स्कुलबाटै भूमिगत, स्नातकोत्तर गरेर सांसद भएपछि दीक्षित भए सापकोटा – Nepal Press

स्कुलबाटै भूमिगत, स्नातकोत्तर गरेर सांसद भएपछि दीक्षित भए सापकोटा

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित माधव सापकोटा सुबोध आज त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा दीक्षित भएका छन् ।

माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म भएको उथलपुथलकारी जनयुद्धको उद्गमस्थलमध्येको एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा श्री सेतीदेवी पञ्चकन्या मावि कुविण्डेबाट हासिल गरेका थिए, तर तत्कालीन राज्यद्वारा अपनाइएको दमनकारी नीतिका कारण उनले माध्यमिक तहको पढाइ पूरा नगरी भूमिगत हुनुपरेको थियो ।

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध सापकोटा राज्यका कारण विद्यालयमा उपस्थित हुन नसक्ने अवस्था आएपछि भूमिगत भएका थिए ।

२०५२ साल माघ १८ गते उनी पढेको विद्यालयका शिक्षकलाई पक्राउ गर्न आएका सादा पोशाकका प्रहरीलाई स्थानीयले लखेटेपछि एक प्रहरीको ब्रह्मायणी खोलामा डुबेर मृत्यु भएको थियो । यस घटनापछि सम्पूर्ण कुविण्डे गाउँवासीलाई चौतारामा उपस्थित गराएर प्रशासनले धरपकड, चरम यातना र दमन सुरु गरेको थियो ।

यसैकारण उनी एसएलसी दिन नपाउँदै माओवादीको भूमिगत राजनीतिमा सहभागी भएका थिए ।

जनयुद्धका क्रममा सैन्य र राजनीतिक फाँटमा माथिल्लो तहसम्म पुगेका सापकोटा सुरक्षा फौजसँगको दोहोरो भिडन्तमा पटकपटक गम्भीर घाइते भएका थिए । सापकोटाले शान्ति प्रक्रिया प्रारम्भ भएपछि जनमुक्ति सेनाका लागि राखिएको क्यान्टोनमेन्टमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिएका थिए ।

उनले चितवनको शक्तिखोरमा तत्कालीन जनमुक्ति सेनाका लागि खोलिएको जनसैनिक माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए । उनले प्राइभेटबाट आईए, स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

शनिबार त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा सापकोटासँगै १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा सहभागी हुँदै सापकोटाले फेसबुकमा लेखेका छन्, ‘आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ । कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्‍यो । विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएपछि टुटेको औपचारिक अध्ययन शान्ति प्रक्रियापश्चात जोडेको थिएँ ।’


प्रतिक्रिया

2 thoughts on “स्कुलबाटै भूमिगत, स्नातकोत्तर गरेर सांसद भएपछि दीक्षित भए सापकोटा

  1. बूर्जूवा शिक्षा प्राप्त गरेकोमा बधाइ !! हिजो स्कूलहरू जलाउदा, शिक्षक हरूको हत्या गर्दा , किताब खोसेर जलाउदा गरेका कुकर्म हरू सम्झेर पश्चताप पनि भयो होला , नत्र त पाखण्ड मात्रै हो।

  2. बुर्जुवा शिक्षा नपढ भनेर अरूलाई भाड्यो अनि आफू चाहिँ खुरू खुरू पढेछ । कस्ता फटाहा माओवादीहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *