सुदूरपश्चिम र कर्णालीमा बिहानैदेखि हल्का वर्षा र हिमपात
काठमाडौं । जल तथा पूवानुमान महाशाखाले हाल पाँच प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा लगायत कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनेछ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।
त्यस्तै आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहने छ ।