आरती रावल पुनः आमरण अनसनमा, कारबाहीका लागि न्याय परिषद्समक्ष गुहार
काठमाडौं । आरती रावल कैदमा रहेका बलात्कार दोषी पूर्वन्यायाधीश भुवन गिरीलाई उन्मुक्ति नदिन उच्च अदालत पाटनलाई खबरदारी गर्दै पुनः सडकमा उत्रेकी छन् ।
आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै रावलले कपिलवस्तु जिल्ला अदालतले वारदात प्रमाणलाई नजरअन्दाज गरी तथ्यविनाको फैसला गरेको भन्दै न्याय परिषद्मा दिएको उजुरीको प्रक्रियासमेत नबढेको आरोप लगाइन् ।
रावलले २०८१ मंसिर ७ कपिलवस्तु जिल्ला अदालतका बहालवाला न्यायाधीश शिवबहादुर थापाले दोषी भुवन गरीलाई बचाउँदै फैसला गरेको आरोप लगाएकी छन् । परिषद्मा हालेको उजुरीको प्रक्रिया अगाडि नबढाएको तथा यता कैद सजाय भोगिरहेका बलात्कार दोषी पूर्वन्यायाधीश गिरीलाई उच्च अदालत पाटनले उन्मुक्ति दिने षड्यन्त्र गरेको आरोप लगाएकी छन् ।
रावलले भनिन्, ‘अदालतले प्रमाण हेर्छ, मेरो केस (सम्बन्ध विच्छेद चलिरहेको आवस्थामा पटके जबरजस्ती करणी)घटना वारदात समयमा मलाई मेरै कोठामा बन्धक बनाएको अवस्थामा काठमाडौं गोङ्गबु प्रहरीले भुवनलाई पक्राउ गरेको थियो ।’
डाक्टरको बयान तथा वारदातको अवस्थाबाट भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख जरिवानासहित फैसला गरेको अवस्थामा उच्च अदालत पाटनले उल्ट्याउन नमिल्ने उनको भनाइ छ ।
भुवन गिरी पुनरावेदनको लागि उच्च अदालत पाटन धाउँदै गर्दा रावलले उन्मुक्तिको लागि चलखेल भइरहेको आरोप लगाउँदै भनिन्, ‘सजायको लागि बलियो प्रमाण नै भुवन गिरीको योजनामा अदालतबाटै गायब पारिएको छ ।’
पीडित रावलले एकातिर कपिलवस्तु अदालतले अघिल्लो मुद्दामा भुवनलाई वैवाहिक बलात्कारको मुद्दामा उन्मुक्ति दिएको तथा अर्कातिर पुनरावेदनमा पूरै प्रमाण नपुगी जिल्लाबाट नै गायब हुँदा थप पीडा भएको बताइन् ।
पुनरावेदनबाट भुवनलाई पदीय हैसियतअनुसार थप सजायको माग गर्दै आफू आमरण अनसनमा उत्रिएको उनले बताइन् । रावलले न्यायको क्रममा सडक वा न्यायालयभित्र आफ्नो मृत्यु भएमा आफ्ना शरीरका हरेक अंग नेपाल सरकारलाई दान हुने घोषणा गरेकी छन् ।