एमाले गुल्मी-रुपन्देही सम्पर्क मञ्चको अधिवेशन, भ्रम चिरेर उत्पादनमूलक काममा जुट्न आग्रह – Nepal Press

एमाले गुल्मी-रुपन्देही सम्पर्क मञ्चको अधिवेशन, भ्रम चिरेर उत्पादनमूलक काममा जुट्न आग्रह

बुटवल । नेकपा एमालेका नेताद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्टले अहिले मुलुकमा भ्रामक र पूर्वाग्रही हल्ला गरेर समाजमा विग्रह ल्याउने दुस्प्रयास भइरहेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गरेका छन् ।

एमालेको गुल्मी–रुपन्देही सम्पर्क मञ्चको कार्यक्रममा शनिबार बुटवलमा एक साथ सहभागी भएका नेताद्वयले भ्रामक हल्ला र गालीगलौज गरेर नकारात्मकता फैलाउनेहरुको प्रतिवाद गर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

सकारात्मक भाव जगाउने, तथ्यका आधारमा सत्य स्थापित गर्नुपर्नेमा त्यसको ठीकविपरीत होहल्ला, भ्रम र नकारात्मकता फैलाउने काम भइरहेको उनीहरुको भनाइ थियो ।

अहिलेको सरकारले राज्यको स्रोत, साधन, सामर्थ्यका आधारमा प्राथमिकता निर्धारण गरेर दीर्घकालीन योजनामा काम गरिरहेको उनीहरुले औंल्याए ।

‘सकारात्मक र तथ्यपरक विषय उजागार गर्दा नै सामाजिक मनोविज्ञानमा सकारात्मक भाव सिर्जना हुन्छ’, नेताहरुले भने, ‘हरेक व्यक्तिका मनमा सकारात्मक ऊर्जा बढाउने वातावरण निर्माण गर्न अगुवा नेता कार्यकर्ताहरु जुट्नुस् ।’

पार्टीका उपमहासचिव ज्ञवालीले मुलुकको आर्थिक समृद्धिलाई गति दिनेमात्र होइन, ग्रामीण जीवनस्तर सुधार्न र आत्मनिर्भरताको आधार तयार गर्न सरकार केन्द्रित रहेको उल्लेख गरे ।

युवालाई आधुनिक कृषि प्रविधि, व्यवसायिक खेती र कृषि आधारित उद्यमसम्बन्धी तालिम उपलब्ध गराउने र सीपलाई व्यवहारमा परिणत गराउने कार्यक्रम बनिरहेको उनको भनाइ छ ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका उपमहासचिव ज्ञवालीले कृषिमा लागेर प्राप्त भएका सफलताहरुको उदाहरण प्रस्तुत गर्दै गाउँका सम्भावनालाई शहरसँग जोड्दै बजारीकरण विस्तार गर्ने कार्यक्रम बनाउन सकिनेमा जोड दिए ।

अहिलेको केपी ओली नेतृत्वको सरकारले युवाहरूलाई कृषि क्षेत्रमा व्यवसाय सुरु गर्न सहुलियतपूर्ण ऋण, अनुदान, बीमा र भन्सार छुटलगायतका प्रावधान अगाडि बढाएको बताउँदै उनले गाउँमा भएको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न अगुवा नेता कार्यकर्ताहरुले पनि सहजीकरण गरिदिनुपर्ने आवश्यकता औंल्याए ।

पहाडमा भएका उत्पादनहरु जैविक हुने भएकाले विश्व बजारमा माग अधिक रहेको उदाहरण प्रस्तुत गर्दै नेता ज्ञवालीले युवाले सोच र संकल्प लिएर कुनै न कुनै कृषि उद्यममा सरिक हुने हो भने सम्भावना अथाह रहेको उल्लेख गरे ।

जैविक खेती र उच्च मूल्यका बाली पहाडमै फलाउन सकिने भन्दै उनले गुल्मीको सत्यवतीको कफीलाई चितवनका एकजना विज्ञले प्रशोधन गरेर ‘ब्ल्याक आइबेरी कफी’ (कफीका दानालाई बोक्रैसित हात्तीलाई खुवाएर त्यसको मलबाट प्रशोधन गरी तयार पारिने कफी)को नामबाट विश्व बजारमा हजारौं डलर प्रतिकेजीमा विक्री वितरण गरिरहेको सुनाए ।

कृषिलाई उद्योगसँग जोडेर स्थानीय रोजगारी सिर्जना गर्नेगरी सरकारले योजना बनाइरहेको र विदेशबाट फर्कने युवाहरूलाई आफ्नो सीप तथा पुँजी कृषि वा उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने कार्यक्रम बनाइरहेको अर्का नेता विष्टले बताए ।

कृषि कर्म र युवाहरूको विदेश पलायन रोक्ने दीर्घकालीन नीतिहरू निर्माण र कार्यान्वयन गर्नु नै अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले हालसम्मको अनुभव, समस्या र उल्झनबाट पाठ सिकेर मुलुकको समृद्धिमा सरकार केन्द्रित रहेको बताए ।

पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई पनि सुन्दर बनाउने, सबैखाले विचारलाई सम्मान गर्ने, नयाँ र उत्साह जगाउने विचारलाई प्राथमिकता दिने बताउँदै उनले प्रतिरक्षा र प्रतिवाद दुबै काम एकैसाथ गर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताए ।

एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री दिनेश पन्थीले ग्रामीण क्षेत्रमा बाँझो जमिनलाई उत्पादनमूलक उपयोगमा ल्याउने र युवालाई विदेश पलायनबाट रोक्दै स्वदेशमै रोजगारीका सम्भावना सिर्जना गर्नेगरी प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, गुल्मीका अध्यक्ष बालसिंह काउचा, प्रदेश सम्पर्क मञ्चका नेता श्री पाण्डे, पूर्वसचिव केदारचन्द्र भुसाललगायतले सकारात्मक ऊर्जा जगाउनेगरी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सम्पर्क मञ्चका अध्यक्ष हेम थापाको अध्यक्षतामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर