त्रिवि दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन- कुनै शक्तिसँग नझुक्ने स्वाभिमानी नागरिक हौं (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विश्वको कुनै शक्तिसँग पनि नझुक्ने स्वाभिमानी नागरिक भएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले दीक्षित हुने सबैलाई देशभक्तिको भावना नछाड्न आग्रह गरे ।
उनले भने, ‘तपाईंहरु कहिल्यै पनि कुनै पनि शक्तिको अगाडि विश्वमा उपनिवेशवादले दुनियाँमा राज गरेको बेलामा स्वाधीन रहन सकेको सानो मुलुक, जसले हार्न जानेन- त्यस देशका स्वाभिमानी नागरिक हौं हामी । त्यसैले देशभक्तिको भावना छाड्न हुँदैन । हामी बुद्धको देशका मान्छे हौं । हामी शान्ति चाहन्छौं ।’
प्रधानमन्त्री ओलीले अहिले आफूहरुले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नेगरी काम गरिरहेको पनि सुनाए ।
उनले त्रिविमा भएको कमीकमजोरीलाई सच्याउँदै जाने पनि बताए ।