कृषि उत्पादनमा जोड, बजारीकरणलाई चुनौती मान्न अस्वीकार : मन्त्री शाह
सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कृषि उपजको उत्पादन वृद्धि कर्णाली प्रदेशको मुख्य प्राथमिकता भएको बताएका छन् । मन्त्री शाहका अनुसार प्रदेशमा कृषि उत्पादनको अभावकै कारण बजारमा डिमान्ड पूरा हुन नसकेको हो, बजारीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजनामा आइतबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शाहले उत्पादनको पारम्परिक मोडेललाई परिवर्तन गरी किसानलाई आधुनिक कृषि पद्धतिमा जोड दिनुपर्ने बताए । उनले भने, ‘हाम्रो समस्या बजारीकरण होइन, उत्पादनको न्यूनता हो। नयाँ प्रविधि र कार्यशैली अपनाएर उत्पादन बढाउनु नै प्राथमिकता हो ।’
सरकारले वास्तविक किसानहरूको पहिचानमा जोड दिएको उल्लेख गर्दै मन्त्री शाहले कृषि अनुदानलाई पारदर्शी बनाउन ठोस कदम चालिएको दाबी गरे । ‘पहिले अनुदानको दुरुपयोग हुने गुनासो आएको थियो। अब अनुदान वितरण प्रतिस्पर्धात्मक प्रक्रियाबाट हुनेछ, कुनै पनि निजी व्यक्तिलाई सिधै बजेट विनियोजन गरिने छैन’, उनले स्पष्ट पारे ।
कार्यक्रममा मन्त्री शाहले निजी क्षेत्रको सहकार्य बिना कृषि विकास सम्भव नभएको उल्लेख गर्दै सरकारले व्यवसायिक कृषिलाई प्रोत्साहन गर्न निजी क्षेत्रलाई आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कृषि बस्तुहरूको उत्पादन तथा बजारीकरण सम्बन्धी अवसर र चुनौतीमाथि केन्द्रित अन्तरक्रियामा सहभागीहरूले उत्पादन र बजारीकरणबीचको अन्तरसम्बन्धबारे छलफल गरेका थिए । कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्न स्थानीय तह, निजी क्षेत्र र किसानबीच सहकार्य अपरिहार्य रहेकोमा सबै पक्षको सहमति रहेको छ ।