स्वतः प्रकाशन हुने सूचनाबारे सूचना अधिकारीहरु नै अलमलमा – Nepal Press

स्वतः प्रकाशन हुने सूचनाबारे सूचना अधिकारीहरु नै अलमलमा

डोटी । डोटीको सायल गाउँपालिकाका सूचना अधिकारी चेतेन्द्र कार्की आफुलाई स्वतः प्रकाशन गर्नु पर्ने सूचनाको वारेमा कुनै जानकारी नभएको बताउँछन् ।

‘म सूचना प्रविधि अधिकृत हुँ, केही समयदेखि सूचना अधिकारीको काम समेत गरिरहेको छु’ कार्कीले भने ‘मलाई सूचना अधिकारीको काम, कर्तव्य र अधिकार वारेमा पनि खासै जानकारी छैन ।’ उनी स्वतः प्रकाशसन गर्नु पर्ने विषयमा आफुले पहिलो पटक सुनेको बताउँछन् ।

कृषि अनुसन्धान निर्देशनालय भागेतडाका सूचना अधिकारी नवराज भट्टलाई स्वतः प्रकाशन हुने सूचनाको बिषयमा जानकारी छैन । उनी भन्छन् ‘हाम्रो कार्यालयले जनतालाई प्रत्येक्ष रुपमा सेवा प्रवाह गर्दैन, त्यसैले त्यस्ता सूचना प्रकाशन गर्नु पर्छ भन्ने बिषयमा मलाई ज्ञान भएन ।

जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरुको बैठकमा सहभागि अधिकांश सूचना अधिकारीहरुले आफ्नो कार्यालयबाट सूचनाको स्वतः प्रकाशन नहुने गरेको वताए । ‘म सूचना अधिकारी भएको थोरै समय भएको छ, हालसम्म यो अभ्यास थिएन’, दिपायल सिलगढी नगरपालिकाका सूचना अधिकारी डिलवहादुर महरा भन्छन्’, ‘अव यो त्रैमासिकदेखि नियमित रुपमा त्रैमासिक सूचना प्रकाशन गर्ने गरि तयारी गरिरहेको छु ।’

जिल्ला अस्पताल डोटीका सूचना अधिकारी नारद भट्टले हालसम्म कार्यालयको वेवसाईट व्यवस्थित हुन नसकेका कारण स्वतः प्रकाशन हुने सूचना प्रकाशन हुन नसकिएको वताउँदै अव वेवसाईट पनि व्यवस्थित भईसकेको हुँदा नियमित रुपमा स्वत प्रकाशन गर्नु पर्ने सूचना वेवसाईटमार्फत सार्वजनिक गरिने वताए ।

कार्यक्रममा सञ्चारकर्मीहरुले सार्वजनिक निकायहरुले स्वतः प्रकाशन गर्नु पर्ने सूचना नियमित प्रकाशन भईदिए आफुहरुलाई पनि सूचना पाउन सहज हुने वताएका थिए । कान्तिपुरकर्मी मोहन शाहीले भने ‘मलाई सूचना चाहियो भने सवैभन्दा पहिले सम्वन्धित कार्यालयको वेवसाईट हेर्छु,, वेवसाईट नपाएपछि मात्रै मैले सूचना अधिकारीलाई सम्पर्क गर्छु । त्यसैले वेवसाईट व्यवस्थित भए हामीलाई पनि सहज हुन्छ ।’

सूचना अधिकारीहरु आफै पनि कार्यालयका सूचनासंग अपडेट हुनु पर्ने वताउँछन् अर्का सञ्चारकर्मी खगेन्द्रवहादुर सिंह । उनी भन्छन् ‘सूचना अधिकारीहरुनै सूचनाप्रति जानकार हुँदैनन्, अनि हामीले मागेको बेला कसरी प्राप्त हुन्छ सूचना ।’

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सवै सार्वजनिक निकायका वेवसाईटहरु अद्यावधिक गरी नियमित रुपमा स्वतः प्रकाशन हुने सूचना सार्वजनिक गर्न सूचना अधिकारीहरुलाई निर्देशन दिए ।

‘यो वैठक औपचारिकता पुरा गर्नका लागि मात्रै होईन्, जनताको सूचनाको हक प्रयोग गर्न कसरी सहज हुन्छ भनेर नियमित बैठकको आयोजना गरिएको हो’, प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘बैठकमा भएका निर्णयहरु कार्यान्वयनमा आउनु पर्छ, कसैले वहाना वनाउनु हुँदैन ।’

उनले सार्वजनिक निकायले औपचारिकता पुरा गर्नका लागि मात्रै सूचना अधिकारी नियुक्त गर्न नहुने वताए । उनले थपे, ‘सूचना अधिकारी त्यो कार्यालयको सवै सूचनाका वारेमा अद्यावधिक हुनु जरुरी छ, हैन भने नामको मात्र सूचना अधिकारी भईरहन जरुरी छैन ।’ प्रमुख जिल्ला अधिकारी जोशीले सूचना अधिकारीहरुको अद्यावधिक विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन समेत निर्देशन दिएका छन् ।

सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५ अनुसार हरेक सार्वजनिक निकायले प्रत्येक तीन महिनामा आफ्ना गतिबिधिहरुको विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेको छ । जसलाई स्वतः प्रकाशन हुने सूचनाहरु भन्ने गरिन्छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *