१८ पाङ्ग्रे मालबाहक लरीबाटै खाडीको फन्को मारिरहेका नेपाली चालकहरु – Nepal Press

१८ पाङ्ग्रे मालबाहक लरीबाटै खाडीको फन्को मारिरहेका नेपाली चालकहरु

आबुधावी । नेपाली चालकहरुले बालुवा, तेल, मेसिनरी तथा राहत सामग्री राखे खाडीका १० लेनसम्मका व्यस्त सडकमा १८ पाङ्ग्रा लरी हुइँक्याइरहेका छन् ।

‘सडकमै लरी, लरीमै बास
यही पकाउँछौं, यही सुत्छौं
कत्तिको गयो सडकमै सास ।’

साउदी सरकारको राहत सामग्री लरीमा बोकेर युद्धग्रस्त यमन हिंडेका नवलपरासीको बर्दघाट- १ का ३३ वर्षीय दीपेन्द्र विकको ज्यान गएको घटना स्मरण गर्दै तेह्रथुमका रामकुमार ल्वागुनले आबुधाबीका सडकमा चालकहरुको कथा सुनाए । चालकहरूको दैनिकीलाई उनले थोरै शब्दमा व्यक्त गरे पनि नेपाली चालकहरूका लागि यो केवल जागिर नभएर चुनौतीपूर्ण दैनिकी पनि हो ।

चालकको सीट पछाडि एक थान सुत्ने ओड्ने बेलीबिस्तारासहित चालकहरु साउदी अरबबाट रातो आलु, प्याज, चामल, मरमसला जस्ता सामग्रीहरू लोड गरेर निस्किन्छन् ।

लरी हुइँक्याउँदै यमन हिंडेका दीपेन्द्र सडकमै अस्ताएको कथा

दीपेन्द्र लरी हुइँक्याएर यमन पुग्दा उतै अस्ताएको कुरा सुनाउँदा तेह्रथुममा रामकुमार मलिन भए । सन् २०१९ नोभेम्बरमा साउदी पुगेका दीपेन्द्र साउदीको लेह ट्रान्सपोर्टेसन कम्पनीमा लरी चलाउँथे ।

सन् २०१४ देखि आन्तरिक द्वन्द्वमा फसेको यमन युद्धग्रस्त मुलुक हो । इरान समर्थित हुथी विद्रोही र साउदी गठबन्धन समर्थित यमन सरकारबीचको सशस्त्र द्वन्द्व त्यो बेला पनि चरम उत्कर्षमा थियो । विश्वमै ठूलो मानवीय संकटबाट गुज्रिएका यमनी नागरिकलाई साउदी राजाको नाममा स्थापित ‘सलमान मानवीय राहत तथा उद्धार सेन्टर’ (केएस रिलिफ)ले यमनी नागरिकलाई ६६.७ मिलियन डलरको औषधोपचार र खाद्य सामग्री उपलब्ध गराइरहेको थियो । त्यही सामग्री पुर्‍याउने ठेक्का दीपेन्द्रको कम्पनीले पाएको थियो ।

दीपेन्द्रलाई साउदी सरकारको राहत सामग्री पुर्‍याउन कम्पनीले यमन पठाएका थियो ।

‘साउदीबाट दीपेन्द्रसहित १७ जना ड्राइभर राहत सामग्री बोकेर यमन गएका थिए । अरू सबै तोकिएको ठाउँमा पुगे, तर बीच बाटोबाटै दीपेन्द्र हराए । दुई वर्षको अवधिमा उनी सयौं पटक यमन गइसकेका अनुभवी ड्राइभर थिए, तर पछिल्लो लटमा बाटैबाट हराउँदा हामी सबै चकित पर्‍यौं’, रामकुमारले भने ।

दीपेन्द्रको त्यस टोलीमा १३ पाकिस्तानी र चार नेपाली चालक थिए । ती ४ मध्येका एक हुन् रामकुमार ।

२०७८ कात्तिक १९ मा यमनको सुक्राहको मुरिव मरुभूमिमा भेडा चराइरहेका फइज अब्दुल्लाह अनोओस (२६) ले दिउँसो ३ बजे लुगासहितको एक कंकाल देखे । कंकाल भेटिएको त्यो ठाउँ हाइवेबाट तीन किलोमिटर भित्र पर्छ, जुन आतंकवादी अलकाइदाको प्रभाव क्षेत्र हो । उनले तुरुन्तै प्रहरीलाई खबर गरे ।

कंकालसँगै भेटियो दीपेन्द्रको ड्राइभिङ लाइसेन्स, राहदानी, कालो रेडमी मोबाइल फोन, केही साउदी रियाल र ५ जोर्डनी मुद्रा । कपडा सडेको थिएन । मात्रै बाँकी थियो घामले सुकेको हड्डी र छाला ।

साउदीस्थित नेपाली दूतावास, कम्पनी र परिवारको लामो समन्वयपछि अनुसन्धानबेगर दीपेन्द्रको कंकाल यमनबाट इजिप्ट र टर्की हुँदै नेपाल पुर्‍याएर गाउँकै त्रिवेणी लगेर अन्त्येष्टि गरियो ।

‘दीपेन्द्रको परिवारले अहिलेसम्म साउदी तथा कम्पनीबाट उचित क्षतिपूर्ती पाएका छैनन्’, रामकुमारले भने, ‘अहिलेको यात्रामा म एक्लै छैन । सुनसरीका दिलीप मेहेता, चितवनका दिनेश शाह र नुवाकोटका लक्ष्मण लामा सँगै सडकमा छौं । लाइन लाएर लरी हुइँक्याउँछौं ।’

भाग्य र अवसरका कारण रामकुमारसहित उनका ३ साथी कम्पनीका राम्रा कार्यस्थलमा परेका छन् । संसारकै महँगोमध्येको एक फेरारी कार रेसिङ खेल फर्मुला १ अन्तर्गत यूएई, कतार, बहराइन जस्ता देशमा हुने खेलमा लरी लिएर उनीहरु मैदानमा दौडिन्छन् । मैदान पुग्न उनीहरु साउदीको रियाददेखि झन्डै १ हजार किलोमिटर पार गरेर आबुधावी आइपुगेका छन् ।

आबुधावीको फेरारी वर्ल्डमा भएको फेरारी कार रेसिङसँगै तिनै लरीमा राखेर भीभीआईपीलाई मैदानमा दौडिन्छन् नेपालीहरुले हुइँक्याएका लरी । झन्डै १५ लाख प्रतिव्यक्ति टिकटको मूल्य तिरेर ती खेल हेर्न आएका अतिथिहरु त्यही लरी चढ्छन र मैदानमा फेरारी रेसिङको मज्जा लिन्छन् ।

आबुधावीपछि फेरि उनीहरु साउदी अरब फर्किएका छन् । साउदी अरबबाट पुनः उनीहरु बहराइनको यात्रामा निस्किनेछन् । अहिले फर्मुला १ (संसारकै महँगोमध्येको एक कार रेसिङ प्रतिस्पर्धा) चलिरहेको छ । अरु सिजनमा नेपाली चालकहरू साउदी, यूएई, कतार, कुवेत, ओमान, बहराइन जस्ता देशहरूमा मालसमान बोकेर लरीसहित खाडीका विभिन्न सडकको चक्कर काट्छन् ।

सडकमार्फत विभिन्न देशको सीमा पार गर्न धेरैजसो कडा नियमहरू पालना गर्नुपर्छ । लरी चालकहरूले सीमा चौकीमा १फासा’ नामक कागजात बनाउनुका साथै आफ्नो सवारीको पूर्ण निरीक्षण गराएरमात्रै थप यात्रा गर्ने अनुमति पाउँछन् ।

लरी नै घर र घर नै लरी !

चालकहरूको दिनचर्या सधैं सडकमै हुन्छ । निर्धारित बासस्थान नभएकाले, उनीहरू लरी रोकेर सडकमै सुत्छन् । गाडीको आवाज र बालुवाको हावामा निदाउन मुस्किल भए पनि उनीहरू थकान मेट्ने प्रयास गर्छन् । खाना पकाउने भाँडाकुँडा र सामान लरीमै राखेर काम गर्ने र सुत्ने व्यवस्था बनाइएको हुन्छ ।

कहिलेकाहीँ सुनसान मरुभूमिको बालुवामा गाडी रोकेर बास बस्नुपर्ने अवस्था आउँछ । त्यस्तै बेला हराएर वा कुनै भवितव्य परेर कतिपयले ज्यानसमेत गुमाएका छन् ।

केही भाग्यमानी चालकहरूले ‘फर्मुला १’ फेरारी रेसिङका विशेष कार्यक्रमहरूमा सहभागी हुने अवसर पनि पाएका छन् । यूएई, कतार र बहराइन जस्ता देशहरूमा हुने फर्मुला १ रेसिङ खेलको लागि लरी चालकको रूपमा काम गर्न पाउँदा विगतका पीडा क्षणभरलाई भए पनि भुलेको उनीहरु बताउँछन् ।

रामकुमारका अनुसार यसरी लरी चलाउन थालेको ९ वर्ष भयो । घरपरिवारसँग टेलिफोन गर्दा उनी लरीमै भए पनि घरमै छु भन्छन् । किनकि उनका लागि लरी नै घर र घर नै लरी हो । काम राम्रै पर्‍यो र कम्पनीले राम्रो ठाउँमा खटायो भने बेतन र अतिरिक्त गरेर ४ हजार रियाल राम्रैसँग बचाउन सकिने उनी बताउँछन् । हरेक दुई वर्षमा तीन महिनाको बिदामा घर फर्किने गरेको रामकुमारको भनाइ छ ।

खाडीमा १८ पाङ्ग्रे लरी चलाउँदै गरेका नेपाली चालकहरू घरपरिवारबाट टाढा रहेर बालुवाका तातो सडकमा गन्तव्यको अनिश्चितताबीच आफ्नो मेहनतको मूल्य खोजिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर