गिरिजाप्रसादलाई दक्षिण एसियाली व्यक्तित्वको उपमा दिने भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह – Nepal Press

गिरिजाप्रसादलाई दक्षिण एसियाली व्यक्तित्वको उपमा दिने भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह

काठमाडौं । ९२ वर्षको उमेरमा हिजाे अस्ताएका भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई दिइने उपमा धेरै छन् । आधुनिक भारतका आर्किटेक्ट, उदार भारतीय अर्थतन्त्रका पायोनियर, विश्वका सबैभन्दा शिक्षित प्रधानमन्त्री आदि ।

यी र यस्ता उपमा पाएका मनमोहन सिंहले नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि एक सुन्दर उपमा दिएका थिए ।

गिरिजाप्रसादलाई उनले नेपालमात्रै होइन, दक्षिण एसियाकै टावरिङ नेता भनेका थिए । यो कुनै निजी संवादमा भनिएको कुरा होइन । दुई देशको कूटनीतिक संवादको रेकर्डमै हुनेगरी भनिएको थियो ।

वि.सं २०६३ जेठ २३ गते तत्कालीन नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो पहिलो विदेश भ्रमणमा भारत पुगे । उनलाई विमानस्थलमै लिन आएका थिए भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह ।

यसरी प्रोटोकल अन्त्य गरेरै मनमोहन सिंह आफैं विमानस्थलमा पुगेका थिए । मनमोहनले यसअगाडि यस्तो प्रोटोकल तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुस भारत आउँदामात्रै अन्त्य गरेका गरेका थिए । २०६२ फागुन १७ मा बुस भारत आउँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर सिंहले स्वागत गरेका थिए ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चार दिने भारत भ्रमणमा पुगेको भोलिपल्ट जेठ २४ गते भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलन भयो । सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले मनमोहन सिंहले गिरिजाप्रसाद कोइरालालाई दिएको सम्मान दोहोर्‍याए । उनले प्रधानमन्त्री सिहंले प्रोटोकल मिचेर आफैं विमानस्थलमा पुगेर गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न पुगेको दोहोर्‍याए ।

उनले गिरिजाप्रसाद कोइराला दक्षिण एसियाकै अग्रज नेतृत्व भन्ने मनमोहन सिंहको भनाइसमेत दोहोर्‍याए ।

उनले भने, ‘प्रधानमन्त्री सिंहले श्रीमान गिरिजाप्रसाद कोइरालालाई सरकार प्रमुख, नेपालका प्रजातान्त्रिक शक्तिहरुका नेतामात्रै नभएर दक्षिण एसियाका सबै प्रजातान्त्रिक शक्तिहरुको नेताको रुपमा एक टावरिङ व्यक्तित्वको रुपमा स्वागत गर्नुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर