त्रिभुवन विश्वविद्यालय स्थापनाका १० तथ्य : यस्तो थियो अमेरिका–भारत प्रतिस्पर्धा – Nepal Press

त्रिभुवन विश्वविद्यालय स्थापनाका १० तथ्य : यस्तो थियो अमेरिका–भारत प्रतिस्पर्धा

बनाउन खोजेको अमेरिकाको ओरिगन विश्वविद्यालय मोडेलमा, बन्यो भारतको पटना मोडेलमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहको चर्चा अहिले व्यापक छ । मास मिडियादेखि सोसल मिडियासम्म यसकै खुराक आइरहेका छन् । नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको इतिहास आफैँमा रोचक छ ।

देशको पहिलो विश्वविद्यालय बन्दाका नीति, राजनीतिक र कूटनीतिका कथा आकर्षक छन् । यसैसाल मार्टिन चौतारीले बजारमा ल्याएको पुस्तक ‘नेपाल इन द लङ नाइटिनफिप्टिज’मा लोकरन्जन पराजुलीले त्रिवि स्थापनाबारेमा एक खोजमूलक लेख लेखेका छन् ।

अंग्रेजी भाषाको सो खोजमूलक लेख र अन्य विभिन्न सूचनाहरूका आधारमा यहाँ त्रिवि स्थापनाका १० रोचक कुरा राखिएको छ ।

१. सक्रिय राणा शासककै बेला सुरु

नेपालमा २०१६ सालमा स्थापना भएको भनिने भएकोले त्रिविलाई कांग्रेसले आफ्नो स्वामित्व दाबी गर्छ । राजा पक्षधरले पनि दाबी गर्दै आएका छन् । राजा र कांग्रेस दुवैतर्फका अनुहारहरूको योगदान भएरै विश्वविद्यालय बनेको सत्य हो । अर्को सत्य यो पनि हो कि त्रिविको जगमा राणाको उत्तिकै योगदान छ ।

अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले प्रजातन्त्र आउनु भन्दा अगाडि सक्रिय राणा कालमै त्रिवि स्थापनाको कुरा गरेका थिए । २००५ जेठ १४ को सिन्दूरयात्रा मन्तव्यमा मोहन शमशेरले आफूलाई ‘शिक्षाप्रेमी’ र ‘विद्या प्रेमी’ देखाउँदै भनेका थिए, ‘उच्च शिक्षा अत्यन्तै आवश्यक छ र यसैको हेतु हामी नेपालमा एक विश्वविद्यालय स्थापना गर्न चाहन्छौं ।’

मोहनशमशेरले नै ‘विश्वविद्यालय जाँच सभा’ बनाएर प्रतिवेदन बनाउने र त्यसै अनुसार विश्वविद्यालय खोल्ने बताएका थिए । उनकै सक्रिय कार्यकालमा मृगेन्द्रशमशेरको नेतृत्वमा २५ सदस्य ‘विश्वविद्यालय योजना सभा’ बनेको थियो ।

२००६ माघ १० गते पनि मोहन शमशेरले बजेट छुट्याएर २००७ साल वैशाखबाट परियोजनाले मूर्त रूप दिने बताएका थिए । तर, प्रजातान्त्रिक आन्दोलन भएर राणाकालको विश्वविद्यालय सपना त्यसै तुहियो । प्रजातन्त्र आएपछि पनि केहि वर्ष त्यत्तिकै बिते ।

यो पनि पढ्नुहोस्- केयू कथा : वीरेन्द्र विश्वविद्यालय बनाउन राजावादीको र मेडिकल सम्बन्धनमा गिरिजाको दबाब !

२. त्रिभुवनका रानीहरूको अगुवाइमा अगाडी

२०१२ चैत २९ मा राजा त्रिभुवन स्विटजरल्याण्डमा उपचारका क्रममा बितेको प्रथम पुण्य तिथिमा तत्कालीन दुई मुमा बडामहारानीहरू कान्ती राज्यलक्ष्मी देवी शाह र ईश्वरी राज्य लक्ष्मी देवी शाहले त्रिभुवनको नाममा विश्वविद्यालय खोल्ने घोषणा गरे ।

उनीहरूको घोषणलालाई तत्कालीन समयमा गोरखापत्रले समाचार बनाएर लेखेको थियो, ‘स्वर्गीय श्री ५ त्रिभुवनको वार्षिक श्राद्ध दिवसमा राष्ट्रको श्रद्धाञ्जली मौसूफको पुण्यतीथिमा श्री ५ मुमा बडामहारानीहरूबाट श्री त्रिभुवन विश्वविद्यालय सम्बन्धी घोषणा ।’ रानीहरूले प्रारम्भिक खर्च बेहोर्ने पनि बताएका थिए । यस्तै, रानीहरूले ३७५ रोपनी जग्गा दिएको पनि समाचार २०१३ असारमा प्रकाशन भएको थियो ।

३. पहिलो कुलपति नै रानी

राजा त्रिभुवनकी प्रथम रानी कान्ति राज्यलक्ष्मी देवी शाह त्रिविकी प्रथम कुलपति हुन् । त्रिभुवनकी दोस्रो पत्नी ईश्वरी राज्यलक्ष्मी देवी शाह सहकुलपति भइन् । २०१६ मा त्रिभुवन विश्वविद्यालय ऐन २०१६ जेठ २५ मा जारी भएपछि उनीहरू कुलपति र सहकुलपति भएका थिए ।

४. हजारौँको उपस्थितिमा शिलान्यास

२०१५ असार ९ मा त्रिभुवनका दुई रानीहरूले विश्वविद्यालयको शिलान्यास गरे । कीर्तिपुरको शिलान्यासमा भव्य भिड थियो । तत्कालीन कक्षा ९ का विद्यार्थी द्वारिकानाथ ढुंगेलले बताए अनुहार पाँचदेखि सात हजारको भिड शिलान्यास समारोहमा कीर्तिपुरमा भेला भएको थियो ।

५. राणा भवनमा रानीले कक्षा सञ्चालन नमान्दा पढाइमा विलम्ब

त्रिविको कक्षाहरू बनिसकेका राणाका आलिसान भवनमा बनाउन सकिने सुझाव अमेरिकी विज्ञ चाल्र्स बर्नले दिएका थिए । उनले सेतो र लाल दरबारको १४ लाखमै खरिद गरेर कक्षा चलाउन सक्ने सुझाएका थिए ।

नयाँ संरचना बन्ने खर्च ८० लाख लाग्ने र धेरै वर्ष लाग्ने भएकाले यो राम्रो विकल्प भन्ने विज्ञको सुझाव थियो । तर, रानीहरूले मानेनन् । राणासँग बिच्किएका उनीहरूले राणाको भवनमा होइन नयाँ भवनबाटै कक्षा सञ्चालन गर्ने ढिपी कस्दा कक्षा सञ्चालन विलम्ब भयो । राजा त्रिभुवनको पालामै राणा फालिएको तरोताजा मनोविज्ञान भएकोले त्रिभुवनका रानीहरूले त्यसो भएको अनुमान गर्न सकिन्छ ।

६. राजा महेन्द्रकै असहयोग

धेरै सार्वजनिक महत्वका कुरामा सक्रिय देखिने राजा महेन्द्रले त्रिवि स्थापनामा भने सक्रिय सहयोग नगरेको देखिन्छ । कुरै काट्न नसके जस्तो गरेर मात्र उनले कदम चालेको देखिन्छ । त्यसको एक घटनाको रूपमा २०१३ माघ २८ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले सम्बन्धन दिने विश्वविद्यालयको प्रक्रिया सुरु गर्ने निर्णय गर्‍यो । राजालाई पत्र लेख्यो । तर, दिने काम भएन । विश्वविद्यालय सञ्चालनको गति विलम्ब भयो । अमेरिकी विज्ञले पनि राजाकोमा कुरा अड्किएको पत्र लेखिएको पाइएको छ ।

५. प्रधानमन्त्री केआई सिंह विरोधी, उनकै मन्त्री देवकोटा समर्थक

धेरै दस्ताबेजहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई त्रिवि स्थापना र त्यहाँ नेपाली भाषा पढाइ हुने कुरामा जस जान्छ । त्रिवि आयोगका सदस्य तथा सिंहको क्याबिनेटका शिक्षामन्त्री दुवैको भूमिकामा हुँदा उनी सक्रिय सहयोगी देखिन्थे । तर, रोचक कुरा देवकोटा मन्त्री भएका क्याबिनेटका प्रधानमन्त्री डाक्टर केआई सिंह भने नेपालमा विश्वविद्यालय नचाहिएको भन्ने गरेको देखिन्छ ।

६. अध्ययन अनुसन्धान गर्ने विभिन्न चार भाषामा एक भाषा चिनियाँ

त्रिवि स्थापनाकालताका विभिन्न चार भाषाका क्षेत्रमा पनि अध्ययन अनुसन्धान हुने कुरा गरिएका थिए । ती भाषाहरूमा संस्कृति, पाली, प्राकृत र चिनियाँ थिए । अझ रोचक कुरा त्रिविको पठनपाठनको भाषा नेपालीमा हुने कुरा सुरुमै किटान गरिएको थियो ।

७. बनाउन खोजेको अमेरिकाको ओरिगन विश्वविद्यालय मोडेलमा, बन्यो भारतको पटना मोडेलमा

त्रिविको मोडेल अमेरिकी विश्वविद्यालय ओरिगनको मोडेलमा गर्ने भन्ने थियो । सरकारले अमेरिकाको नेपालस्थित सहयोगी निकाय युनाइटेड स्टेट्स अपरेसन्स मिसन (यूएसओएम)को सहयोग लियो । यूएसओएमले हालसालै ओरिगनबाट अवकाश पाएका कुलपति चाल्स बर्नलाई विज्ञको रूपमा नेपालमा बोलायो । उनी २०१२ मंसिर १९ मा काठमाडौं आइपुगे ।

नेपालबाट अमेरिकी विश्वविद्यालय मोडेल बुझाउन तीन सदस्य टोली अमेरिका जाने भयो । त्यसैको लागि जानकारी लिन यदुनाथ खनाल, अमृतप्रसाद प्रधान र जगतबहादुर बुढाथोकी अमेरिका प्रस्थान गरे । यसै क्रममा भारतको चासो बढ्यो । उनले भारतका विश्वविद्यालयहरू हेर्नलाई भ्रमणहरूको प्रायोजन गर्न थाल्यो ।

त्रिवि आयोगमा प्रभाव पार्न थाल्यो । अन्ततः आयोगले अमेरिकी मोडेल नभएर भारतीय र बेलायती मोडेलमै विश्वविद्यालय चलाउने भन्दै २०१३ जेठ ३० मा निर्णय नै गर्‍यो । एस.एस. बन्दरकार नामका एक भारतीय विज्ञ झिकाइए । उनी त्रिवि आयोग र नेपाल सरकार दुवैको सल्लाहकार भए । भारतीयकै हालीमुहाली भयो । न अमेरिकाबाट आएका विज्ञको कुरा सुनुवाइ भयो । न अमेरिका पठाइएका तीन नेपालीको अनुभव व्यवहारमा लागु भयो ।

यसबाट बिच्किएर तत्कालीन समयमा एडुकेसन क्याटर्लीमा यदुनाथ खनालले नेपालले बिसौँ शताब्दीका पछिल्ला वर्षमा आएर भारतको हुबहु नक्कल गरेर विश्वविद्यालय खोलिएकोमा स्वयं भारतीय शिक्षाविद्हरूले निको नमान्ने तर्क गरेका थिए । उनी अमेरिकी मोडेलको विश्वविद्यालय चाहन्थे । भइदियो भारतीय मोडेलको । भारतीयमा पनि पटना मोडेलको ।

सन २००१ मा प्रकाशन भएको अमेरिकी सहयोग निकास यूएसएआइडीले पनि अमेरिकाको उपस्थिति त्रिविमा भारतले नचाहेको लेखेको छ । ‘राजनीतिक रूपमा संवेदनशील उच्च शिक्षा’ क्षेत्रमा अमेरिकाको उपस्थिति र प्रभाव भारतलाई निको नलागेको यूएसएआइडीको लेखमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय सञ्चालनमा जोडबल गर्ने दुवै त्रिभुवनका रानीहरूको माइता भारत हुनु, भारतले त्रिभुवनमा शरण दिएको निकट विगत हुनु, रानीहरू भारत हुँदाका प्रोटोकल अफिसर महाराजाकृष्ण दासगोत्रा काठमाडौँको भारतीय दूतावासको द्वितीय सचिव हुनु र भारतले सक्रिय चासो राख्नु जस्ता घटनाले भारतीय हात अमेरिकी भन्दा माथि परेको बताइन्छ ।

८. बाबुराम आचार्य नै विपक्षमा

इतिहास शिरोमणिको उपाधि पाएका बाबुराम आचार्यले सार्वजनिक रेकर्ड रहनेगरि त्रिविको विपक्षमा बोलेका थिए । इतिहासकारले एउटा बन्न लागेको इतिहासमा किन विमति जनाए यो रोचक सवाल हो ।

९. जग्गा धनी तर्साउन शिक्षक र विद्यार्थीहरूको निर्मास्थलमा परेड

त्रिविमा पर्ने जग्गाधनीहरूको सूचना गोरखापत्रमा पटक पटक आएको देखिएको छ । र, जग्गावालाहरूले समस्या नगरुन् भनेर त्रिवि नेतृत्व र तत्कालीन सरकारी पक्षले उपत्यकाका विद्यार्थी तथा शिक्षकहरूको जुलुस त्रिवि निर्माणस्थलसम्म लगेर परेड खेलाएको थियो । जग्गावालाले समस्या नगरुन् भन्ने मनोवैज्ञानिक डर देखाउन यस्तो गरेको बताइने गरेको पाइन्छ ।

१०. पहिलो उपकुलपति सुवर्ण शमशेर

राणा र राजा पक्षधर मात्रै होइन नेपाली कांग्रेस पक्षधरको पनि त्रिवि स्थापनामा योगदान छ भन्ने एक कडी सुवर्ण शमशेर हुन् । उनी त्रिविका प्रथम उपकुलपति हुन् । उपप्रधानमन्त्री हुँदा उनी उपकुलपति भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा बनेको २००८ को मातृका सरकार होस वा २०१६ को बीपी सरकार, दुवैको समय अनुसार त्रिवि स्थापनामा योगदान थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर