स्व.प्रकाश वस्तीः पीडादायी जीवनमाथि हृदयघातको अन्तिम प्रहार
काठमाडाैं । प्रकाश वस्तीको नामका आगाडि ‘स्व.’ लेख्नुपर्ने गरी शुक्रबार राति हृदयघातको निर्दयी झड्का आइलाग्यो । नयाँबजारस्थित घरमै हृदयघात हुँदा उनलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पताल लगियो । तर, प्राण बाँकी थिएन । मृत घोषित गरिए ।
सर्वोच्च अदालतमा ६ वर्ष अस्थायी न्यायाधीशका रुपमा काम गरेका उनको खास परिचय हो, प्रमाण काननुका ज्ञाता । २०३३ सालदेखि कानुनी अभ्यासमा संलग्न रहँदै नेपाल ल क्याम्पसमा २० वर्षको प्राध्यापन अनुभव सँगाले ।
त्यसपछि नेपाल बार एसोसिएसनको महासचिवका रुपमा एक कार्यकाल काम गरे । अनि, २०६५ भदौ २५ देखि २०७० चैत २९ गतेसम्म सर्वोच्च अदालतमा न्यायाधीशको जिम्मेवारी सम्हाले । उनले राष्ट्रिय मानवअधिकार आयोगको सदस्यका रुपमा एक कार्यकाल जिम्मेवारी पनि सम्हाले ।
पारिवारिक पृष्ठभूमि, पढाई, त्यसबाट आर्जित ज्ञान र कार्यक्षमता– कुनै पनि कारणले पीडाको जीवन बाँच्नुपर्ने स्थितिका मानिस थिएनन् उनी । तर, २०७० चैत २९ का मितिबाट उनीमाथि जुन पीडा सवार भयो, त्यो सानोतिनो थिएन । उनीसहित सर्वोच्च अदालतको अस्थायी न्यायाधीशका रुपमा कार्यरत भरतबहादुर कार्की र भरतराज उप्रेतीले अस्थायी न्यायाधीशका रुपमा ६ वर्षे कार्यकाल पूरा गरेपछि म्याद थपिएन । अवकाश भए । यो मामुली अवकाश थिएन ।
सर्वोच्च अदालतको न्यायाधीशबाट अवकाश भएपछि उसले कुनै पनि अदालतमा कानुनी अभ्यास (वकालत) गर्न पाउँदैन । जीवन बाँच्न अर्को कुनै जागिर खान्छु भन्दा पाइँदैन । उनीसँगै मानवअधिकार आयोगको सदस्यका रुपमा काम गरेका वरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेलको भनाइअनुसार, उमेर, क्षमता सबथोक भएर पनि केही गर्न नपाउनु भनेको मानिसलाई जिउँदैमा मारिदिएजस्तो हुन्छ । वस्ती त्यही पीडाको शिकार भए ।
वस्तीसहितका न्यायाधीशलाई ‘अस्थायी’ कै रुपमा घर पठाइएको विषय नेपालको जुडिसियरी (न्याय सम्पादन) मा भित्रिएका तमाम विसंगतिको पहिलो खुड्किलो भएको पौडेल बताउँछन् ।
‘आज हामी जे–जे विसंगतिको बारेमा हामी चर्चा गर्छौं, ती सबैलाई भित्र्याउने पहिलो घटना हो त्यो’, उनले भने । त्यसरी अवकाश पाएकामध्ये भरतराज उप्रेतीले आत्महत्या नै गरे । वस्ती पनि लामो समय मानसिक रुपमा स्फुर्त हुन सकेनन् ।
वस्तीहरुलाई अस्थायी न्यायाधीशको अवधि नथपेर अवकाश दिइएजस्तै त्यसअघि अर्का न्यायाधीश पवनकुमार ओझा पनि यस्तै घटनाको शिकार बनेका थिए । ओझामाथि शाहीकालमा महान्यायाधीवक्ता भएको आरोप थियो । तर, वस्ती र अरु दुई अस्थायी न्यायाधीशका हकमा कुनै आरोप थिएनन् ।
‘न्याय परिषद् भन्ने सिण्डिकेटले गोपाल पराजुली, चोलेन्द्रसमशेर राणहरुलाई सर्वोच्चमा भित्र्याउने बाटो खोज्दा उहाँहरु अन्यायमा पर्नुभएको हो’, शर्मा भन्छन्, ‘नेपालको न्यायसेवाको सत्यानाश गर्ने काम त्यही न्याय परिषद्ले आज पनि गरिरहेको छ ।’
उनका अनुसार राजनीतिक दलका बीचमा भाण्डबण्डा लगाएर परिषद्का सदस्य छान्ने, त्यो परिषद्ले त्यही किसिमबाट न्यायाधीश छान्नेजस्ता कारण उक्त क्षेत्रको विश्वसनीयता र सम्मानमा घात भएको उनको दावी छ । ‘ती सबै कामको शुरुवात प्रकाश श्रीमानहरुलाई सर्वोच्च अदालतबाट घर लखेटेर गरियो’, उनी भन्छन् ।
अस्थायी न्यायाधीशमा म्याद थप नगरिएको पीडास्वरुप वस्तीको जीवनमा थुप्रै अनपेक्षित संकेत देखिने गरेको पौडेल भन्छन् । ‘एउटा अध्ययनशील र तर्कशील मान्छे हुनुहुन्थ्यो, तर त्यो घटनापछि उहाँले जुन तहको अध्ययन, तर्क र अभ्यास गर्ने क्षमता राख्नुहुन्थ्यो, त्यसो गर्नसक्नुभएन’, उनी भन्छन्, ‘मनमा चोट परेपछि क्षमता जति प्रष्फुठित हुनुपर्ने हो, त्यसमा केही न केही कमी हुँदोरहेछ ।’
वस्तीले लेखेको प्रमाण कानुनसम्बन्धी पुस्तक बिएलको कोर्षमा अहिले पनि पढ्नुपर्छ । पौडेलका अनुसार, उनी प्रमाण कानुन र न्यायालयको इतिहाससम्बन्धी दुई छुट्टाछुट्टै पुस्तक लेखनको तयारीमा थिए । ‘न्यायालयको इतिहास त छाप्नुअगाडि मलाई देखाउँछु पनि भन्नुभएको थियो’, पौडेलले भने, ‘त्यो हेर्नै नपाई हामीलाई छाडेर जानुभयो ।’
नेपाल ल क्याम्पसको स्ववियु सभापति रहिसकेका प्रतिनिधिसभाका वर्तमान सदस्य अच्युत मैनाली वस्तीलाई एउटा कुशल अध्यापकभन्दा पहिला चर्चित र क्षमतावान कानुन व्यवसायीका रुपमा चिनेको बताउँछन् ।
‘म कानुनको विद्यार्थी हुनुअघि नै उहाँलाई वकिलको रुपमा, वकिलमा पनि न्याय र समानताको पक्षधर वकिल भनेर चिन्थ्यौं’, उनले भने, ‘पछि उहाँको विद्यार्थीका रुपमा प्रमाण कानुनका क्लासमा भेट हुन थाल्यो, एकदमै सरल, भद्र र इमान्दार अध्यापक हुनुहुन्थ्यो ।’
वस्तीले नेपाल ल क्याम्पसबाट २०३२ सालमा बिएबिएल उत्तीर्ण गरेका हुन् । उनकै व्याचका कल्याण श्रेष्ठ प्रधानन्यायाधीश भए । अन्य व्याचीहरु अहिले पनि न्यासेवा र कानुनी अभ्यासमा तल्लिन छन् । उनका एक छोरा र तीन छोरी छन् । अमेरिकामा रहेका छोरा स्वदेश आएपछि आइतबार उनको पशुपति आर्यघाटमा अत्येष्ठि गरिने भएको छ ।