संगठन सुदृढीकरण गर्न सय दिने अभियान प्रभावकारी भएको कांग्रेसको निष्कर्ष, एक महिना समय थप
काठमाडौं । नेपाली कांग्रेसले सयदिने विशेष अभियानको सफल भएको निष्कर्षसहित एक महिना समय लम्बाउने भएको छ।
गत असोज ७ गतेबाट सुरु भएको अभियान कार्यक्रम नसकिएका जिल्लाहरुमा एक महिना समय थप गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनले भने, ‘हामीले १०० दिने अभियान चलाएपछि बीचमा प्राकृतिक प्रकोपको कारणले रोकिएका थिए। त्यसैले यो अभियानले तोकेका सबै कार्यहरु गरिसकेको भए पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिन समापन गर्ने, तर बाँकी भएका जिल्लाहरुमा माघ १६ गते सहिद दिवसको दिनमा सक्नेगरी एक महिना समय थपेको छ।’
कांग्रेसले यो अभियानलाई कांग्रेस संगठन सुदृढीकरण गर्ने मुख्य लक्ष्य बनाएको थियो।
उनले थपे, ‘यो अभियानमा पार्टीका शीर्ष नेताहरु पनि जानुभएको थियो। यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको प्रारम्भिक समीक्षा हामीले गरेका छौं। संगठनलाई सुदृण गर्ने र जिवन्त र गतिशिल बनाउने कुरा काम गरेको छ।’
कांग्रेसले अभियानका लागि पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुलाई जिल्लाजिल्लामा पठाएको थियो।