सहकारीको अर्बाैंअरब रकम लुट्नेहरुले देशको सिस्टमलाई नै च्यालेन्ज दिइरहेका छन्: मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको माध्यमबाट लोकतन्त्रलाई सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।
इलामको चुलाचुली गाउँपालिकाको चपेटीमा नेकपा एमाले दमक नगर कमिटीले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सहकारीको अर्बाैंअरब रकम लुट्नेहरुले देशको ‘सिस्टमलाई नै च्यालेन्ज’ गरिरहेको बताए ।
उनले भने, ‘जनताले आधा पेट खाएर सहकारीमा जम्मा गरेको रकम लुट्न कुनै लुटेरालाई छुट छैन । सबै कान्ूनको दायरा आउनुपर्छ ।’
सहकारीको रकम हिनामिना र ठगीमा एमाले, कांग्रेस वा रास्वपा अन्य कोही भए पनि छोड्न नहुने उनको भनाइ छ ।
देशमा राजनीतिक समस्याहरु आएको, लोकतान्त्रिक शासन प्रणाली, कानूनी राज र संविधानको सर्वोच्चतामाथि हस्तक्षेप गर्ने र सिस्टममाथि नै कालो पोत्ने प्रयास भइरहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
उनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै सुशासनको माध्यमबाट देशलाई अगाडि लान नै दुई ठूला दल मिलेर संघदेखि प्रदेशसम्म सरकार गठन गरेको बताए ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाउँदै विभिन्न लाञ्छना लगाउने काम भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले देशका सबै नेताहरुको सम्पत्ति छानबिन गर्न चुनौती दिए ।
सुशसान कायम गर्दै देश विकास गर्न संघमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र प्रदेशमा आफूले काम गरिरहेको उनको भनाइ थियो ।