कारबाहीबारे शंकरको जवाफ- रावल आफैले एमाले छाडेका हुन्, अरू दुई नेतृलाई भविष्यको लागि सचेत मात्र गराइएको (भिडिओ) – Nepal Press

कारबाहीबारे शंकरको जवाफ- रावल आफैले एमाले छाडेका हुन्, अरू दुई नेतृलाई भविष्यको लागि सचेत मात्र गराइएको (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताएका छन् ।

शुक्रवार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताए । पार्टी कार्यकर्ताले पार्टीका आधारभूत नम्सहरुलाई मान्नु पर्ने बताउँदै पोखरेलले रावल त्यस भित्र टिक्न नसक्नु भएको बताए ।

चितवन अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेपछि पनि रावल पराजित हुनुभएको पोखरेलले प्रष्ट पारे ।

महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकारमा मनोनीत गर्ने नीतिगत निर्णय पार्टीले गरेको भए पनि उनले त्यसलाई स्वीकार नगरेको उनले बताए ।

सल्लाहकार नभएर बाहिर बसेर पार्टीको पक्षमा काम गर्न सकिने भए पनि रावल हरेक समय पार्टीको विषमा उभिएको पोखरेलको भनाइ छ ।

‘हरेक पार्टीका निर्णय र नीतिका विपक्षमा क्याम्पियन चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ’, उनले भने ।

एमाले विकल्प दिन सबैलाई कानुन र संविधानले अनुमति दिएको बताउँदै उनले तर एमाले हो भने एमालेको विधि विधान र अनुशासनमा बस्नु पर्ने उनले प्रष्ट पारे । संसद् भित्रको संसदीय ह्विप उलङ्घन गरेकै दिनबाट भीम रावलले एमाले छाडि सक्नु भएको पोखरेलले बताए । तथापि एमालेले उनलाई सुध्रिने अवसर दिएको भए पनि उनले नसुध्रिएको पोखरेलको धारणा छ ।

रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने भए पनि आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलले बताए । ‘आफू जिम्मेवारीमा रहँदा जङ्गी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’, पोखरेलले प्रश्न गरे ।

पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गर्नुभएको पोखरेलले बताए । त्यसको अर्थ उनले पार्टी छाडिसकेको पोखरेलले स्पष्ट पाए ।

अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने उनीहरूलाई सचेत गराइएको मात्र उनले स्पष्ट पारे । निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनीहरूको पार्टी भित्रै प्रभाकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर