अलपत्र मदननगरको नाममा परेको लफडा, माधव नेपालसँग केशव स्थापितको झगडा
‘दान’ बिना नै बन्न सक्थ्यो एमाले मुख्यालय, बल्खुको ८ रोपनी जमिन ९ वर्षदेखि अलपत्र
काठमाडौं । व्यापारिक कम्पनी भाटभटेनी सुपरस्टोरले ‘दान’ मा दिएको जग्गा सकारेका कारण यतिबेला सत्तारुढ नेकपा (एमाले) विवादमा मुछिएको छ । उक्त कम्पनीले कीर्तिपुर नगरपालिका- २, मैत्रीनगरमा १० रोपनी १४ आना क्षेत्रफलभित्रको जमिन अत्याधुनिक पार्टी कार्यालय निर्माणका नाममा एमालेलाई ‘दान’ मा दिएको हो ।
पार्टी कार्यालय नै बनाउन एमालेलाई कसैले दिएको ‘दान’ नचाहिने उक्त पार्टीका नेता, कार्यकर्ताहरू नै बताउँछन् ।
२०७२ को भूकम्पले क्षति पुर्याएपछि बल्खुस्थित पार्टी केन्द्रीय कार्यालय भत्काइयो र धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय सारियो । त्यहाँबाट अहिले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा कार्यालय चल्दै आएको छ ।
पार्टीको स्वामीत्वमा रहेको बल्खुको आठ रोपनी क्षेत्रफल जमिन भने अहिलेसम्म ‘बाँझो’ छ । त्यहाँ एउटा ठहरा बाँकी नै छ, जहाँबाट पार्टीको बागमती प्रदेशको कार्यालय सञ्चालनमा छ । कमाण्डभित्रै पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको शालिक पनि सग्लै छ, जहाँ प्रत्येक वर्ष जेठ ३ गते माल्यार्पण गर्न नेता, कार्यकर्ताको घुइँचो लाग्छ ।
एउटा व्यापारीले ‘दान’ मा दिएको जमिनमा नयाँ पार्टी कार्यालय बनाउनुको सट्टा पार्टीकै नामको जमिनको सदुपयोग गर्नु उपयुक्त हुने बताउँछिन्, एमालेकी युवा नेतृ उषाकिरण तिम्सिना ।
उनी भन्छिन्, ‘मजस्ता लाखौँ संगठित कार्यकर्ता त त्यही चाहन्छन् नै, आम जनताको तहमा पनि एमालेले त्यसो गरेदेखि हुन्थ्यो भन्ने जनमत पाइन्छ ।’
देश र राजनीतिक दलसमेतलाई दलालहरुको ‘सेटिङ’ मा चलाइन्छ भन्ने कुरालाई चिरेर जाने बेला त्यही कुरा पुष्टि गर्ने व्यवहार पार्टीले गर्न नहुने उनको भनाइ छ ।
यही कुरा उठाउँदा तिम्सिनासहित अर्की नेतृ बिन्दा पाण्डेसहितलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ ।
बल्खुको केन्द्रीय कार्यालय भवनलाई ०७२ वैशाख १२ को भूकम्पले पूर्णतः क्षति पुर्याउनुअघि नै पार्टीले क्षेत्रफल विस्तारसहित अत्याधुनिक कार्यालय निर्माणको थालनी गरिसकेको थियो । २०७० सालमा पार्टीका तत्कालीन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको थियो ।
उक्त समितिले नयाँ भवनको नक्सासमेत तयार पा¥यो । तर, निर्माणको सुरसार हुँदाहुँदै भूकम्पले पुरानो भवनलाई पूर्णतः क्षति पुर्यायो ।
तत्कालीन केन्द्रीय कार्यालयको लेखा फाँट सम्हालेका खेमराज पौडेल भन्छन्, ‘भूकम्पपछि कार्यालय सारियो, लगत्तै पार्टी अध्यक्ष प्रधानमन्त्री हुनुभयो, त्यही वर्ष नाकाबन्दी भयो, अनि नयाँ पार्टी कार्यालय बनाउनुपर्छ भन्ने कुरा सबैले बिर्सिए ।’
हाल नेकपा एसको केन्द्रीय निर्वाचन आयोगका सदस्य पौडेलका अनुसार भूकम्पअघि नै पार्टी कार्यालयको क्षेत्रफल विस्तार र अत्याधुनिक भवन निर्माणका लागि आर्थिक योजना बनाउने, स्रोत जुटाउनेजस्ता कामहरू शुरु भइसकेका थिए । भूकम्प, नाकाबन्दी, सरकार बनाउने र ढाल्ने रस्साकस्सी हुँदाहुँदै ०७४ मा संघीय, प्रदेश र स्थानीय निर्वाचनको चटारोमा पार्टी कार्यालय निर्माणको विषय प्राथमिकतामा परेन ।
पौडेल भन्छन्, ‘त्यसपछि माओवादीसँगको एकता, कोभिडको महामारी हुँदै संसद विघटन र पार्टी विभाजनले सबै कुरा चौपट भइदियो ।’
बल्खु जाने मदनको निर्णय
बल्खुमा पार्टी कार्यालय निर्माण गर्ने योजना तत्कालीन महासचिव मदन भण्डारीले अगाडि सारेका हुन् । तत्कालीन कार्यालय सचिव केशवलाल श्रेष्ठका अनुसार सस्तो ठाउँमा टुक्राटुक्रा जग्गा किन्ने र त्यहीँ पार्टी कार्यालय निर्माण गर्ने मदनको योजना थियो ।
‘मदनले योजना त बनाउनुभयो, काम थाल्ने बेलामा उहाँको निधन भइसकेको थियो’, उनले भने, ‘त्यसपछि वामदेव अलिक बढी तात्तिनुभयो र पार्टी कार्यालय निर्माण सम्भव भयो ।’ े
उक्त कार्यमा श्रेष्ठसहित वामदेव गौतम, राधाकृष्ण मैनालीसहितका नेतालाई पार्टीले जिम्मेवारी दिएको थियो ।
‘पार्टी अफिस बनाउनकै लागि मैले पनि नजिकै एउटा पुरानो घर किनेँ’, श्रेष्ठ भन्छन्, ‘घर मेरो भए पनि पार्टी अफिस बनाउने काममा खटिने सबै कमरेडको सेल्टरजस्तो थियो ।’
त्यहाँ कार्यालय बनाउनुअघि मदनको निर्देशनमा अमृत बोहोरा, साहाना प्रधान र ईश्वर पोखरेलका नाममा टुक्रा–टुक्रा जमिन खरिद गरिएको थियो । सबै जमिन जोड्दा पुगनपुग ६ रोपनी हुने भयो । पछि माधव नेपालले कलंकी मन्दिरबाट सुनारगाउँतिर जाने बाटोमा किनेको ८ आना जग्गा बेचेर बल्खु पार्टी कार्यालयसँगैको डेढ आना जमिन खरिद गरियो । त्यहाँको ऐलानी जग्गासमेत पार्टी कार्यालयको नाममा पास गरिँदा कूल क्षेत्रफल करिब आठ रोपनी भएको खेमराज पौडेल बताउँछन् ।
बागबजारमा झगडा
बल्खुमा पार्टी कार्यालय बनाउनका लागि टुक्रा–टुक्रा जग्गा किन्ने काम भएको सूचना पाएपछि तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका महासचिव रहेका केशव स्थापित र अन्य नेताबीच एक किसिमको झगडै परेको थियो ।
त्यसबेला पार्टी कार्यालय बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा थियो । स्थापितको जानकारीबेगर नेताहरुले बल्खुमा जग्गा किनेको सुनेपछि माधव नेपालसँग उनको भनाभन चल्यो ।
‘त्यो जग्गा नै होइन, खोलाको माटो थुप्रिएको ठाउँमा घर बनाउनै मिल्दैन’, स्थापितले नेपाललाई भनेका थिए । ‘जग्गा किनिसकियो, अब भवन बन्छ’, माधवले यस्तो जवाफ दिएपछि स्थापितले चुनावमा उठेको एक पैसा पनि उक्त भवन निर्माणमा नहाल्ने निर्णय सुनाए ।
‘०५१ को मध्यावधि चुनावको लागि पार्टीसँग एक पैसा थिएन, मैले र उदयरराज पाण्डेले चुनाव खर्च उठाउने जिम्मा पाएका थियौँ’ स्थापितले सुनाए, ‘चुनावमात्रै हैन, पार्टी अफिस नै किन्ने पैसा उठाउँछु भनेको थिएँ ।’
स्थापितले कोर एरियामै पार्टी अफिस किनिदिन्छु भन्दाभन्दै नेताहरू भित्रभित्रै खोलाले भासिएको जमिन किनेको सुन्दा रिस उठेको उनले बताए ।
आफूले पार्टी कार्यालय बन्नुअघि नै जमिन कमजोर भएको कुरा ०७२ को भूकम्पले पुष्टि गरेको स्थापित बताउँछन् ।
मनमोहनद्वारा उद्घाटन
बल्खुस्थित पार्टी कार्यालय भवनको उद्घाटन २०५२ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष मनमोहन अधिकारीले गरेका थिए ।
कार्यालय सचिव केशवलाल श्रेष्ठ सम्झिन्छन्, ‘कार्यालय त बन्यो, तर जग्गा मिलेको थिएन ।’ मूल सडकबाट कार्यालय पुग्ने बाटो थिएन । खोलाको बगरमा अलिकति ऐलानी जग्गा थियो । त्यो किन्नका लागि पैसा थिएन । त्यसैले तत्कालीन महासचिव माधवकुमार नेपालले निजी जग्गा बेचेर जमिन किनेपछि काठको पुल हालियो । ‘केही वर्ष काठको पुलबाटै ओहोरदोहोर चल्यो’, श्रेष्ठले भने, ‘पछि साथीहरू मन्त्री हुन थालेपछि सरकारी योजनामा हालेर पक्की पुल बनाइएको हो ।’