम थामेकी रौनियारको जग्गा तत्कालै रोक्का गरी ऋणी रामचन्द्रको नाममा ल्याउने प्रक्रिया अगाडि बढाउने सहमति भएको उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारडाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर