जंगबहादुर राणाको जन्मस्थल अर्घाखाँची- यस्तो छ इतिहास
अर्घाखाँची । राणा प्रधानमन्त्री जंगबहादुर राणाको जन्मस्थल मथुरा गाउँ, जो हालको अर्घाखाँची जिल्लामा पर्दछ, जङ्गबहादुर राणाको प्रारम्भिक जीवनको सन्दर्भमा महत्त्वपूर्ण छ। यद्यपि, उनी केही समयपछि काठमाडौँ सरेका थिए, जहाँ उनले आफ्नो राजनीतिक जीवनको थालनी गरेका थिए।
मथुरा गाउँमा उनका नाम र योगदानको सम्झनामा केही स्मारकहरू र ऐतिहासिक स्थलहरू निर्माण गरिएका छन्। यो स्थान ऐतिहासिक अनुसन्धानका लागि र पर्यटनको दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।
राणा प्रधानमन्त्री जंगबहादुर अर्घाखाँचीमा जन्मेको विषय धेरैलाई विश्वास नलागे पनि केही ऐतिहासिक तथ्य र अग्रजहरूका तथ्यले उनी यहाँ जन्मेको प्रशस्त आधार भेटिएको छ । यसका जानकारहरू इतिहासमा चर्चित पात्रको यस्तो महत्त्वपूर्ण विषय सबैतिर प्रचारमा ल्याउनुपर्ने बताउँछन् ।
जंगबहादुरले प्रधानमन्त्री भएपछि आफू जन्मेको ठाउँलाई दरबारै बनाएका आधारहरू अहिलेसम्म यहाँ सुरक्षित राखिएको छ । कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरबार नेपालमै नौलो मानिन्छ । राणा शासन रहँदासम्म रेखदेख र संरक्षण पाए पनि अहिले यो अलपत्रजस्तै छ ।
जिल्लाका विभिन्न कार्यक्रममा दरबारलाई संरक्षण गरी पर्यटकीय स्थल बनाउने कुरा बारम्बार उठ्ने गरे पनि मर्मत सम्भार गरी जोगाउनतर्फ कसैले पाइला नचालेको भन्दै यसप्रति चिन्ता बढ्न थालेको छ ।
यस्तो छ इतिहास
जंगबहादुरका बाबु बालनरसिंह आर्मी अफिसर थिए । उनी बारुदखाना प्युठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गा विवाद बढ्यो । समाधान गर्न बालनरसिंहलाई जुम्ला खटाइयो ।
उनी श्रीमती लिएर गए । पत्नी त्यही गर्भवती भइन् । त्यो समय गर्भवती भएपछि माइती घर जाने चलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भीमसेन थापाकी बहिनी थिइन् । जुम्लाबाट माइतीघर गोरखा जाने क्रममा अर्घाखाँचीको वाङ्लाको मथुरा जंगलमा बिरामी परिन् ।
१८७४ मा जंगबहादुर सात महिनामै जन्मिए । चौपारीमै बास बसेपछि मथुराका पाण्डे थरका स्थानीयले स्याहारसुसार गरी पारिपट्टीको बल्कोट चौपारीमा लगेर विधिपूर्वक बल्कोटका खनाल थरका ब्राहमणहरुले न्वारन गराएर बालकको नाम वीरनरसिंह राखेको संस्कृतिविद् राजेन्द्रकुमार आचार्यको भनाइ छ ।
उनकी आमापछि दरिली भएपछि छोरालाई लिएर रिडी, स्याङजा, पोखरा लमजुङको बेशीसहर हुँदै माइती गोरखा पुगेकी थिइन । पछि वीरनरसिंह जंगे स्वभावका भएकाले उनको नाम जंगबहादुर रहेको बल्कोटका संस्कृतको अध्ययन गरिरहेका नारायण भट्टराईको भनाइ छ । उनले यसको यसको इतिहासबारे जानकारी गराउँदै आएका छन् ।
सन्धिखर्क नगरपालिका ५ का वडा सदस्य कृष्ण भुसालका जंगबहादुर कालान्तरमा मुलुकको प्रधानमन्त्री बनेपछि आफ्ना जेठान सहनसिंह कर्नेललाई मथुरामा पठाए र आमाको सम्झनामा मथुरा लामपाटीमा बीसखुट्टे दरबार निर्माण गराए ।
आमा बास बसेका स्थान बल्कोटमा पौवा, पोखराको दर्शनढुंगामा पौवा, लमजुङको बेशीसहरमा ढुंगे गुफा नजिकै रानीपोखरी पौवा निर्माण गराए । सबै पौवामा कलात्मक एउटै डिजाइन भए पनि आफू जन्मिएको मथुरामा बीसखुट्टे दरबार बनाएको विभिन्न ग्रन्थहरूमा उल्लेख छ ।
उनले काठमाडौँ, ललितपुर, पनौती लगायतका स्थानमा पौवा र दरबार बनाए । तर, मथुरामा बीसखुट्टे दरबार भएको प्रवचनमा योगी नरहरिनाथले समेत उल्लेख गरेका थिए ।
‘नेपाली राजनीतिमा जंगबहादुरको चर्चा हुन्छ, उनी जन्मेपछि बनाएको दरबार अहिले जीर्ण छ,’ भुसालले भने, ‘यो इतिहासलाई संरक्षण गर्नुपर्छ । भावी पुस्ताले पनि अध्ययन गर्ने थालो होस ।’ दरबार नजिकै मथुराधाम मन्दिर पनि छ । यहाँ पिकनिक मनाउने आउने गर्छन् । ‘यो पर्यटकीय स्थल हो,’ उनले भने, ‘लामपाटी दरबार र बल्कोट पौवालाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउनुपर्छ । राजनीतिप्रति चासो राख्नेले जंगबहादुरलाई स्मरण गर्छन्।’
मथुरा सन्धिखर्क नगरपालिका र बल्कोट पौवा छत्रदेव गाउँपालिकामा पर्छ । राजा रणबहादुर शाहलाई हत्या गर्ने शेरबहादुर शाहलाई तत्कालै काटेर मार्ने बालनरसिंहका छोरा जंगबहादुर कुस्ती खेल्ने, बन्दुक चलाउने, धुन बजाउने, घोडा सवार गर्ने र राजा राजेन्द्रविक्रम शाह सिकार खेल्न जाँदा जिउँदो हात्ती समातेर चर्चामा आएका थिए ।
शक्तिशाली मानिने भारदारहरु र तत्कालीन राजाको शक्तिलाई निस्तेज पारी आफूलाई ‘श्री ३ महाराज’ घोषणा गरी आफ्नै वंशमा राज्यको शासन व्यवस्था सीमित गराउने जंगबहादुर वि.स. १९३४ मा देहान्त भएपछि उनको जन्मस्थलको सम्झनामा निर्माण गरिएको घरमा अहिले कोही बस्दैनन्।
स्थानीय गाउँलेले घाँस, दाउरा राख्ने गर्छन् । भवन, गारो जीर्ण बन्दै गएपछि ऐतिहासिक दरबारको अस्तित्व गुम्ने सम्भावना छ । २००८ सालभन्दा अगाडि दरबार नजिकै पोखरी र थुप्रै जमिन थियो । अहिले जग्गा छैन । राजा महेन्द्रले जिल्ला भ्रमणमा आउँदा उक्त दरबारमा रात बिताएका थिए ।
जंगबहादुरकै पालामा वि.स. १९१०। १९११ र १९१३ मा हस्तलिखित जनगणना भएको थियो । त्यतिबेला पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र काठमाडौँ लगायत ३३ जिल्लाको जनसंख्याको विवरण संकलन भएको थियो ।
राणाको जन्मस्थान रहेको ऐतिहासिक स्थानलाई अहिले स्थानीय र प्रदेश सरकारले प्रचारका लागि योजनामा राखेका छन् । जङ्गबहादुर राणा (१८१७–१८७७) नेपालका एक प्रख्यात शासक थिए, जसले नेपालमा राणा शासनको स्थापना गरेका थिए । उनका पिता बालनरसिंह कुँवर र आमा गणेशकुमारीका सात सन्तानमध्ये जङ्गबहादुर ज्येष्ठ छोरा थिए ।