जुवामा हारेको रकम असुलीका लागि धम्की दिने डाक्टर १५ हजार धरौटीमा रिहा
काठमाडौं । अमेरिकामा जुवा खेलेर हारेको पैसा उठाउन काठमाडौंमा विभिन्न व्यक्तिलाई धम्की दिने मेडिकल डाक्टर आशिष दाहाल १५ हजार धरौटीमा रिहा भएका छन् ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शंखमूलबाट गिरफ्तार गरिएका दाहालले रकम असुलीका निम्ति विभिन्न व्यक्तिलाई मोबाइल र ह्वाट्सयापबाट धम्की दिएको, तर रकम असुली गरिएको नभेटिएपछि जिल्ला अदालतले सामान्य धरौटीमा रिहा गरेको हो ।
मानसिक सन्तुलनमा समस्या देखिएका कारण उनले केही व्यक्तिलाई धम्क्याएको, तर असुली धन्दा चलाउने नियत ठहर नभएपछि न्यायाधीश शिवप्रसाद खनालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनायो ।
मानसिक सन्तुलनमा समस्या भएकै कारण प्रहरीले उनलाई नियमित हिरासतमा नराखी आफन्तको जिम्मामा हाजिर जमानीमा छाडेको थियो ।
उनका विरुद्ध लक्ष्मी बराल (सुधा), किरण श्रेष्ठ, सरोज पौडेल, प्रकाश गुप्ता, नरेन्द्र गुप्ता, दाना हमाल, निरेश ढुंगेलसहितले जाहेरी दिएका थिए ।