उहिलेकाे बनभतेर, अहिलेकाे पिकनिक – Nepal Press

उहिलेकाे बनभतेर, अहिलेकाे पिकनिक

ओहो ! पिकनिक याम शुरु भएछ । छोराछोरीको स्कुलले पिकनिक ‘खुवाएको’ फोटो जहानले फेसबुकमार्फत सार्वजनिक गरेपछि निकैबेर टोलाउन मन लाग्यो । हामी ३-४ कक्षा पढ्दा कहाँ स्कुलबाट पिकनिक लैजानु ? बरु गाउँकै भुराले गाउँमै रहर चैँ मेट्थ्यौं । कक्षा १० मा पुग्दा सय-सय रुपैयाँ उठाएर स्कुलबाटै पशुपतिनगर वा कन्याम शैक्षिक भ्रमण भन्दै पिकनिक लाने चलन आएको थियो, तर गइएन । कलेजबाट तेस्रो वर्षमा ३ देखि ५ हजार उठाएर नेपाल भ्रमण भन्दै साता लामो यात्रा हुन्थ्यो, तर त्यता पनि गइएन ।

बरु साताव्यापी भ्रमणबाटै अंकुरित प्रेम कहानीहरु फर्किएकाहरुले सुनाउँदा कक्षा नै छोडेर पनि बहुत रोमाञ्चित भएर सुनिन्थ्यो । आखिर त्यही भ्रमणबाट शिलान्यास भएका सम्बन्धहरु विवाहमा उद्घाटित पनि भए कति ! त्यही विन्दूबाट शुरु भएको कतिपय साथीहरुको दाम्पत्य जीवन देख्दा सधैं कलेजवयमै भएको भान गराउँछ अझै पनि, क्या मज्जा !

अहिले वनभोज खाएर भन्दा पिकनिकमा नाचेर टिकटक रङ्ग्याउने र फेसबुक भर्नेको लर्को छ । अलि पछि त स्वस्थानी याम पनि शुरु हुन्छ । अर्को मज्जा ! यस बेला आमा समूह, कीर्तन मण्डली, अस्ति तिहारमा देउसी-भैली खेल्ने दौंतरी समूह, युवा क्लव साराका सारा वनभोजमा मस्तिएका फोटा सामाजिक सञ्जालबाट सामाजिकीकरण गरिरहेछन् ।

पिकनिक, स्कुल–कलेजका लागि रकम असुलीको सदाबहार र सजिलो शीर्षक पनि बनिदिएको छ, अचेल । ठिटाठिटीहरुलाई फजुल खर्च असुल्ने काइदाको बहाना पनि बनिरहेको छ । घुम्दा-नाच्दा नथाक्नेहरुलाई फेरि अर्को उपक्रम बनिदिएको छ, कहिल्यै फुसैद नपाउनेहरुलाई फुर्सद उपयोगको माध्यम पनि बनिदिएको छ, पिकनिक ।

हुल-भेलामा रमाउन नजान्ने, तर इष्टमित्रको कुरा काट्न नसक्नेलाई अर्को आपत्त पनि भई दिएको छ । खर्च धान्न नसक्नेहरुलाई पीर थप्ने अर्को माध्यम पनि यही पिकनिक भइदिएको छ । यसमा पनि व्यवसायिकता देख्नेहरुलाई आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम पनि भनिदिँदा भएको छ, पिकनिकलाई ।

कोशीपूर्वका मान्छेलाई पिकनिक भन्नासाथ भेडेटार, दोमुखा र कन्याम फुत्तै आइहाल्छ मुखमा । अघिल्ला दशकबाट चैँ अरु पनि धेरै गन्तव्य थपिने सिलसिला बढेको छ । नत्र यिनै ठाउँमा दोहोर्‍याइतेहेर्‍याइ पनि पुग्ने धेरै थिए । बनभतेर-बनभात-वनभोज हुँदै पिकनिकसम्म आइपुग्दा यसको रुपमा मात्र रुपान्तरण आएको छैन, सारमा धेरै मानक पनि भत्किएका छन् ।

५० को पूर्वार्द्धतिर । भोलि पिकनिक जाने । आजै साँझ बाँसका झिँझा र केही चोइटा भेला पारेर शीत नपर्ने ठाउँमा बन्दोबस्त गर्‍यो । एक-एक थान स्टिलको थाल-गिलास र बटुका झोलामा राख्यो । झर्के लान नपाइने, फुट्छ भनेर । चम्ची लग्यो भने त हराइहाल्ने, कहाँ दिने आमाहरुले । एक माना चामल, केही दाना आलु, एकमुठी नुन, कागजमा बेसार पनि । खोकीको औषधिको सिसी पखालेर दुई कान जति तेल, यति भए सौदा तयार । अनि अन्य पकवान खरिदका लागि जिउको ५ रुपैयाँ । १०-१२ वर्ष उमेर समूहको पिकनिकको ढाँचा यस्तै थियो । टोली नेता केही जना, २-४ वर्ष उमेर मास्तिरका भएपछि हाँकिहाल्ने !

चिया घोप्टिएर आगो भस्याकभुसुक

सम्झना भएको पहिलो पिकनिक । घरै मुन्तिर, पैनीपारि । फुपूहरुसँग । ललिता दिदीहरुको घर पछाडि । कविता, चन्द्रा, पुष्पा, मन्दिरा, उर्मिला दिदीहरु । धान उठाएर खाली भएको खेतमा अघिल्लै साँझ दिदीहरुले गाँज उखेलेर खनी-तासी ढुंगा लगेर चुलो बनाएका रहेछन् । भोलिपल्ट बिहान पुग्दा कराइमा चिया उम्लिँदै थियो । हतारहतार निकाल्ने भए, भए जति सबै झुम्मिएर तान्ने हुँदा कराइको चिया घोप्टिएर आगो त भस्याकभुसुक भयो । न आगो रह्यो न त चिया पाइयो । भएमध्येको सबैभन्दा सानो मै थिएँ क्यार !

केही बेर दोषारोपणमा दिदीहरुको बाझाबाझ भयो । चिया विस्थापनपछि चाम्रेको पालो आयो । ९ बजेतिर होला अनुमानमा, भुराभुरीले के गरिरहेका छन् भनेर हेर्न अलिक ठूला तारा, देवी, बविता दिदीहरु आए । बिजोग रमाइलो देखेर उनीहरुले पनि पकाउन-बनाउन सघाए । चाम्रे र साग खाएपछि पहिलो सालको पिकनिक सकियो ।

आँपका फेददेखि, साधुहोली र दोमुखा

वनभोजको स्वाद बेलैदेखि चाखियो । धुरको फेद होस् वा आँलीको कुनो ! चुल्हो बनायो, एकछिनमा एकथोक पकायो, खायो, मस्ती । वनभोज रमाइलो । टाढा जाने कुरो थिएन । घरका गुन्द्री, चट्टी कुम्लो पार्‍यो, घरैका तिहुन-तरकारी लियो गयो । गन्तव्य चाहिँ कहिले कमलबाको खेतका बिचमा रहेको झ्याप्प परेको आँपको फेद, कहिले मास्तिरको सिमलको रुखको आड । यस्ता ४-५ वनभोजमा कुनै परिकार खाएको स्वाद थाहा छैन, तर ८-१० भुरा मिल्यो, गयो खेतका माझमा र २-३ घण्टा ओर्‍याइ गर्‍यो, आयो । वनभोज भयो ।

बुवाआमा खालचै साधुहोली जान्थे । जनवादी गीतका चक्काको बन्दोबस्ती गर्‍यो र ६ वटा टाइगर ब्याट्री लाग्ने क्यासेट प्लेयर घन्कायो । झिसमिसेमै साइकलका पछि गुन्द्री बेर्‍यो, अगाडि भाँडाकुँडाको पोको झुन्ड्यायो । तिहुन, चामल, नुन, तेल, थाल, गिलास जिउ जनङ्गे लाने । टेन्ट वा क्याटरिङ त ६० दशकपछि मात्र देखेको ।

काका खालको लक्ष्य चैँ दोमुखा हुने । सामान उसैगरी घरबाट भेला पारेर झिसमिसै साइकलमा एक हुल ठिटा उत्तर हुँदै पूर्व हानिन्थ्यो, माई खोलाको डिल, दोमुखातर्फ । दोमुखा पिकनिक खाएर आउनेको रवाफ सिजनभरि चल्थ्यो । हामी पनि तन्नेरी भएपछि माघे सक्रान्तिको मेला घुम्न होस् कि दोमुखा पुगेर माई खोलामा डुबुल्की मार्न, गइयो ताँती लागेर साइकलमै हुलका हुल, धेरै वर्ष धेरै पटक । माई मेला र दोमुखा पिकनिक नगई त तन्नेरी भएको प्रमाणित नै नभएको क्या ! अनि जानुपरेन ?

सिंगो खोला नै फ्रिज

मध्य ५० भएको थिएन, शुरुवाती १-२ साल चैँ बितेको थियो । अघिल्लो पुस्ताका जाँगरिला काका-फुपू, मामा-सानिमाहरुको पनि प्यारै थिएँ म । धेरै नबोल्ने, छुलछुल नगर्ने, भनेको मान्ने भएपछि त नप्यारो हुनुपर्ने कारण पनि भएन । तल्लो गाउँका सुशीला सानिमा, जीवन मामालगायतको अगुवाइमा गेउरियामा खोलाको डिलमा वनभोज आयोजना भएछ । बुवाले नै थाहा पाएर २० रुपैयाँ दिनुभएछ मेरा लागि । ठूला मान्छेको २५ र साना मान्छेको २० थियो रेट ।

‘भोलि तल्लो गाउँको पिकनिक रैछ जानु, मैले पैसा दिइसकेको छ’ भनेर साँझ बुवाले सुनाउँदा बिहान कति खेर हुन्छ जस्तो लागेर साह्रै खटपटी भयो । आमाले एकमुठो साग, एक माना चामल र आधा किलो जति आलुसहित थाल-गिलासको झोला ठिक्क पारिदिएपछि सोझै हानिएँ, तोकिएको वनभोज स्थल, सिसौघारीतिर । गेउरिया खोलापारि गौरादह- १, वारि थियो पिकनिक लखनपुर- ४ ।

भात-तिहुन, दाल-अचार त हुने नै भयो । हामी भुरालाई त्यहीको सिसौका बुटाबाट झिँझा भेला पार्ने जिम्मा थियो । नयाँ स्वाद र रमाइलोको लागि दिउँसो ‘ठण्डा’ पेय खुवाउने तर्जुमा भएन । हामी त भुरा, सानिमा र मामाहरुले गेउरिया अरुण गुरुङको पसल पुगेर एक झोला चिसो पेय लिएर आए । मध्यान्ह भर्खरै शुरु भएको थियो, ल्याएको चिसो त चिसो नै राख्नुपर्‍यो, उपाय लगाउनु पर्‍यो । अनि गेउरिया खोलामा हामीलाई बालुवा खोतल्न लगाए । एक-एक हात बालुवा खोतलिएपछि ठण्डा पेयको झोला गाडियो । पेय बोटलमै थियो, एक दर्जन जति बोतलको झोला खोलामा गाडियो । बेला बेला झोला खोतलियो कि भनेर हेर्न पनि गइरहन्थें ।

मलाई चैँ किन खोलामा बोटल गाडेका होलान् भन्ने लागिरहयो, खासमा त्यो रेफ्रिजेरेटरको विकल्पमा उपयोग गरिएको रहेछ । ३-४ वर्षअघि दही चोकबाट दही लगेर काकडभिट्टामा बेच्ने हजुरआमाले बस छुट्ने बेलामा त्यस्तै ‘ठण्डी’ पेय खुवाएपछि लगातार छादेको झम्झिएपछि त्यो बाललुम्भताले त्यो पेयपदार्थ पिलाइहाल्यो । ओहो, क्या मज्जा ! गेउरिया खोलाको फ्रिजमा चिस्याइएको पेय पनि खाइयो, त्यो पिकनिकमा ।

अनि आउँथ्यो स्वस्थानीको मज्जा

वनभोज-पिकनिकको माहोल सकिँदानसकिँदै शुरु हुन्थ्यो स्वस्थानी माहोल । बाल्यकालमै मेरो घुलमिल भने तीन गाउँसम्म थियो । रामु टोलमा दोकाने दिदी (खासमा पोखरेल बा) को घरमा एक साल निकै साँझ धाइयो स्वस्थानी भट्याउन । पिकनिकमा गेउरियाको टोलीदेखि स्वस्थानीमा माथिल्लो गाउँसम्म भ्याइन्थ्यो । प्लस टु पढ्या साल हो क्यार, बिहानको कलेज सकेर भोकले खारिएर आउँदा पञ्चामृतको बटुको स्वाट्टै पार्दा खुब आनन्द आउने भन्या ! केही साल हाम्रामा पनि बाचियो स्वस्थानी, नाचियो भजनमा जाग्रामका रात, तर नाच्ने म चैँ होइन, नाच्न भनेपछि खुट्टै घुम्दैन मेरो त !

स्वस्थानीको जाग्राम भनेपछि निम्तै किन आइरहनुपर्‍यो । ४०-५० घर भएका तीन गाउँमा साता-दशभित्र कुन दिन कसको घरमा जाग्राम छ केटाहरुलाई कण्ठस्थै । साँझ परेपछि हुल बाँध्यो, कुदिहाल्यो । स्वस्थानीको जाग्राममा जाने भनेपछि घरमा पनि बेरोक-टोक, फुक्काफाल !

एक साल खुबै रमाइलो भयो । स्वस्थानीको निम्तो मान्न त जानुपर्‍यो, त्यसमाथि जाग्राम ! कसले किन छुटाओस्, त्यो पनि तन्नेरी बेलामा । स्वस्थानीको जाग्रामको निम्तो पनि थियो । यति भए बाँदरलाई लिस्नो भैगो । जाग्राम बस्ने त्यस घरमा पाहुना आएकी एक रुपवती किशोरी अन्ताक्षरी खेल्न खुव सिपालु ! नाच्ने पनि उस्तै उधुम । यति चाल पाएपछि केटाहरुलाई के चाहियो ? पालो गरीगरी नाच्न सुरिएँ । नाचेर गलेपछि अन्ताक्षरीमा लय मिलाउन उस्तै ट्याप्प । रात छिप्पिन थालेपछि स्यु स्यु गर्दै ‘ओहो, कस्तो चिसो’ भन्दै खुस्रुक्क बर्को तान्दा पनि बात लागि नहाल्ने !

कतिपय त बत्तीको उज्यालो छल्दै खाँवा र भित्तामा छलिएर एउटै बर्काको सप्को हाल्थे । त्यो देखेर बर्को तान्न नपाएकाहरुलाई कम्ता रिस उठ्दैन थियो ! आरिसे दुईचार भाइ मिल्यो, सुटुक्क बाटातिर गएर कुरा काट्न थालिहाल्ने । कुनै केटी मान्छ आफ्नै कामले वा दिसा–पिसाबका लागि उठ्दा पनि अब लगत्तै कुन केटो उठ्छ भनेर चियो गरेर बस्ने केटाहरु पनि अब त पाकेर तिल–चामले टाउकाका भइसके ।

समयले ल्याएको परिवर्तन र प्रविधिले ल्याएको रुपान्तरणले वनभोज, वनभोज कहाँ रह्यो र ? पिकनिक पार्टी भइसक्यो । घरघरबाट दूध लगेर खेतका माझमा, खोलाका डिलमा वा वनका मुखमा झिँजा खोजेर खिर खाने टन्टो कसले गर्ने ? क्यूआरबाट ट्रान्सफर गरेपछि कार्टुनका कार्टुन ‘माल’ आइहाल्छ । टेन्ट र क्याटरिङ लग्यो । साफसँग खायो-पियो, यही मज्जा !

खै, स्वस्थानीमा जाग्राम नबसेको पनि वर्षौं भइसक्यो । स्वस्थानीको व्रत नै लिन छोडेर हो कि निम्तो नआएर हो, बिर्सन लागिसकियो स्वस्थानीको साङ्गे पनि ! अचेलका बेला, वनभोज त के गइएला र ! पिकनिक चैँ अनेक बहाना र शीर्षकमा गई नै हालिन्छ । यस वर्ष चैँ दही चोक गएका बेला छेक पर्‍यो र निम्तो आएछ भने रातभरि बस्ने गरी चैँ होइन, ‘हामी पनि तन्नेरीमा के के गर्थ्यौं’ भन्ने सम्झिन पनि स्वस्थानीको जाग्राममा जानुपर्ला झैं लागिरहेको छ ।

१) ठिटाठिटीहरुलाई फजुल खर्च असुल्ने काइदाको बहाना पनि बनिरहेको छ । घुम्दा–नाच्दा नथाक्नेहरुलाई फेरि अर्को उपक्रम बनिदिएको छ, कहिल्यै फुसैद नपाउनेहरुलाई फुर्सद उपयोगको माध्यम पनि बनिदिएको छ, पिकनिक ।

२) एक माना चामल, केही दाना आलु, एकमुठी नुन, कागजमा बेसार पनि । खोकीको औषधिको सिसी पखालेर दुई कान जति तेल, यति भए सौदा तयार । अनि अन्य पकवान खरिदका लागि जिउको ५ रुपैयाँ । १०-१२ वर्ष उमेर समूहको पिकनिकको ढाँचा यस्तै थियो ।

३) सम्झना भएको पहिलो पिकनिक । घरै मुन्तिर, पैनीपारि । फुपूहरुसँग । ललिता दिदीहरुको घर पछाडि । कविता, चन्द्रा, पुष्पा, मन्दिरा, उर्मिला दिदीहरु । धान उठाएर खाली भएको खेतमा अघिल्लै साँझ दिदीहरुले गाँज उखेलेर खनी-तासी ढुंगा लगेर चुलो बनाएका रहेछन् ।

४) हामी पनि तन्नेरी भएपछि माघे सक्रान्तिको मेला घुम्न होस् कि दोमुखा पुगेर माई खोलामा डुबुल्की मार्न, गइयो ताँती लागेर साइकलमै हुलका हुल, धेरै वर्ष धेरै पटक । माई मेला र दोमुखा पिकनिक नगई त तन्नेरी भएको प्रमाणित नै नभएको क्या ! अनि जानुपरेन ?

५) समयले ल्याएको परिवर्तन र प्रविधिले ल्याएको रुपान्तरणले वनभोज, वनभोज कहाँ रह्यो र ? पिकनिक पार्टी भइसक्यो । घरघरबाट दूध लगेर खेतका माझमा, खोलाका डिलमा वा वनका मुखमा झिँजा खोजेर खिर खाने टन्टो कसले गर्ने ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *