अर्गानिक सिमी उत्पादनमा शरनबारीको सान (भिडिओ)
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका- ६ शरनबारीले सिंगो गाउँमा अर्गानिक खेती गरेर नमुना प्रस्तुत गरेको छ । यहाँका १५० घरपरिवारले करिब १०० हेक्टरमा अर्गानिक उत्पादन गर्दै आएका छन् । गाउँको वरिपरि जंगल रहेकाले अर्गानिक खेती गर्न सहज भएको स्थानीयको भनाइ छ ।
उनीहरुका अनुसार परम्परागत अन्नबालीले तीन महिना खान पनि पुग्दैन । अहिले व्यवसायिक अर्गानिक तरकारी तथा कृषि उपजको खेतीमार्फत स्थानीयले गाउँलाई नमुनामात्रै बनाएका छैनन्, आफ्नो आर्थिक स्तरमा पनि उल्लेख्य सुधार ल्याएका छन् ।
२०६५ सालयता यहाँका सबै किसानले अर्गानिक खेती गर्दै आएका छन् । यसअघि रासायनिक मल तथा विषादी प्रयोग गर्ने किसानहरुले अहिले प्रांगारिक मल तथा जैविक किटनाशक प्रयोग गर्ने गरेका छन् ।
यहाँ पकेट खेतीका रूपमा सिमी, तरुल, पिँडालु र गोलभेंडासँगै बेमौसमी तरकारी खेती गरिएको छ । यहाँ हरेक उत्पादन अर्गानिक भएकाले भनेको मोलमा बिक्री हुने गरेको किसानहरुको भनाइ छ ।
तर अर्गानिक उत्पादनबारे सबैले जानकार नभएकाले बजार संकुचित रहेको उनीहरुको गुनासो छ । यहाँका किसानहरूले एक वर्षमा सिमीमात्रै ७ करोड रुपैयाँ बराबरको बेचेको स्थानीय मानबहादुर गाहा बताउँछन् । उनी स्थानीय किसान जोडिएको शरनकाली कृषक सहकारीको नेतृत्व गर्छन् । सहकारीमा ८४ जना किसान आवद्ध छन् ।
‘हामीले २०६५ सालदेखि रासायनिक मल र विषादी प्रयोग गरेका छैनौं । त्यसअघि प्रयोग गरिन्थ्यो’, उनले भने, ‘तर उपभोक्ता यसबारे सचेत भएका छैनन्, विषादी राखेको तरकारी चिल्लो र राम्रो हुन्छ, यहाँको उत्पादन त्यस्तो हुँदैन ।’
गाहाका अनुसार अहिले यहाँको उत्पादन बेच्न समस्या छ । अहिले खेतबारीमा लटरम्मै सिमी फलेको छ, तर बजार पुर्याउन समस्या छ । भनेको मूल्य नपाइने समस्या पनि रहेको छ ।
उनले आफ्नो १ विघा र लिजमा १० कठ्ठा खेतमा अर्गानिक खेती गरिरहेका छन् । उनको १७ जनाको परिवारमा २ जना घर बाहिर छन् । बाँकी १५ जना यसमै निर्भर छन् । बालबालिकाबाहेक सबै यही खेतीमा लागिपरेका छन् ।
समयअनुसारको तरकारीमात्र होइन, बजार मागअनुसारको फसल तयार हुने समय मिलाएर खेती गरेकाले पनि आम्दानी राम्रो भएको किसानहरू बताउँछन् । ८ रोपनी जग्गामा तरकारी लगाएका वसन्त जर्घामगरले भने, ‘समय मिलाएर तरकारी लगाउन सके सोचेभन्दा बढी आम्दानी हुँदोरहेछ । यहाँ उत्पादन राम्रो भएको छ । सबैले अर्गानिक खेती गरिरहेका छौं ।’
तल्लो शरनबारीकी किसान लालकुमारी सिंजालीले अर्गानिक खेतीका लागि बजारको सुविधा, मुख्य राजमार्गसम्म जाने सहज बाटो र सिंचाइको उपयुक्त व्यवस्था गरी दिनुपर्ने बताउँछिन् ।
शरणकाली कृषक सहकारी संस्थाका अध्यक्ष मानबहादुर गाहाले सहकारीमार्फत किसानहरूलाई छोटो समयमा तालिम दिन, आफूले सिकेका ज्ञान तथा अनुभव बाँड्न र सामूहिक रूपमा खेती गर्न र बिक्री वितरण गर्न सजिलो भएको बताए । उनका अनुसार सहकारीले जिल्ला कृषि ज्ञानकेन्द्र, देवदह नगरपालिकालगायतको सहयोगमा निःशुल्क उन्नत तरकारी खेती तालिम, फसल भण्डारण, उन्नत बीउबिजनको प्रयोग, उपयोगितालगायतका बारेमा अभियान चलाएको छ ।
कृषि प्राविधिक त्रिलोचन दाहालका अनुसार रुपन्देहीको देवदह भए पनि चुरे क्षेत्र र वरिपरि जंगलको बीचमा भएकाले यो क्षेत्रमा अर्गानिक उत्पादनमा सहज भएको हो ।
‘धेरै तालिम चलाइएको छ, बेलाबेलामा जिल्ला बाहिरका कृषि पकेट क्षेत्रमा घुमाउने र किसानको मनोबल बढाउने काम गरिएको छ । प्राविधिक ज्ञान सिकाउन सजिलो हुने र उनीहरूबाट दिगो आम्दानी हुने कार्यक्रम धेरै गरेपछि यो अवस्थामा पुगेको हो’, उनले भने, ‘अब यहाँको उत्पादनलाई बजारको ग्यारेन्टी र स्टक राख्न भण्डारण केन्द्र र सिंचाइको दीर्घकालीन व्यवस्था गर्नुपर्ने देखिएको छ ।’
संस्थामा आवद्ध सबै किसानले सामूहिक रूपमा आलोपालो काम गर्ने गरेका छन् । यसले गर्दा मजदुरीबापत दिनुपर्ने रकम जोगिएको उनीहरुको भनाइ छ । सहकारीमार्फत यहाँको तरकारी बुटवल तथा आसपासका बजारमा जान्छ । देवदह, खैरेनीलगायतका बजारमा पनि यहाँको तरकारी बिक्री हुन्छ ।
‘शरनबारी चुरे पहाडमुनिको मलिलो र पांगो माटो भएको क्षेत्र हो । जुनसुकै तरकारी हुर्कन तथा बढ्नसक्ने वातावरण छ । सिंचाइका लागि पानी पनि छ । मलिलो माटो भएकाले रासायनिक मलको प्रयोग गर्नुपर्दैन’, कृषिविज्ञ दाहाल भन्छन्, ‘यसैले अन्यत्रभन्दा यहाँ तरकारी खेतीका लागि लगानी कम लाग्छ । कम लगानी र कम समयमा बढी आम्दानी हुने भएकाले तरकारी खेतीमा युवा पुस्ता बढी संलग्न छन् । जागिर खाने, विदेश जाने उमेरका युवाले व्यवसायिक तरकारी खेती गरेका छन् ।’
पहिले गाउँ छोडेर शहर पसेका तथा परदेश गएका युवा पनि अहिले फर्केर तरकारी खेतीमा लागेको उनको भनाइ छ ।
१७ वर्षदेखि अर्गानिक खेती
शरनबारी बुटवलबाट ९ किलोमिटर पूर्व घोडाहा र त्यहाँबाट साढे दुई किलोमिटर उत्तर पर्छ । शरनबारीमा २०६५ सालदेखि नै पूर्ण रुपमा अर्गानिक खेती भइरहेको किसानहरु बताउँछन् । स्थानीय ५९ वर्षीय बलबहादुर गाहाले रासायनिक विषादी र मल अहिलेसम्म प्रयोग नगरेको बताए ।
उनी भन्छन्, ‘अहिलेसम्म कुनै प्रकारको विषादी बारीमा हाल्दैनौं, यहाँको माटो नै मलिलो छ ।’
सिंगो गाउँ अर्गानिक सिमी क्षेत्रको रुपमा शरनटाडी भए पनि संघीय र प्रदेश सरकारको ध्यान जान नसकेको स्थानीयको गुनासो छ । यहाँ पुग्ने सडक र पुलको समस्या छ । वर्षामा खहरे खोलाले बाटो अवरुद्ध हुन्छ । त्यस्तै अर्गानिक खेतीको लागि जिल्लाभरि प्रख्यात रहेको शरनटाडीको उत्पादन बिचौलियाकै कारण ओझेलमा परेको स्थानीय सुनाउँछन् ।
एकीकृत भएर बेच्न खोज्दा पनि बिचौलियाहरुले किसानलाई कम मूल्य दिने र बजारमा बढी मूल्य पार्ने गरेको किसानहरुको गुनासो छ । किसानहरुले आफ्नै पहलमा कुलो खनेर बारीबारीमा सिंचाइ सुविधा पुर्याएका छन् ।
कृषकहरु एकजुट भएर शरनटाडीलाई तरकारीको पकेट क्षेत्र बनाएर नमुना बनाएको देवदह नगरपालिकाका मेयर धु्रव खरेल बताउँछन् । उनले किसानको अभियानमा स्थानीय सरकारले पनि साथ दिने बताए ।