कागेश्वरी गोलीकाण्ड: छोरीमाथि कुदृष्टि ! बाबुआमा गोलीकाे शिकार
काठमाडौं । कसैकी छोरी एकतर्फी मन पर्नसक्छ, तर त्यही नाममा बाबुआमाले गोली खानुपर्ने हुन सक्दैन । कागेश्वरी मनोहरा नगरपालिका- ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै शनिबार राति साढे १० बजे छोरीकै कारण आमाबुबाले गोली खानुपर्यो ।
स्थानीय अर्जुन श्रेष्ठ र शान्तिदेवीलाई उनीहरुकी नाबालिक छोरीमाथि कुदृष्टि राख्ने साहिल शंकर भनी चिनिने युवकले गोली प्रहार गरेका हुन् ।
घटनापछि प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ७ घर भएका शंकरलाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले औपचारिक रुपमा घटना हुनुको निश्चित कारण यस्तै हो भनी खुलाएको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता एसपी नवराज अधिकारीले ‘व्यक्तिगत रिसइबी’ले मात्रै घटना भएको प्रतिक्रिया दिएका छन् ।
नियन्त्रणमा लिने क्रममा शंकर र प्रहरीबीच भागदौडसमेत चलेको थियो । त्यस क्रममा शंकर घाइते भएका छन् ।
अहिले पीडित दम्पतीसहित शंकरको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भइरहेको छ । घाइतेमध्ये अर्जुनको कम्मरमुनि चोट छ । शान्तिदेवीको गाला र घाँटीमा चोट रहेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने शंकरको भागदौडका क्रममा टाउको र खुट्टामा चोट लागेको छ । प्रहरीका अनुसार तीनै जना खतरामुक्त छन् ।