‘सभापतिसँग कुनै मतभेद छैन, गगन थापा मसँगै छन्’ (भिडिओ) – Nepal Press

‘सभापतिसँग कुनै मतभेद छैन, गगन थापा मसँगै छन्’ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिसँग आफ्नो कुनै मतभेद नरहेको प्रष्टीकरण दिएका छन् ।

प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सभापतिसँगै आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नभएको बताए ।

उनले पार्टीभित्र भएका बहसलाई सञ्चारमाध्यमले बढाइचढाई लेख्ने गरेको उल्लेख गरे । कोइरालाले गगन थापा आफूहरूसँग नै रहेको भन्दै आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने विषयमा कुनै कुराकानी नभएको बताए ।

पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको उनले बताए । गगन थापा र पूर्वराजाबीच भेटवार्ता भएको विषयमा आफूलाई कुनै जानकारी नभएको उनको जिकिर छ ।

त्यस्तै कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार बनाउनुपरेको बताए । संविधानलाई सुधार गर्नका लागि पनि दुई दल मिल्नुपरेको उनले बताए । संविधान सुधारका लागि दुई दलबीच गृहकार्य सुरू भइसकेको भन्दै कोइरालाले अन्य दलहरूसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

अहिलेको गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने र कांग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने कोइरालाको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर