बागमतीका सरकारी अस्पताल समितिमा दलीय भागबण्डा, पूर्वसांसददेखि मन्त्रीका पतिसम्मलाई अध्यक्ष
हेटौंडा । बागमती सरकारले प्रदेशका ११ वटा सरकारी अस्पतालमा दलीय भागबण्डामा व्यवस्थापन तथा सञ्चालक समितिको अध्यक्ष नियुक्त गरिएको छ ।
प्रदेशका सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डामा नियुक्त गरिएकाहरूमा बहालवाला मन्त्री, पूर्वप्रदेशसभा सभासददेखि पार्टी निकटका नेता कार्यकर्तासम्मका व्यक्ति रहेका छ्न् ।
कांग्रेसको भागमा नियुक्ति पाएका प्रकाश खड्गी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीका पति हुन् । त्यस्तै प्रदेशका पूर्वसांसद शशीजंग थापा पनि सूचीमा छन् ।
मन्त्री खड्गीका श्रीमान् प्रकाशलाई टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको अध्यक्ष नियुक्त गरिएको छ भने पूर्वसांसद थापालाई भक्तपुर अस्पतालको अध्यक्षमा नियुक्त गरिएको छ ।
बागमतीका १२ सरकारी अस्पतालमा कांग्रेस र एमालेले समान ६-६ वटा अध्यक्ष भाग लगाएका छन् ।
कांग्रेसले काठमाडौं, रामेछाप, सिन्धुली, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक तथा एमालेले चितवन, धादिङ, काभ्रे, भक्तपुर, दोलखा, ललितपुर लिने सहमति अनुसार हाल ११ स्थानमा अध्यक्ष नियुक्त गरिएको हो ।
रामेछाप अस्पतालमा यमकुमार पाख्रिन, नुवाकोटको त्रिशूली अस्पतालमा उपेन्द्र बुढाथोकी नियुक्त भएका छन् ।
नुवाकोटकै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अध्यक्षमा शिवकुमार चित्रकार नियुक्त भएका छन् । यसैगरी रसुवा अस्पतालमा विवश श्रेष्ठ र सिन्धुपाल्चोकको चौतारा अस्पतालमा केशवराज गिरी नियुक्त भएका छ्न ।
यसैगरी एमालेको भागमा परेका चितवनको बकुलहर रत्ननगर अस्पतालमा गोपाल कर्माचार्य, धादिङ अस्पतालमा राधिका सापकोटा र काभ्रेको मेथिनकोट अस्पतालमा विष्णुप्रसाद खनाल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पतालमा सुवास रिमाल र ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालमा रामहरि घिमिरे र भक्तपुरमा पूर्वसांसद शशीजंग थापा नियुक्त भएका छ्न् ।