गुल्मीको छत्रकोटमा ८७ लाख लगानीमा जिपलाइन सञ्चालन – Nepal Press

गुल्मीको छत्रकोटमा ८७ लाख लगानीमा जिपलाइन सञ्चालन

रुपन्देही । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले गुल्मीको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालनमा गरिएको छ । गाउँपालिकाको वडानम्बर–३ को छत्रकोट देवालय मन्दिरदेखि अर्को भगवती मन्दिर–लुम्छासम्म पुग्ने गरी जिपलाइन निर्माण कार्य गरिएको छ ।

यसले त्यसक्षेत्रमा रहेका दुईवटा मन्दिर जोडेको छ ।जिपलाइनको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीसहित जिल्लाका १२ वटा स्थानीय सरकार प्रमुख तथा छिमेकी जिल्लाका स्थानीय सरकार प्रमुखहरुले शुभारम्भ गरेका हुन् ।

८६ लाख ७३ हजार १ सय ४४ रुपैयाँ लागतमा बनेको जिपलाइनलान निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटबाट गरिएको हो । सानु सेती देवी कन्ट्रक्सन प्रालिले अघिल्लो आर्थिक वर्षबाट निर्माण सुरु गरेर तोकिएको मिति अगावै काम सम्पन्न गरेको हो ।

१ हजार ८० मिटर लम्बाई र ६७ मिटरको उचाइ रहेको जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशनदेखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्न अधिकत्तम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने गर्दछ ।

शुक्रबार जिपलाइनको शुभारम्भ कार्यक्रममा स्थनीय सरकार प्रमुखहरु साहसिक खेल जिपलाइन चढेर त्यसको रमाइलो अनुभूति समेत लिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा गरेको लागानीले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

संरचना निर्माण गर्नुभन्दा पनि यसलाई दिगो रुपमा सञ्चलन कसरी ल्याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने खत्रीले जोड दिए । गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस छत्रकोटमा बसौं वास’ भन्ने नीति नै बनाएर पर्यटकीय गनतव्य निर्माण कार्यलाई तिब्र अगाडी बढाएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

पाण्डेले जिल्लाका अन्य स्थानीय सरकारले एउटै खालका कार्यक्रमहरु नगर्न आग्रह गदै सबैले फरक फरक खालका संरचना निर्माण गरेको खण्डमा जिल्ला भर नै घुम्न लायक बन्ने बताए । पालिकाले पर्यटन प्रवद्र्धन गर्न पालिकाभित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गरेर आन्तिरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडि बढेको छ ।

जिपलाइन चढनको लागि गाउँपालिका वासीहरुको लागि ४ सय रुपैयाँ, विद्यार्थीहरुको लागि ३ सय रुपैया, पालिका बाहिरका नागरिकको लागि ५ सय रुपैया र विदेशी नागरिकको लागि १ हजार ५ सय रुपैया शुल्क निर्धारण गरिएको छ । रिडी–तम्घास मुख्यमार्गको नजिकै निर्माण भएकाले जिल्लाकै प्रमुख पर्यटकीय गनन्तव्य बन्ने पालिका अध्यक्ष पाण्डेले जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *