नागार्जुनका मेयर बस्नेतमाथि घुस र सम्पत्ति शुद्धीकरणको मुद्दा, २२ करोडभन्दा बढी बिगो दाबी
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी पत्नी उर्मिला र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलका साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतसँग २२ करोडभन्दा बढी बिगो दाबी गरिएको छ । बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापतिसमेत छन् ।
प्रमुख बस्नेतले आफ्नी श्रीमती बस्नेतसँगको मिलेमतो तथा योजनामा मेयरको पद तथा ओहोदाको दुरुपयोग गरी नगरपालिकामै कार्यक्षेत्र रहेको घरजग्गा व्यवसायी पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि, जगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालक कँडेलसँग घुस लिने मनसायले प्रतिष्ठानलाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको तथा दिन लगाएको पाइएको छ ।
यस्तै प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गराएर उक्त प्रतिष्ठानको ख्यातिमा वृद्धि गरेको पाइएको छ ।
साथै प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भन्दै विभिन्न जग्गा कँडेलले तथा उसको कम्पनीलाई उपलब्ध गराउने गरी सम्झौता गराएको र सोही सम्झौतासमेत कार्यान्वयन गर्न गराउन जग्गाधनीलाई गलतफहमीमा पारेर जग्गाधनीसँग सम्झौता गराई विभिन्न जग्गा मेयर बस्नतेले ३ करोड ७२ हजार रकम जग्गाधनीलाई भुक्तानी दिएर प्रतिष्ठानले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनासमेत गराएको भेटिएको छ ।
बजार मूल्य ४७ करोड ७५ लाख भएको विभिन्न जग्गा पद्मा कोलोनी प्रालिले जग्गाधनीलाई जम्मा १८ करोड ९४ लाख १८ हजार ४४८ भुक्तानी दिएको, राजस्व र बैना रकमसमेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार भुक्तानी गरी विभिन्न जग्गा बजार मूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार कम मूल्यमा कँडेल तथा उनको कम्पनीले प्राप्त गरेको तथा गराएको पाइएको छ ।
बस्नेतले श्रीमतीसँगको मिलोमतो तथा योजनामा बैंक खातामार्फत २ करोड १५ लाख ७३ हजार ३९५ रकम, ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र शंकर होटलमा भुक्तानी गर्न लगाएको वैवाहिक भोज गर्दाको खर्च २४ लाख ७२ हजार ६३७ समेत गरेर ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बराबर घुस बस्नेत र उनकी श्रीमतीले पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा कम्पनीका सञ्चालक कँडेलबाट लिएको पुष्टि भएको छ ।
उक्त घुस लिएको भ्रष्टाचारजन्य कसूर गरी आर्जन गरेको ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने छल्ने उद्देश्यले उनीहरुले आपसी मिलेमतो र योजनामा उक्त सम्पत्ति ऋण भुक्तानी, मेयर बस्नेतकी श्रीमतीको नाममा रहेको जग्गामा घर निर्माण, विभिन्न व्यक्तिलाई भुक्तानीसमेत गराएर सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने, रुपान्तरण तथा हस्तान्तरण गर्ने कार्य गरेको भन्दै १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको सम्पत्ति शुद्धीकरण गरेको भन्दै उक्त रकम बराबरको माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।