पिएल सिंहलाई सम्झिँदै प्रकाशमानले भने- उहाँले काठमाडौंलाई महानगर बनाएर आधुनिक बनाउनुभएको थियो
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
सिंहको १३ औं दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पिएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्एयाएको योगदानको स्मरण गरे।
कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पिएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए।
उनले भने, ‘०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनका बेलामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सिद्धान्त र आदर्शको राजनीति गर्ने परिवारमा कष्टको त साध्य नहुने । त्यस्तो समयमा उहाँले हाम्रो अभिभावक बन्नुभयो। उहाँ सरल र सहज स्वभावको, सबैले स्वीकार गर्ने र सबैसँग भिज्न सक्ने । भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखर र पिबि नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुले उहाँको क्षमता बुझ्न सकिन्छ ।’
पिएल सिंह गणेशमान सिंहसँग मात्र नभई सन्त नेता कृष्णप्ररसाद भट्टराईको पनि प्रिय रहेको सिंहले स्मरण गरे। पिएल सिंह आफूलाई प्राप्त भूमिकालाई गम्भिरताका साथ निभाउने नेता भएको पनि बताए।
काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएपछि पिएलले आफ्ने कार्यकालमा काठमाडौंलाई महानगर बनाएको र काठमाडौंको विकासका लागि अन्तरास्ट्रिय सहयोग जुटाएर आधुनिक काठमाडौं बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि सिंहले चर्चा गरे।
कांग्रेस काठमाडौं सभापति सबुज बानियाँको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वममहामन्त्री कृष्ण सिटौला,स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कांग्रेस नेता भीमसेनदास प्रधान, राजन केसीलगायत काठमाडौं जिल्ला समिति,महानगरसमितिका सभापति निलकाजी शाक्य, नेतृ सिर्जना सिंह, कांग्रेस काठमाडौं जिल्ला समिति, महानगर समितिका पदाधिकारी, सदस्य तथा भातृ संघसंस्थाका नेता कार्यकर्ता सहभागी थिए ।