गल्ती स्वीकार्न किन छैनौं तयार ?
एकैछिन आफ्नो विगतलाई फर्केर हेर्न आग्रह गर्छु । आजको दिनसम्म हामीले सोचेका कुराहरुले कति पटक हावा खाइसके ? कति पटक हाम्रा निर्णयहरु गलत सावित भइसके ? सायद धेरै पटक ! तर पनि हाम्रो अहंकार मैले गल्ती गर्नसक्छु वा म गलत पनि हुनसक्छु भन्ने कुरालाई स्वीकार्न किन तयार हुँदैन ? किनकि हाम्रो अहंकारलाई आफू सधैं सही छु भन्ने नै लाग्छ । ‘म सही छु’ को मतलब अरु गलत छन् वा भनौं अरुलाई गलत देखाएर आफू सही नहुन नि सक्छ !
कुन सत्यलाई आधार मानेर हामी सही र गलत वा राम्रो र नराम्रोको मापदण्ड बनाइरहेका छौं ? जब कि सबैले आआफ्नै मूल्य मान्यता अनि विश्वासमा अडेर संसारलाई देख्ने र बुझ्ने गर्छ वा भनौं आआफ्नो सत्यको निर्माण गर्छ । आफ्नो सोचअनुसार मिल्यो भने सही र आफ्नो सोचभन्दा फरक हुँदा खराब वा गलत भनी बुझ्ने, यो हाम्रो सोच नै गलत छ । वास्तवमा हाम्रो मनले निर्माण गरेका सत्य भनेको अन्धा र हात्तीको कथामा अन्धाहरुले हात्तीलाई बुझ्न खोजे जस्तै हो, तर आफ्नो ज्ञानको सीमिततालाई बुझ्न नसक्दा ज्ञानको भ्रममा परेर अज्ञानको भूमरीमा फस्न पुग्छौं ।
पूर्वीय अध्यात्मले सांसारिक ज्ञानलाई बन्धन मान्छ । किनकि ज्ञानले नै अहंकार जन्माउँछ र यही अहंकारले जगत । चेतनाको प्रथम भाव नै ‘म हुँ’ भन्ने हो, तर हामी सबैले आफ्नो शरीर र मनलाई नै ‘म’ भन्ने बुझिरहेका छौं । यही नै हाम्रो अहंकार हो । अर्थात ‘म’को भ्रम हो । हामी जसलाई ‘म’ भनिरहेका छौं, त्यो म भनेको हाम्रो आफ्नै समाज वा परिवेशसित अन्तरघुलन हुँदाका सफलता र असफलता अनि राम्रा नराम्रा अनुभवहरु (विशेषगरी बाल्यकालका अनुभवहरु)ले बनाएका विश्वासहरु मात्र हुन्, जसमा टेकेर हामीले आफू र आफ्नो जगतप्रति एउटा धारणा निर्माण गरेका हुन्छौं ।
मनको अभिव्यक्ति नै विचार हो । मनमा जमेका कामना अनि वासनाले जे हो, त्यही होइन, जे चाहेको हो, त्यहीमात्र देख्ने हुन्छ । सत्य देख्न कामना अनि वासना छोड्नुपर्छ । ‘ब्रम्ह सत्य, जगत मिथ्या’ त्यसैकारण भनिएको हो ।
यसरी ‘म’को निर्माण भइसकेपछि त्यसको वैधतामाथि थप प्रश्न नगरी सोहीअनुसार आफ्नो अस्तित्वलाई पुष्टि गर्न आआफ्नो कर्म गर्छौं । त्यसैले हामी आफूलाई जे हौं भनिरहेका छौं, त्यो हाम्रा आफ्नै विगतका अनुभवहरुले रोपिएका विचारमात्र हुन् । मनको अभिव्यक्ति नै विचार हो । मनमा जमेका कामना अनि वासनाले जे हो, त्यही होइन, जे चाहेको हो, त्यहीमात्र देख्ने हुन्छ । सत्य देख्न कामना अनि वासना छोड्नुपर्छ । ‘ब्रम्ह सत्य, जगत मिथ्या’ त्यसैकारण भनिएको हो । आत्म ज्ञानले आफ्नो व्यक्तित्व र अस्तित्वबिचको फरकलाई बुझ्न मद्दत गर्छ ।
स्नायुविज्ञानले चेतनालाई मस्तिष्कका स्नायु कोषिकाहरुको सञ्जाल भन्छ, जसले विचार अनुभूति अनि व्यवहारलाई सम्भव बनाउँछ । स्नायुविज्ञानको दाबीअनुसार हाम्रो मस्तिष्कले हाम्रो सम्पूर्ण शरीरको २० प्रतिशत शक्ति/ऊर्जा खपट गर्छ, तर मस्तिष्कमा हुने रक्तसञ्चारले एक चोटिमा त्यहाँका तीन प्रतिशत कोषिकाहरुमात्र उच्चतम रुपमा सक्रिय राख्न पर्याप्त हुने ऊर्जा आपूर्ति गर्नसक्छ । यही ऊर्जाको बचत र समुचित उपयोगका लागि मस्तिष्कले जुन समयमा जुन भाग प्रयोग भइरहेको छ, त्यसमा मात्र ऊर्जा मिलाउँछ । यो भनेको बिजुलीको बचत गर्न हामी जुन कोठामा बसेका छौं, त्यसमा मात्र बत्ती बाल्ने जस्तो हो ।
मस्तिष्कलाई उपलब्ध ऊर्जा र यसको भण्डारण मात्राको समस्याबाट छुट्कारा पाउन मस्तिष्कले बाहिरी संसारबाट पाएका धेरै सूचनाहरुलाई छानेरमात्र धारण गर्छ । पूर्वनिर्धारित प्रणालीसँग मेल नखाने सूचनाहरु भने फालिन्छन्, जुन अचेतन रुपमा नै भइराखेको हुन्छ । त्यसैले हामीलाई थाहा नभएको कुरा थाहा नै पाउँदैनौं र केही कुरा छुटिरहेको छ भन्ने कुरा अनुभूति नै हुँदैन ।
हामीले जे कुरा देख्न, सुन्न र अनुभूति गर्न चाहेका हौं, त्यही मात्र देख्ने, सुन्ने र अनुभूति गर्ने हुन्छौं । यसरी आफूले देखेका, सुनेका कुराहरुलाई अचेतन रुपमै व्याख्या गर्ने र अर्थ लगाउने हुनाले फरक फरक मानिसको लागि सत्य पनि फरक लाग्नु स्वाभाविक हो ।
त्यस्तै हाम्रो मस्तिष्कले आफूले ग्रहण गरेका सूचनाहरुलाई विगतका अनुभवहरुसँग जोडेर अनुमान लगाउने वा भनौं अर्थ लगाउने काम गर्छ, जसले गर्दा हामीले जे कुरा देख्न, सुन्न र अनुभूति गर्न चाहेका हौं, त्यही मात्र देख्ने, सुन्ने र अनुभूति गर्ने हुन्छौं । यसरी आफूले देखेका, सुनेका कुराहरुलाई अचेतन रुपमै व्याख्या गर्ने र अर्थ लगाउने हुनाले फरक फरक मानिसको लागि सत्य पनि फरक लाग्नु स्वाभाविक हो । हाम्रो मस्तिष्कले यसरी आफूलाई सीमित रुपमा उपलब्ध ऊर्जाको बचतका लागि अवलम्बन गरेको स्वचालित छोटो बाटोका कारण प्रायःजसो हाम्रो मनले धोका पनि खाइराखेको हुन्छ र जे हो, त्यसलाई देख्न नसक्ने र जे होइन त्यसको भ्रममा फस्ने समस्या सृजना हुन्छ । जसलाई मनोविज्ञानले संज्ञानात्मक पूर्वाग्रह (cognitive bias) भनी व्याख्या गरेको छ । यस्ता संज्ञानात्मक पूर्वाग्रह १५० भन्दा बढी पत्ता लागिसकेका छन् ।
हाम्रो दैनिक व्यक्तिगत जीवनमा अनि अहिले संसारमा भइरहेका विवाद र द्वन्द्वहरुलाई हेर्दा देख्छौं कि सबै आफूलाई सही दाबी गरिरहेका हुन्छन् र अरुलाई गलत प्रमाणित गर्न तर्कको बल लिइरहेका हुन्छन् । यतिसम्म कि तथ्य र प्रमाण आफ्नो सोचविरुद्ध भए, त्यसलाई पनि नजरअन्दाज गरी आफ्नो तरिकाले अर्थ लगाइदिन्छ । आफ्नोभन्दा फरक सोचविचारलाई सुन्ने धैर्य पनि नराखेर यसरी प्रस्तुत हुन्छन् कि आफू जस्तो बुद्धिमान अरु कोही छैन, आफू नै सर्वज्ञाता । मलाई सबै थाहा छ भन्ने, तर मलाई के थाहा छैन भन्ने कुरा थाहा नहुने विचराहरु आफ्नो बुद्धिको सीमितताबारे अनभिज्ञ त हुने नै भए, अझ आफ्नो बुद्धि चलाउन नसक्नेहरुलाई पनि भ्रममा पारिदिन्छन् ।
अहिले सूचना प्रविधिको विकासले सूचनाहरुमा पहुँच बढेसँगै मस्तिष्कलाई सही र तथ्यपरक सूचना छुट्ट्याउन पनि गाह्रो भएको छ । यस वर्षको वर्ष शब्दको रुपमा चयन गरिएको ‘ब्रेन रौट’ ले सामाजिक सञ्जालमा उपलब्ध सामग्रीहरुको अत्यधिक उपभोगमा भुल्दा निम्त्याउने मानसिक एवम् बौद्धिक स्खलनलाई दर्शाउँछ । भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनका बेला ‘कीर्तिपुरको डाँडामा ल्यापटप’ भाइरल भयो । म आफैं पनि मतदाता रहेको क्षेत्र भएकाले मेरो पनि चासोको कुरा थियो । फेसबुकमा लाइभ शेयर भइरहेको भाषण मैले पनि हेरेको थिएँ । मेयरका उम्मेदवारले आफ्नो घोषणापत्रमा ‘प्रारम्भिक बाल विकासदेखि नै बच्चाहरुलाई सूचना प्रविधिसँग जोड्ने’ उल्लेख गरेका थिए ।
अहिले संसारमा भइरहेका विवाद र द्वन्द्वहरुलाई हेर्दा देख्छौं कि सबै आफूलाई सही दाबी गरिरहेका हुन्छन् र अरुलाई गलत प्रमाणित गर्न तर्कको बल लिइरहेका हुन्छन् । यतिसम्म कि तथ्य र प्रमाण आफ्नो सोचविरुद्ध भए, त्यसलाई पनि नजरअन्दाज गरी आफ्नो तरिकाले अर्थ लगाइदिन्छ ।
यसै सन्दर्भमा एक नेताले सूचना प्रविधिको शिक्षा/सीपलाई प्राथमिकतामा राखेर काम गर्न सके द्रुत गतिमा विकास भइरहेको आईटी क्षेत्रले आर्थिक रुपमा पनि फड्को मार्न सहयोग पुग्ने भनी आफ्नो विचार राखेका थिए, तर कीर्तिपुरको डाँडामै बसेर ल्यापटप चलाएर महिनाको लाखौं आम्दानी गर्न सकिने भनेको सानो भिडियो क्लिप हेरेर आफ्नो धारणा बनाउन हतार गर्ने भिड देखेर दया लाग्यो । किनकि गल्ती उनीहरूको होइन, गल्ती त त्यो मनको हो, जो धारणा बनाउनमा हतारिन्छ । कतिले सोही विषयलाई मजाक बनाए । अरुका कुरालाई मजाक बनाएर आत्मरतिमा रमाउँदा आफ्नै जीवन मजाक बनेको कुरामा होस नहुनु चाहिँ विडम्बना हो । क्षणिक खुशीमा भुल्ने बानीमा फस्दा मस्तिष्क सडनले सुख र सफलताको छोटो बाटो हुँदैन भन्ने कुरा बुझ्न नसकी बहकिनु पनि स्वाभाविक नै हुन्छ ।
‘म गलत छु’ भन्नुको अर्थ आत्मनिन्दा गर्नु होइन, तर म र मेरो विचार फरक हुन् र मेरो विचारमाथिको मेरो भरोसामा प्रश्न गर्न सकिएन भने म सही छु भन्ने भ्रममा फस्ने सम्भावना प्रबल रहन्छ । यही नै मानसिक दुःखको एकमात्र कारण हो । आफ्नो बुद्धिको सीमितताको ज्ञान नभएसम्म तर्कको बलमा आफूलाई सही सावित गर्न र अरुलाई गलत ठह¥याउने खेलमै आफ्नो अमूल्य जीवनको समय÷ऊर्जालाई खेर फाल्ने मूर्खता गर्न पनि पछि पर्दैनौं । आफ्ना गल्ती कमजोरी अनि अपूर्णतालाई स्वीकार गर्न सक्दा जति उन्मुक्ति र आनन्द सायदै अरु कुराबाट मिल्छ । यो भनेको आफू बलियो बन्ने यात्राको थालनी हुनु पनि हो ।
गल्ती आफ्नो होस् कि अरुको, सिक्ने गल्तीबाट नै हो र गल्ती मानिसले नै गर्छ । त्यसैले त उसले प्रगति पनि गर्छ । गल्ती गर्न डराउने मानिस जहाँको त्यही रोकिन्छ । वास्तवमा हाम्रो सिकाइ भनेको धेरै गलतबाट थोरै गलतमा पुग्नुमात्र हो । हिजो सूर्यले पृथ्वीलाई घुम्छ भन्ने थियो । आज पृथ्वीले सूर्यलाई घुम्ने सत्यले हिजोको सत्यलाई काटिदियो । क्वान्टम फिजिक्सले पनि जसलाई हामी सत्य मानिरहेका छौं, त्यो पनि धेरै सम्भावनाहरुमा हाम्रो अनुमान मिल्नुको संयोगमात्र हो भन्छ ।
सधैं आफूलाई मात्र सही वा गलत भनी बुझ्नुभन्दा पनि हाम्रो मस्तिष्कगत प्रणालीको सीमितताका कारण कहीँ आफू संज्ञानात्मक पूर्वाग्रहमा पो फस्न पुगेका छैनौं भनी बुझ्न सक्नुपर्छ । को सही भनी पक्ष र विपक्षमा बसेर विवादमा फस्दा मिथ्या ज्ञानको भ्रममा परेर के सही भन्ने कुरा पनि बुझ्न नसकिने हुन्छ । दुवै गलत नभइकन कुनै पनि कुरामा समस्या आउँदै आउँदैन । म गलत हुनसक्छु र सायद तिमी पनि ! फरक यति हो, आआफ्नो गल्तीको जिम्मेवारी लिने कि नलिने ? म गलत छु र मेरो सोचले काम गरेको छैन भनी स्वीकार्न नसकेसम्म समस्याको समाधान निस्कँदैन ।