कांग्रेस विधि र नीतिमा अडिग छ : प्रवक्ता डा. महत
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताएका छन् ।
नुवाकोटको पञ्चकन्या-४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवि कायम राख्न कांग्रेस सफल हुँदै आएको बताए ।
प्रवक्ता डा. महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारवाही, निलम्बन र निष्कासन हुने गरेको भन्दै वाक-स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको दाबी गरे ।
महतले २०८४ सालको चुनाव नुवाकोटबाटै लड्ने घोषणा गरे ।
प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य सीता मिजार, कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, नेता डा. केदारनरसिंह केसी, कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, तरुण दल १ नं. क्षेत्रीय अध्यक्ष शरण घलेलगायतले पार्टीमा युवाको सहभागिताका लागि भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए ।