नेपाली शीर्ष टेनिस खेलाडी प्रदीपको गुनासो- डेभिस कपको सफलतामा सरकारबाट बधाईसम्म पाएनौं (भिडिओ)
‘बहराइनमा भएको डेभिस कपमा नेपाल र फिलिपिन्स बढुवा हुँदै ग्रुप ४ मा प्रवेश गरेका छन्’
पोखरा । बहराइनको मानामामा नोभेम्बर १८ देखि २३ तारिखसम्म भएको डेभिस कप (एसिया/ओसिएना क्षेत्र) मा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । कपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका अभिषेक बास्तोला, प्रदीप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रितिक राणा तथा प्रशिक्षक शरद लामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ग्रुप ४ मा बढुवा गर्न सफल भए ।
ग्रुप ४ को प्रतिस्पर्धामा नेपाल र फिलिपिन्ससहित श्रीलङ्का, किर्गिस्तान, कम्बोडिया, इराक, मलेसिया र प्यासिफिक ओसिएना हुनेछ । ग्रुप ४ मा बढुवा भएको टोलीलाई बिदाई गर्न र स्वागत गर्न कुनै पनि निकाय विमानस्थल पुगेनन् । एक्लै खेल खेल्न पुगेका उनीहरू नेपाललाई सफलता दिलाएर फर्किंदा पनि एक्लै हुन पुगे । उनीहरूलाई स्वागत गर्न कुनै पनि सरोकारवाला निकाय विमानस्थल पुगेनन् ।
अन्य खेलमा ससाना सफलता पाउँदा विमानस्थलमा भीड हुने सरोकारवाला निकायले टेनिस खेलमा बेवास्ता गरेको उनीहरू बताउँछन् । प्रस्तुत छ सहभागी खेलाडीमध्ये टेनिसमा नेपालको शीर्ष वरियतामा रहेका प्रदीप खड्कासँग नेपाल प्रेसकर्मी रिखिराम जिसीले गरेको कुराकानीः
– भर्खरै डेभिस कप खेलेर आउनुभयो । समग्रमा कस्तो भयो प्रतियोगिता ?
बहराइनमा सम्पन्न टेनिसको विश्वकपमा हामी ग्रुप ५ मा थियौं । ग्रुप ५ मा १५ देशले प्रतिस्पर्धा गरेका थिए । विश्व वरियताको टप ३०० भित्र रहेका खेलाडीहरू पनि आएका थिए यो प्रतियोगिता खेल्न । फिलिपिन्स, आयरल्यान्ड एकदमै राम्रा देश हुन् । १५ मध्ये २ देश बढुवा भएर ग्रुप ४ मा पुग्ने हुन्छ । उक्त प्रतियोगितामा मलगायत हाम्रो टीम नम्बर वान भएर नेपाललाई एक ग्रेड अगाडि लगेर अहिले ग्रुप ४ मा पुगेका छौं ।
– उक्त प्रतियोगिता खेल्न व्यक्तिगत रूपमा जानुभएको हो कि देशको प्रतिनिधित्व गरेर ?
जति पनि अफिसियल टुर्नामेन्टहरु हुन्छन्, ती चाहिँ इन्टरनेशलन टेनिस फेडेरेशन (आईटीएफ) ले आयोजना गर्ने गर्छ । यसमा व्यक्तिगत रूपमा सहभागी हुन मिल्दैन । यसमा देशबाट प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । अहिले पनि नेपाललाई प्रतिनिधित्व गरिराख्दा खेरि आईटीएफले मेम्बरसिप दिन्छ । त्यो मेम्बरसिप बी ग्रेडमा आएपछि मात्र सहभागी हुन पाउँछ ।
आईटीएफ स्थापना भएको धेरै वर्ष भए पनि हामी २ वर्षअघि मात्रै बी ग्रेड भएको हो । हाम्रो भोटिङ राइटस् भएको आधारमा आईटीएफले डेभिस कपहरू खेल्न दिन्छ । डेभिस कपमा प्रतिनिधित्व गरेर जाँदाखेरि नेपाल सरकारले त केही पनि गरेको छैन । टेनिस भन्नेबित्तिकै पिछडिएको गेम जस्तो छ । भन्ने बेला चाहिँ धनाढ्यहरूले खेल्ने खेल भन्छ ।
हो, अहिले महँगो छ । विश्वकै दोस्रो धेरै महँगो गेम हो । सरकारले नै यो धनीले खेल्ने गेम हो । यसलाई किन सर्पोट गर्नुपर्छ भन्दा म जस्तो अरू प्लेयरहरूलाई एकदमै घाटा लागिराखेको छ । केही पनि गरेको छैन नि ! त्यही भएर यसमा चाहिँ सरकारबाट आजको दिनसम्म पनि त्यस्तो केही पाएको छैन । यो कुरा सम्बन्धित निकायसम्म पुगोस् । उहाँहरूले पनि यो कुरालाई विशेष रूपमा हेरिदियो भने राम्रो हुन्छ ।
– अन्य खेलमा विजयी भएर आउँदा खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गरिन्छ । तपाईंहरुलाई त्यस्तो केही भएन है ?
जाँदाखेरि पनि आफ्नै सुरमा र आउँदाखेरि पनि आफ्नै सुरमा थियौं । हामीलाई एकदम आशा चाहिँ थियो । किन भन्दाखेरि हामीले जित्दाखेरि पनि मिडियाबाट बारम्बार समाचार कभरेज हुँदा पनि मान्छेहरूले खै के कारणले गर्दा हो, फेडेरेशन र खेलकुद मन्त्रालयको कम्बिनेसन नमिलेर हो कि टेनिसलाई यो स्पोर्टस् होइन भन्न खोजेर हो ! गेमको पनि एउटा लेभल हुन्छ । मैले कत्ति गेम के देखेको छु भनेपछि कमभन्दा कम देशहरूमा खेल्ने अनि सानो रिजल्ट आउँदा पनि सरकारबाट एकदमै ठूलो सम्मानित भएपछि खेलाडी प्रोत्साहित हुने हो ।
टेनिसको केसमा के छ भन्दा डेभिस कप जितेर आयौं । फिलिपिन्स र हामी ग्रुप ४ मा बढुवा भयौं । फिलिपिन्सलाई त्यहाँको एम्बेसीबाटै त्यही दिन मान्छे आएर एकदमै ठूलो सम्मान दियो, तर हामी नेपालमा आएको एक महिना बितिसक्दा पनि सरकारी लेभल र कहींबाट बधाईसम्म नआउँदाखेरि दुःख लाग्छ । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट म ३ वटा गोल्ड मेडलिस्ट हो । अहिले डेभिस कपमा यस्तो राम्रो रिजल्ट आउँदा गण्डकी सरकारबाट पनि बधाईसम्म पनि पाएको छैन । त्यसो हुँदा दुःख लाग्छ ।
तपाईंहरूले अरू खेलाडी हेर्नुहुन्छ भने पैसा लिएर अरू ठाउँबाट खेलेको पनि रेकर्ड छ । हामीलाई त्यस्तो अवसरमा आउँदाखेरि होइन आफ्नो ठाउँमा जन्मेपछि गण्डकीबाट खेल्नुपर्छ । आफ्नो ठाउँलाई चिनाउनुपर्छ भनेर खेलिरहेका छौं ।
– यही तरिकाले टेनिसलाई सरकारले ध्यान दिएन भने नेपालमा यसको भविष्य के होला ?
पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा मैले टेनिस खेलिरहँदा टेनिस खेलेर गर्ने चाहिँ के भन्नुहुन्छ । अब अहिले मलाई कस्तो हुन्छ भन्दा खेरि म फ्याट्ट लागेर घाइते भए । उपचार गर्न हस्पिटल खर्च मैलै पर्सनल हाल्नुपर्छ । जबकि टुर्नामेन्ट खेलेर जुन प्राइज जितिराखेको छु । त्यो पैसाले त मेरो त्यही टुर्नामेन्टको खर्च उठ्दैन । जस्तो मैले बुटवलमा गएर टुर्नामेन्ट जिते भने होटेल खर्च, खानुपर्यो । र्याकेट, ग्रिपहरु, जुत्ताहरू किन्नुपर्यो । त्यही पैसा उठिराखेको छैन भनेपछि एउटा खेलाडीले केका लागि खेल खेल्ने ?
साउथ एसियन गेममा हामीले काँस्य पदक जित्यौं । बङ्गलादेशकाले जित्दा मैले सुनेको उनीहरूलाई एउटा बंगो, कार, एउटा फ्ल्याट दियो रे ! उनीहरूको सरकार धनी होला आफ्नो ठाउँमा छ, तर मैले भन्न खोजेको एटलिस्ट कुनै संघसंस्थासँग, कर्पोरेट हाउससँग सहकार्य गरेर मासिक, वार्षिक पारिश्रमिक व्यवस्था गरिदियो भने कम्तीमा एउटा खेलाडी बाँच्ने आधार त हुन्छ नि ! तर अहिले चाहिँ कस्तो छ भने खुट्टा एउटा इन्जुरी आयो भनेपछि मैले आफ्नो पैसा नचलाएसम्म केही पनि काम गर्न सक्दैन ।
– सरकारी सहयोगविना नेपालमा टेनिस खेल्न कत्तिको चुनौती छ ?
टेनिस करिअर मैले बल ब्वाइबाट सुरु गरें । बल ब्वाइ हुँदा २०-५० मा रमाउने केटा हो म । त्यसपछि जुनियर लेभलमा मेन्स लेभलको टेनिस खेलेर अन्तर्राष्ट्रिय स्तरमा पुगें । यो धेरै ठूलो कुरा हो । मेरो लागि होइन कि नेपालीका लागि पनि धेरै नै ठूलो कुरा हो ।
कति जना प्लेयर चाहिँ सम्पत्ति भएको परिवारबाट आउनुभएको छ ? उनीहरूलाई भोलि टेनिस भए पनि नभए पनि फरक पर्दैन, तर कति जना प्लेयरलाई यही टेनिसमा भर पर्नुपर्ने हुन्छ । म पनि टेनिसमै डिपेन छु । टेनिसका लागि भनेर मैले अरू पुरै छाडिसकें । मेरो फोकस भनेको टेनिस खेल्ने र पछि कोचको रूपमा स्थापित हुने भन्ने हो । एउटा राम्रो एकेडेमी खोल्ने र पोखरालाई टेनिसको रूपमा चिनाउने भन्ने हो । गण्डकी प्रदेशको प्रोडक्टले अन्तर्राष्ट्रिय स्तरमा मेडल जित्नसक्छ भनेर मैले आफैंले प्रमाणित गरें । अब भविष्यमा त्यस्तो खेलाडी उत्पादनमा पनि म आफैं लाग्नेछु ।
यसमा एकदमै चुनौती छ । नयाँ बल किन्नुपर्यो भने ९०० रुपैयाँ पर्छ । त्यो बल एक घण्टा खेल्यो भने खत्तम हुन्छ । फेरि अर्को नयाँ बल किन्नुपर्छ । यत्रो धेरै खर्च देखिन्छ । त्यो खर्च मैले आफ्नो पकेट मनी र जितेको प्राइजबाट व्यवस्था चलाउन सक्छु, तर भोलि मलाई फ्याट्ट इन्जुरी भयो भने चाहिँ के गर्ने ? म जस्ता खेलाडी त धेरै छन् । गण्डकी प्रदेशमा जसले मेडल प्राप्त गरेका छन् ।
अहिले सबै जना विदेश पलायन भइराखेका छन् । कारण के भन्दाखेरि आम्दानी छैन । आम्दानीको स्रोत नभएपछि घरपरिवारमा प्रेसर हुन्छ । परिवारले तैँले खेलेर के गरिस् भन्छ । मलाई पनि मेडल, ट्रफीले खान पुग्छ भनेर प्रश्न गर्छ परिवारले । त्यो हुँदाखेरि मैले आफ्नो मान्छेलाई खेलाडी बनाउने कि नबनाउने भन्ने कुरा हो ।