सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु – Nepal Press

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानकारी दिए ।

उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने अधिकारीले बताए ।

उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो ।

सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

One thought on “सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु

  1. रविले सहकारी नै ठगे त भन्ने लाग्दैन । तर नयाँ टिभी खोल्छु, त्यसलाई देशको १ नम्बरको बनाउछु, अनि खुब पैसा कमाईन्छ भनेर जिबिलाई सपना बाँडेका त हुन् नि । रविको त्यतिबेलाको क्रेज देखेर जिबिले पनि पत्याए । अनि जताततैबाट पैसा ल्याएर खन्याए । टिभि डुब्यो । त्यसपछि जिबि पनि डुबे । अहिले देशमा रविले जुन सपना बाँडेका छन् त्यो पनि टिभिजस्तै चकनाचुर हुने देखिन्छ । अब डुब्ने पालो जनताको । त्यसैले राजनीतिमा रविले बाँडेको सपनाको पछि लाग्नु अघि बहुत विचार गरौं । जिबिले १ नम्बर टिभी बनेपछि कमाउला भन्नेजस्तो आश नगरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर